अब सर्प देखिए मार्नुपर्दैन, बुद्धभूमिमा ५० युवा उद्धारका लागि तयार

कपिलवस्तु । सर्प देख्नेबित्तिकै डराउने, भाग्ने वा मार्ने प्रवृत्ति न्यूनीकरण गर्दै मानव र सर्प दुवैको सुरक्षा गर्ने उद्देश्यले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नयाँ अभियान सुरु गरेको छ। नगरपालिकाले १० वटै वडामा ५० जना तालिमप्राप्त युवा सर्प उद्धारकर्ता परिचालन गरेको छ।

अब नगर क्षेत्रका बस्तीमा सर्प देखिएमा स्थानीय स्तरमै तालिमप्राप्त युवाले सुरक्षित उद्धार गर्नेछन्। सर्पलाई मार्नेभन्दा सुरक्षित रूपमा उद्धार गरी प्राकृतिक बासस्थानमा छाड्ने संस्कृतिको विकास गर्ने अभियानको लक्ष्य रहेको नगरपालिकाले जनाएको छ।

सर्प उद्धारकर्ता कमल देवकोटाका अनुसार सर्पले सामान्यतया मानिसलाई आक्रमण गर्न खोज्दैन। मानिसले जिस्क्याउने, समात्ने वा मार्ने प्रयास गर्दा सर्पदंशको जोखिम बढ्ने उनको भनाइ छ। सर्प देखिएमा आफैँ समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्न उनले आग्रह गरे।

नगरप्रमुख केशवकुमार श्रेष्ठले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको बताए । सर्प देख्नेबित्तिकै मार्नेभन्दा सुरक्षित उद्धार गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेतले सर्पदंशको जोखिम रहेका ग्रामीण बस्तीमा स्थानीय स्तरमै उद्धारकर्ता उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । नगर युवा परिषद्का उपाध्यक्ष शेखर घिमिरेले नगरका सबै वडामा उद्धारकर्ता तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए ।

कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले सर्पदंश भएमा समयमै उपचार नपाउँदा ज्यान जोखिममा पर्न सक्ने भन्दै तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे।

नगर युवा परिषद्को पहल तथा नगरपालिकाको आर्थिक सहयोगमा युवालाई दुईदिने सर्प उद्धार तालिम प्रदान गरिएको हो। कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा आयोजित तालिममा अनुभवी सर्प उद्धारकर्ता कमल देवकोटा र रुपन्देहीका उद्धारकर्ता खेम सारू मगरले प्रशिक्षण दिएका थिए ।

तालिममा युवालाई सर्पको पहिचान, व्यवहार, सुरक्षित उद्धार विधि तथा उद्धारका क्रममा अपनाउनुपर्ने सावधानीबारे सैद्धान्तिक र व्यावहारिक जानकारी दिइएको थियो ।

नगरपालिकाले १० वटै वडामा उद्धारकर्ता परिचालन गरेसँगै सर्प देखिनेबित्तिकै मार्ने प्रवृत्ति अन्त्य गर्न र मानव तथा सर्पबीचको सहअस्तित्व कायम गर्न अभियानले सहयोग पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्