वाणगंगा र मायादेवीमा कोरोनाको खोपमा अनियमितता, अनुसन्धान गर्दै सिडिओ

नेताहरुको पहुँचमा हुनेहरुले मात्र खोप पाएको र लक्षित वर्ग सामु सूचना नै नपुगेको आरोप लागेको छ ।


२८ जेष्ठ २०७८, शुक्रबार १६:४० मा प्रकाशित

पालिकापत्र संवाददाता, कपिलवस्तु ।
सरकारले मुलुकभर यही जेठ २६ र २७ गते कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम चलायो । कोरोना भाइरसको दोस्रो भेरियन्टले मुलुक आक्रान्त भैरहेको बेला चलाइएको यो अभियानलाई सबैले स्वागत गरे । यद्यपि कुन कुन उमेर समूहका नागरिकलाई खोप दिने भन्ने बारे केन्द्र सरकारले स्पष्ट मापदण्ड तय गरेको थियो ।

सरकारले (काठमाडौं बाहिरका लागि) तोकेको मापदण्ड अनुसार वि.सं २०१३ । २ । २४ देखि २०१६ । २ । २५ गतेकोबीचमा जन्मिएका अर्थात् ६२ देखि ६४ बर्षका ज्येष्ठ नागरिकले मात्र सो खोप लगाउन पाउने थिए ।

सोही अनुसार केन्द्र सरकारले हरेक जिल्लामा खोपको मात्रा उपलब्ध गराएको हो । तर, कपिलवस्तुका १० स्थानीय तह मध्ये वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा यो खोप लगाउदा अनियमितता भएको पाइएको छ ।

यी दुई पालिकामा सरकारले तोकेको मापदण्ड अनुसारका उमेर समूहले खोप नै लगाउन पाएनन् । नेताहरुको पहुँचमा हुनेहरुले मात्र खोप पाएको र लक्षित वर्ग सामु सूचना नै नपुगेको यी पालिकामाथि आरोप लागेको छ । खोप केन्द्रमा बृद्धबृद्धा देखिनु पर्ने बेला अरु उमेर समूहको भीडभाड देखिएपछि खोप लगाउने क्रममा अनियमितता भएको पाइएको हो ।

नागरिकस्तरबाट यो कुराको चौतर्फी विरोध भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यी दुई पालिकाबाट वितरण हुने खोप कार्यक्रममाथि रोक लगाएको छ भने खोप केन्द्रमा उपलब्ध कागजातलाई प्रशासनले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको जनाइएको छ ।

स्रोतका अनुसार वाणगंगामा दिने भनिएको खोप लक्षित वर्गले लगाउन पाएनन् । यहाँ नेता र जनप्रतिनिधिका मान्छेले मात्र खोप लगाएका छन् । स्वास्थ्यकर्मी माथि चर्को दबाब दिएर लक्षित बर्गलाई दिने भनेको खोप आफ्ना मान्छेलाई लगाउन बाध्य पारेको स्रोतको आरोप छ ।

पिपरा अस्पतालको केन्द्रबाट लगाइएको खोपमा अनियमितताको आशंका लागेपछि प्रशासन कार्यालयले अनुगमन गरेको थियो । अनुगमनको क्रममा खोप केन्द्रबाट आवश्यक कागजात जफत गरी थप अनुसन्धान थालेको छ ।

वाणगंगाका वडा नम्बर १, २, ३, ४, १० र ११ का लागि पिपरा अस्पतालबाट खोप लगाउने ब्यवस्था गरिएको थियो भने वडा नम्बर ५,६,७,८ र ९ का बृद्धबृद्धाका लागि मोतिपुर स्वास्थ्य चौकीबाट खोप पाउने प्रबन्ध मिलाइएको थियो ।

यता मायादेवी गाउँपालिकामा पनि लक्षित बर्गलाई दिएको खोपमा अन्य उमेर समूहका नागरिकको दबदबा भएको पाइएको छ । पहुँचको भरमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको मिलेमतोमा अन्य उमेर समूहका नागरिकलाई खोप दिइएको पाइएको हो । स्रोतका अनुसार मायादेवीमा खोप लगाउन रुपन्देही र पाल्पासम्मका आएका थिए । स्वंय गाउँपालिकाबासीले भन्दा बढी छिमेकी पालिकाका नागरिकले खोप लगाएको आरोप लागेको छ । स्वास्थ्य कार्यालयबाट मायादेवीले ७ सय ४४ डोज खोप पाएको थियो ।

यसो भन्छन कपिलवस्तुका सिडिओ

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले खोप लगाउँदा अनियमितता भएको सुन्नमा आएको बताउनुभयो । पालिकापत्रसंग कुराकानीको क्रममा प्रजिअ पाण्डेले भन्नुभयो, ‘खोपको अनियमितताबारे सुन्नमा आएको छ । मैले स्वास्थ्यकर्मीसंग थप बुझ्दै छु । यस विषयमा गुनासो आएको कुरा छ ।’

खापको अनियमिता गर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने पालिकापत्रको प्रश्नमा उहाँले यस विषयमा के हुन्छ अहिले भन्न नसकिने जवाफ दिनुभयो । ‘के भएको रैछ हामी हेर्छौ । थप के हुन्छ त्यही बेला थाहा हुन्छ अहिले भन्न सक्दिन । आफुले हेर्दै नहेरेको कुरा अहिले के भनौ र !’

आइतबार खोप समितिको बैठक बस्ने र यसबारे थप निर्णय हुने उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय यसो भन्छ

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार जिल्लाका ९ हजार बढीलाई खोप दिने लक्ष्य हो । सोही अनुसार जिल्लामा चीन सरकारले उपलब्ध गराएको भेरासेल खोप आएको थियो । दुई दिन (बुधबार र विहीबार) सम्म चलाइएको खोप लगाउने अभियानमा ६ हजार ८ सय जनाले मात्र खोप लगाएको रिर्पोट स्वास्थ्य कार्यालय कपिलवस्तुमा गएको छ ।

वाणगंगाले १२ सय १ जनालाई पुग्ने गरी खोप पाएको कोरोना फोकल पर्सन घिमिरेले बताउनुभयो । यद्यपि खोप अपुग भएपछि थपेर १७ सय डोज बराबरको खोप वाणगंगालाई उपलब्ध गराएको उहाँले बताउनुभयो ।

खोप लक्षित वर्गले लगाउन पाए नपाएको बारे थप अनुसन्धान भैरहेको घिमिरेले बताउनुभयो । आफुहरुले स्पष्ट रुपमा सरकारले तोकेको उमेर समूहलाई मात्र खोप दिन भनेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्