कपिलवस्तुको वाणगंगामा आलोचनासंगै महत्वपूर्ण सुझावको ओइरो


appharu

२८ जेष्ठ २०७८, शुक्रबार १७:२५ मा प्रकाशित

पालिकापत्र संवाददाता, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको आर्थिक बर्ष २०७८।७९ को बजेट र नीति निर्माणको लागि मिश्रित प्रतिक्रिया आएका छन् । असार १५ गते भित्र बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको नगरले विहिबार आयोजना गरेकोे बार्षिक नीति तथा योजना तर्जुमा सम्बन्धि राय सुझाव संकलनको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने सांसद, निवर्तमान सांसद, संविधान सभा सदस्य, राजनैतिक दल तथा उद्योग बाणिज्य संघका प्रतिनिधि, पत्रकार र अन्य सरोकारवालाले गुण र दोषका आधारमा नगरलाई सुझाव दिएका छन् ।

कार्यक्रममा सुझाव राख्नेहरुले स्थानीय तहको सरकार आइसकेपछि गौरवका योजना बन्न नसकेको, बाणगंगामा फोहरमैला ब्यवस्थित गर्नको लागि डम्पिङ साइट, बसपार्क नबन्नु, औद्योगिक करिडोर नबन्नु, नदीजन्य पदार्थको चोरी निकासी बढ्नु, सडक पीचको गुणस्तरीयता, चक्रपथ निर्माणको अलमलता इत्यादिमा चर्को आलोचना गरे भने नगरका नापी समस्या समाधान नहुनु, भोलिको दिनमा हुनसक्ने खानेपानी हाहाकारको विषयमा ठोस योजना नबन्नु, शान्ति सुरक्षा र लागु पदार्थ दुव्र्यसनीको कारोबार तथा प्रयोग आदिबारे पनि असन्तुष्टि देखा परेका थिए ।

यसैगरी बोल्नेहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरियता बढाउनु पर्ने, स्वास्थ्य क्षेत्र विकासको लागि पिपरा अस्पताललाई थप स्तरोन्नति गर्नु पर्ने, नगरको स्पामित्व रहेकै अस्पताल बनाउनु पर्ने लगायतका विषयमा पनि सुझाव दिएका छन् । यिनै अपुरा योजना पुरा गर्ने गरी आगामी नीति कार्यक्रम बनाउन सरोकारवालाले सुझाव दिएका थिए ।

कोरोना कहरमा प्रभावकारी काम गर्नु, स्थानीय शुशासनमा मुलुककै उत्कृष्ट नगर बन्नु, कोभिडमा राम्ररी खट्नु, समयमै योजनाका काम सम्पन्न हुनु, बेरुजु नदेखिनु, बौद्ध दर्शन र शिक्षा विषयमा स्थानीय पाठ्यक्रम निर्माण हुनु, तरकारी पकेट क्षेत्र निर्धारण हुनु, भलवाडमा औद्योगिक ग्रामको काम थालनी हुनु, मासुजन्य पदार्थ उत्पादनमा आत्मनिर्भर बन्नु लगायतका कामले नगर जिल्लामा मात्रै नभएर र प्रदेश र केन्द्रमै परिचय दिन सकेको भनी सुझाव राख्नेहरुले प्रसंसा गरेका थिए ।

छलफल कार्यक्रममा नगरको अहिलेसम्मको समिक्षा, प्रगति, आगामी नीति, बजेटमा पर्ने प्राथमिकताको बारेमा प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले प्रस्तुति राख्नु भएको थियो । उहाँले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यमा अबको बजेट केन्द्रित हुने बताउनु भएको थियो ।

नगरप्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य विमला घिमिरेले समयमै नगरले समन्वय नगर्दा केन्द्रका योजनाहरु तान्न नसकिएको बताउनु भयो । समग्रमा नगरले राम्रो काम गरे पनि राष्ट्रिय महत्वका योजनामा ठोस काम गर्न नसक्दा आलोचित हुनु स्वभाविक भएको उहाँको भनाई छ ।

बाटो पिच मात्र नगरको विकास नभएको भन्दै चेतनाको विकास गर्नको लागि लक्षित वर्गको लागि अझै धेरै बजेट विनियोजन गर्न उहाँले सुझाउनु भयो । नगरपालिका र आफूहरुबीच समयमै समन्वय भएको भए धेरै योजना पारेर नगर विकास गर्न सकिने मौका गुमाएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

विघटित प्रतिनिधि सभा सदस्य अत्तहर कमालले नगरले समग्रमा राम्रो काम गरेको बताउनु भयो । कोरोनामा नगरले गरेको कार्य उत्कृष्ट रहेको भन्दै अब सबै एक ढिक्का भएर अगाडी बढ्नु पर्ने उहाँको भनाई छ । विगतमा जे भएपनि चुनावी घोषणामा समेटिएका कुराहरु पुरा गर्न अझै एउटा मौका भएकाले सोही अनुसार नीति निर्माण गर्न सुझाउनु भयो ।

संविधान सभा सदस्य बलराम अधिकारीले गौरवका योजनामा नगरले प्रभावकारी काम नगरेको भनी आलोचना गर्नुभयो । उहाँले नगरमा प्रशस्त मात्रामा काम गर्ने ठाउँ हुँदा हुँदै पनि संघसंस्थासंगको सहकार्य, जनप्रतिनिधि, कर्मचारीबीचमा तालमेल अभावले आशातित उपलब्धि हासिल गर्न नगर चुकेको बताउनुभयो ।

नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, नेपाली काँग्रेसका जिल्ला सदस्य रवि बहादुर काफ्ले, माओवादी केन्द्रका नगर अध्यक्ष टेकेन्द्र क्षेत्रीले नगरको प्रसंसासंगै कालो पत्रे बनेका सडक एक बर्षमै किन भत्कन्छन् ? सडक कालो मात्र बनाएर कालो पत्रे हुन्छ ? यस्तो संवेदनशिल विषयमा कसको कमजोरी रह्यो भनेर प्रश्न गर्नुभयो । अब बजेट र नीति बनाउँदा यस्ता गलत कार्य गर्नेलाई निरुत्साहित गर्नु पर्ने, फोहरमैलाको उचित ब्यवस्थापन गर्नु पर्ने, ठुला योजनाको काम तुरुन्तै शिल्यान्यास गर्ने, सरकारी शिक्षलाई सुधार गर्नु पर्ने, लगायतका कार्यक्रम समेटी बजेट बनाउन उहाँहरुको आग्रह छ ।

सुझाव संकलन र छलफलमा नगरको स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक डम्बर शर्मा, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नेपाली काँग्रेश नगर सभापति विष्णु थापा, उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष भेषराज पाण्डे, पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी, सामुदायिक रेडियो प्रसारक संघका संयोजक तथा रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले पनि जनताले महसुस गर्ने गरी ठोस काम गर्न सुझाउनु भयो । अधिकारी र न्यौपानेले मिडियाको संरक्षण र विकासमा स्थानीय सरकारको दायित्व रहेको बताउनुभयो । रेडियोहरु कोभिडमा थप समस्यामा परेको हुनाले पर्याप्त बजेट छुट्याउन माग गर्दै न्यौपानेले रेडियो सूचनाको सबैभन्दा शशक्त माध्यम भएकामा सबैको ध्यानाकर्षण गराउनु थियो ।

सुझाव ग्रहण गर्दै नगर प्रमुख मंगल प्रसाद थारु र उपप्रमुख चक्रपाणी अर्यालले जनस्तरबाट आएका सुझावलाई सम्बोधन गरी आगामी बजेट बनाइने प्रतिवद्धता जनाउनु भयो । उपप्रमुख अर्यालले सुझावहरुलाई आलोचनाको रुपमा आफूहरुले नलिएको भन्दै सबैमा धन्यबाद दिनुभयो । चुनाव जितेर स्थानीय सरकारको नेतृत्व सम्हालेदेखि केही गौरवका कामहरु गर्न नसकिएको स्विकार गर्नुभयो ।

यसो भनिरहँदा केही नभएको भन्ने अर्थमा बुझ्न नहुने उहाँको भनाई छ । वडा नम्बर १० पटनामा तरकारी पकेट क्षेत्र बन्नु, वडा नम्बर ९ भलवाडमा औद्योगिक ग्राम बन्नु, बौद्ध शिक्षा नामक स्थानीय पाठ्यक्रम लागु हुनु, मासु, अण्डा तथा तरकारीमा आत्मनिर्भर बन्नु नगरका उपलब्धि भएको उहाँको भनाई छ ।

सुझाव संकलनमा सहभागि सबैलाई धन्यबाद दिँदै मेयर थारुले कोभिडको यो दुई बर्षमा चाहेर पनि केही गर्न नसकिएको बताउनु भयो । अब आफूहरुको कार्यकाल जम्मा १० महिना रहेको र यो नै अन्तिम बजेट भएकाले अधुरा कामहरुको सुरु गरेर नै आफूहरु विदा हुने उहाँको प्रतिवद्धता छ ।

योजना अधिकृत केशवराज भट्राईको संचालन, नगरप्रवक्ता विष्णु पौडेलेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु, कर्मचारी, बिभिन्न संघ संस्थाका प्रमुख, सुरक्षाकर्मी आदिको सहभागिता थियो । यिनै सुझावका आधारमा नीति र कार्यक्रम बनाएर नगरले असार १५ गते भित्र बजेट सार्वजनिक गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्