हाम्रो बारेमा

पालिकालाई समृद्ध बनाउन पालिका पत्र

लामो संघर्ष र बलिदान पछि संविधान सभाबाट बनेको संविधानले नेपालको राजनीतिक इतिहासमा पहिलोपटक स्थानीय, प्रदेश र संघ गरी राज्यका तीन तहहरू हुने व्यवस्था गर्‍यो । पालिका (स्थानीय तह) लाई संघीयताको जग र संघीय एकाइको रूपमा संवैधानिक व्यवस्था गरियो । जसअनुसार अहिले मुलुकमा ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ वटा महानगरपालिका छन् । सबै पालिकामा गरी कूल ६ हजार ७४३ वडा र ३७ हजार २० जना जनप्रतिनिधि छन् ।

सबै नीतिको माउ नीति राजनीति भने जस्तै समग्र नेपालको विकास र समृद्धिको आधारस्तम्भ पालिकाहरु नै हुन् । समावेशिताको नमूना पनि पालिकाहरु नै हुन् । मुलुकको राजनीतिको प्रारम्भ विन्दु पनि पालिका नै हुन् । त्यसैले पालिकाको महत्व वहुआयामिक छ । पालिकालाई संविधानले थुप्रै अधिकार दिएपनि कार्यान्वयनमा अझै चुनौति छन् । खासगरी साझा सूचिका अधिकारको बाँडफाँडमा अझै समस्या छ । केन्द्रले अझै पनि स्थानीय तहलाई संविधानले व्यवस्था गरेका कतिपय अधिकार दिन आलटाल गर्ने र अरुचि देखाइरहेको गुनासो व्यापक छ ।

हामी पालिकाहरुलाई पहिलो प्राथमिकता दिएर बिट पत्रकारिता गर्ने उद्देश्यका साथ पालिका न्यूज नेटवर्क प्रा.लि.द्वारा सञ्चालित पालिकापत्र डटकम (www.palikapatra.com) लिएर आएका छौं । सूचना तथा सञ्चार प्रविधिको द्रूत गतिमा भइरहेको विकासले हाल विश्व नै डिजिटल दुँनियामा बदलिएको हुँदा हामीले पनि डिजिटल पत्रकारिता रोजेका हौं । हाम्रो सरोकार र चासो पालिका सरकारहरु तथा पालिकाका सम्भावना, चुनौति एवं समस्याहरुमा हुने छ । स्थानीयस्तरका खबर, मुद्धा, कला, संस्कृति र सम्पदालाई राष्ट्रियकरण गर्दै संघीय र प्रदेश सरकारको ध्यान आकर्षित गर्न पालिकापत्र सदैव जागा हुनेछ । पालिकाका नीति, कार्यक्रम, वजेट, तिनको कार्यान्वयन, सुशासन र पारदर्शितामा हाम्रो निगरानी र खबरदारी हुनेछ ।

संविधानले व्यवस्था गरे अनुसार स्थानीय सरकारलाई आफ्नो शासन आफैं गर्ने अधिकार सम्पन्न बनाउन पालिकापत्रको निरन्तर पैरवी हुनेछ । पालिका र जनप्रतिनिधिले गरेका असल काम, जनपक्षीय निर्णयहरुलाई हामीले खुला हृदयले साथ दिनेछौं । संगसंगै स्थानीय तहहरुमा हुने बेथिति, अनियमितता र भ्रष्टाचारमाथि पनि हामीले उत्तिकै निर्मम ढंगले प्रहार गर्नेछौं । संघीयता, लोकतान्त्रिक गणतन्त्र, संविधान, कानून र विधिको शासन, सुशासन, खुला अर्थतन्त्र, सामाजिक न्यायको सवालमा हामीले कसैसंग कुनै सम्झौता गर्ने छैनौं ।

जनताको जीवनस्तरमा देखिने सुधार र परिवर्तनसहित सबै पालिकाको समन्यायिक विकास र समृिद्धमा हामीले सबै पालिका र पालिकावासी सचेत नागरिकसंग हातेमालो गर्दै हाम्रो यात्रा अघि बढाउने छौं । सबै सरोकारवाला पक्ष र पाठकका रचनात्मक सुझाव र आलोचनालाई हामी सधैं स्वागत गर्ने छौं ।

प्रतिक्रिया दिनुहोस्