प्रहरी कार्यालय नजिकै क्रेशरभित्र जुवाको अखडा, ११ जना पक्राउ

बाणगंगा, २१ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बनकसियास्थित एक क्रेशर उद्योगभित्र सञ्चालित जुवाको अखडामा लुम्बिनी प्रदेश प्रहरी टोलीले छापा मारेर ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

जनप्रिय बालुवा प्रशोधन उद्योगको एक कोठाभित्र रातको समयमा तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले गएराति करिब ११ः३० बजे छापा मारेको थियो। छापाका क्रममा तास खेलिरहेका ११ जना पक्राउ परेका हुन् भने जुवा खेलाउने भनिएका उद्योग सञ्चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट २ लाख २० हजार ६९० रुपैयाँ नगद, ६ बुक तास, १२ थान टच मोबाइल र ३ थान किप्याड मोबाइल बरामद गरेको छ।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–६ बनकसियाका ४० वर्षीय ज्ञानु चौधरी, बाणगंगा–२ पिपराका ३६ वर्षीय शंकर अर्याल, कपिलवस्तु नगरपालिका–९ कुस्माका ४१ वर्षीय अमृत पौडेल, बाणगंगा–५ कोपवाका ३३ वर्षीय जीवन विश्वकर्मा, बाणगंगा–६ भक्लापुरका ३१ वर्षीय चेतप्रसाद अर्याल रहेका छन्।

त्यस्तै, बाणगंगा–८ बोडगाउँका २२ वर्षीय अमित आचार्य, सोही वडाको धोडेटोलका ३१ वर्षीय गणेश विक, बाणगंगा–११ हथौसाका २८ वर्षीय ईरफान अली, कपिलवस्तु नगरपालिका–९ कुस्माका ३१ वर्षीय मोहन सुनार, बाणगंगा–८ बोडगाउँका ३६ वर्षीय हिमाल पौडेल र बाणगंगा–६ भक्लापुरका २८ वर्षीय राजेश घर्ती पक्राउ परेका छन्।

प्रहरी कार्यालय नजिकै जुवाको अखडा, स्थानीयले उठाए निगरानीमाथि प्रश्न

यस घटनाले स्थानीय प्रहरीको नियमित निगरानी र गस्तीमाथि समेत प्रश्न उठाएको छ। स्थानीयका अनुसार जुवा खेलिएको उक्त स्थान इलाका प्रहरी कार्यालय पिपराबाट नजिकै पर्छ। प्रहरी कार्यालय नजिकै रहेको क्रेशर उद्योगभित्र लामो समयदेखि जुवा खेल्ने गतिविधि भइरहेको भए पनि स्थानीय प्रहरीले प्रभावकारी कारबाही नगरेको उनीहरूको आरोप छ।

स्थानीयले इलाका प्रहरी कार्यालय पिपराले कारबाही नगरेको भन्दै अन्य प्रहरी टोलीलाई खबर गरेपछि छापा मारिएको र जुवाडेहरू पक्राउ परेको दाबी गरेका छन्।

प्रहरी कार्यालय कोपवा नजिक रहेको स्थानमा लामो समयदेखि जुवाको गतिविधि सञ्चालन भएको स्थानीयको भनाइले प्रहरीको नियमित गस्ती, निगरानी र सूचनामाथि गम्भीर प्रश्न खडा गरेको छ।

जुवा खेलाउने भनिएका उद्योग सञ्चालक नै फरार हुनु र स्थानीयले प्रहरीको भूमिकामाथि प्रश्न उठाउनुले घटनालाई थप चासोको विषय बनाएको छ। यसबारे स्थानीय प्रहरीलाई पूर्वजानकारी थियो वा थिएन भन्ने विषयमा भने प्रहरीले स्पष्ट पार्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्