बाणगंगाको नीति तथा कार्यक्रम १३८ बुँदे, यस्ता छन् प्राथमिकता


appharu

२ असार २०७८, बुधबार १९:२५ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको आर्थिक बर्ष २०७८ । ०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले स्विकृत भएको छ । बुधबार नवौँ नगरसभाबाट १३८ बुँदे नीति र कार्यक्रम स्विकृत भएको हो ।

यस अघि नीति र कार्यक्रमबारे सरोकारवालासंगबाट सुझाव संकलन गरी तयार पारिएको नीति र कार्यक्रमलाई आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासको कसिमा बाँधिएको छ । यसरी तयार भएको १३८ बुँदे कार्यक्रम मेयर तथा सभाध्यक्ष मंगल प्रसाद थारुले नीति र कार्यक्रम पढेर सुनाउनु भएको थियो । उहाँका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी प्राथमिकतामा परेका छन् भने केही नयाँ कार्यक्रम पनि समेटिएका छन् । केही गत बर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

नगर अध्यक्ष थारुले नीति र कार्यक्रम पढेर सकेपछि सभामा छलफल भयो । नगरकार्यपालिका सदस्य र नगरसभा सदस्यहरु इन्दिरा पन्त, पूर्णकला सुनार, कुल बहादुर सोमै, शान्ता पाण्डे, राम लोचन चौधरी लगायतले आ–आफ्नो धारणा र सुझाव राख्नुभएको थियो ।

सभामा उठेका सवालहरुमा नगर उप–प्रमुख चक्रपाणी अर्यालले सहजिकरण गर्नु भएको थियो । नीति र कार्यक्रममाथिको आधा घण्टा छलफल पछि सभाध्यक्ष थारुले नीति र कार्यक्रम बहुमत ध्वनीले पारित भएको जानकारी सदनलाई गराउनु भएको थियो ।

सभाध्यक्ष थारुले अब नगरको अर्को वैठक असार ९ गते दिउँसो २ बजेको लागि आह्वान गर्नु भएको छ । यिनै कार्यक्रमलाई टेकेर सो वैठकमा बजेट प्रस्तुत हुने छ । नवौँ नगर सभाको संचालन प्रमुख प्रशासकीय अधिकृत तथा सभा सचिव बासुदेव खनालले गर्नुभएको थियो ।

नीति र कार्यक्रमका मुख्य आकर्षणहरुः
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन पिपरा अस्पतालमा नयाँ भवन बनाई सुविधा थपिने ।
नगर भित्र मृगौला प्रत्यारोपण, जटिल मुटुको शल्यक्रिया, स्पाइन सर्जरीजस्ता प्राणघातक रोगहरुमा राहत दिने ।
कृषिको आधुनिकिकरण र कृषि उत्पादन मार्फत् रोजगारी सिर्जना गर्ने ।
‘उज्यालो बाणगंगा’ अभियान अन्तर्गत नगर क्षेत्रभित्रका आवश्यक स्थानमा सडक सौर्य वत्ति जडान गरिने र मुख्य चोक–चोकमा सिसिटिभी जडान गरिने ।
वडा नम्बर ९ मा फोहर ब्यवस्थापन तथा प्रशोधन केन्द्र बनाउन डिपिआर बनाउने ।
नगर सडक यातायात गुरुयोजना बनाई नगर क्षेत्रमा सडकको मापदण्ड तोकिने, एकिकृत बसपार्क बनाउने नीति अगाडी बढाइने ।
चक्रपथको ट्रयाक विस्तार र स्तरन्नोतिलाई निरन्तरता ।
खेल क्षेत्रको विकासको लागि बुद्ध रंगशाला, मायादेवी रंगशाला र कभर्ड हल बनाउने ब्यवस्था मिलाउने ।
विद्यालयमा छात्राहरुको लागि निशुल्क सेनेटरी प्याडको प्रबन्ध मिलाउने ।
बाणगंगा लगायतका नदी उकास क्षेत्रमा एकिकृत विकासको डिपिआर बनाइने, संरक्षण गरिने ।
नविकरणीय उर्जा प्रर्वद्धन कार्यक्रम अगाडी बढाइने ।
भलवाडमा नेपाल प्रहरी इकाई स्थापना गर्ने र बाणगंगा पुलको उत्तरतिर सशस्त्र प्रहरीको क्याम्प सारिने ।

प्रतिक्रिया दिनुहोस्