यी हुन् महन्थ ठाकुर पक्षका सम्भावित मन्त्रीहरू


appharu

१० जेष्ठ २०७८, सोमबार १३:३० मा प्रकाशित

काठमाडौं ।
जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्ष १० मन्त्रालय लिएर केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको जेठ ९ गतेको बैठकबाट समेत ओली सरकारमा सहभागी हुने निर्णय गरिएको छ।

ठाकुर पक्षका एक कार्यकारिणी सदस्यका अनुसार ओली ८ मन्त्री तथा २ राज्यमन्त्री जसपाको महन्थ ठाकुर पक्षलाई दिन तयार भएका छन् ।

जसपाले ओली सरकारसँग माग गरेका कतिपय मुद्दा सम्बोधन भएपछि सरकारमा जाने निर्णय कार्यकारिणी समितिको बैठकबाट गरिएको ती कार्यकारिणी सदस्यले बताए ।

यसअघि जसपाका संसदीय दलका नेता राजेन्द्र महतोको अध्यक्षतामा बसेको संसदीय दलको बैठकबाट समेत जसपाले ओली सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

‘त्यही निर्णयानुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि ओलीलाई समर्थन गर्ने निर्णय गरेर ३२ सांसदको समर्थन भएको पत्र जसपाले राष्ट्रपति कार्यालयलाई पठाइएको थियो,’ ती सदस्यले भने, ‘विभिन्न मागमध्ये केही मागहरू ओली सरकारले पूरा गरेका कारण सत्तामा जान बाटो खुलेको भन्दै सत्ता सहकार्य गर्ने निर्णय गरिएको हो।’

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिल कुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल, चन्दा चौधरी, उपेन्द्र समूह छोडेर ठाकुर समूहमा आएका उमाशंकर अरगरिया, विमल श्रीवास्तव सरकारमा जाने लगभग तय भएको एक कार्यकारिणी सदस्यले बताए।

त्यसैगरी उपेन्द्र समूह छाडेका तीनजना महिला सांसदहरू रुही नाज, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङमध्ये एक महिलालाई सरकारमा लग्ने तयारी भएको छ। त्यसैगरी लक्ष्मण लाल कर्ण र प्रमोद साहको पनि नाम चर्चामा रहेको उनले बताए।

‘केही प्राविधिक काम बाँकी रहेको, त्यो कम एकदुई दिनमा पूरा भएलगत्तै सरकारमा जानेछौं,’ उनले भने ।

संसद्मा हुँदा बहुमत सांसद ठाकुर-महतो पक्षमा भए पनि कार्यकारिणी समितिमा बहुमत अहिलेसम्म नपुगेको हुनाले सरकारमा जान ओली समस्या देखिएको उनले खुलाए।

‘अबको एकदेखि दुई दिनमा नै कार्यकारिणीमा समेत बहुमत पुग्छ र त्यसपछि सरकारमा शपथ ग्रहण हुनेछ,’ उनले भने, ‘जसपालाई गृह वा अर्थ मन्त्रालयमध्ये एक दिने कुरामा समेत सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्