प्यान कार्ड (PAN Card) बनाउनको लागि अनलाइनबाट आवेदन कसरी दिने? (प्रक्रिया सहित)


appharu

३ श्रावण २०७८, आईतवार ०७:१३ मा प्रकाशित

पालिका पत्र, काठमाण्डौँ ।

कर कार्यालयले कुनै व्यवसाय गर्न चाहने व्यक्तिको पहिचान गर्न, व्यवसायीले कर तिर्न र आफूले तिरेको करको जानकारी लिनको लागि कर कार्यालयले जारी गर्ने परिचयलाई स्थायी लेखा नम्बर(PAN) भनिन्छ। सरकारले हालसालै एक हजार रुपैयाँभन्दा बढीको कारोबार वा भुक्तानी गर्नेले अनिवार्य रूपमा प्यानमा दर्ता हुनुपर्ने प्रावधान ल्याएको छ। त्यसैले हरेक व्यवसायी र आयआर्जन गर्ने व्यक्ति प्यान बनाउन लाग्नुपर्ने बाध्यकारी भएको छ। तर कतिपयले प्यानको लागि आवेदन अनलाइनबाट नै दिनुपर्छ भन्ने कुरा थाहा नपाउँदा भने सास्ती खेप्न परेको छ। यस्तै कुरालाई ध्यानमा राखेर यो लेखमा प्यानको लागि अनलाइन आवेदन दिने प्रक्रिया विस्तृतमा बताउँदै छौँ।

  • सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेबसाइट  www.ird.gov.np मा जानुहोस्।
  • होम पेजमा भएको Taxpayer Portal मा क्लिक गर्नुहोस्।
  • प्यानको लागि दर्ता गर्न पहिला खाता खोल्नुपर्ने हुन्छ।
  • खाता खोल्नको लागि Registration (PAN, VAT, EXCISE) मा क्लिक गर्नुहोस्।
  • त्यस भित्रको  Application For Registration मा जानुहोस्।
    • यसमा भएको Usename मा आफूले सम्झने नाम राख्नुहोस्। 
    • Password मा आफूले सम्झिने र अरूले चोर्न गाह्रो हुने पासवर्ड हाल्नुहोस् र Re-password मा  त्यही अघि राखेको पासवर्ड राख्नुहोस्। 
    • Conatct No.मा सम्पर्क नम्बर र Email-Id मा इमेल ठेगाना लेख्नुहोस्।
    • कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO Name मा खुलाउनुहोस् । 
    • यो सबै भरेपछि OK बटनमा थिच्नुहोस्।
  • यति गरेपछि Submission Number आउँछ। 
    • यही Username र Password तपाईँले आन्तरिक राजस्व विभागको अन्य E-SYSTEM हरू मा पनि प्रयोग हुन्छ। त्यसैले आफ्नो Username, Password र Submission Number सुरक्षित राख्नुहोस्।
  • Submission Number आएपछि Continue मा थिच्नुहोस्।
  • यहाँ दिइएका आवश्यक व्यक्तिगत विवरण, फोटो र परिचयपत्र (नागरिकता वा पासपोर्ट) को विवरण भर्नुहोस्।
  • कुनै विवरण थाहा नभएर पछि भर्नुपर्ने भए Save गर्नुहोस्।
    • यस्तो गर्दा पछि Username, Password र Submission Number हालेर लग इन गरेर फेरी विवरण भर्न सकिन्छ।
  • विवरण भरेर ठिक छ छैन जाँच्नलाई रुजु गरेपछि Save गरेर Submit मा क्लिक गर्नुहोस्।
    • Submit गरिसकेपछि कुनै विवरण गलत भए पनि मिलाउन पाइन्न। त्यसैले Submit गर्नु अघि नै सबै विवरण राम्रोसँग हेर्नुहोला।
  • त्यसपछि प्रिन्टमा थिचेर विवरण  प्रिन्ट गर्नुहोस्। सोही प्रिन्ट लिएर आफूले छानेको सम्बन्धित कर कार्यालयमा जानुहोस्।
  • कार्यालयले तपाईँलाई विवरण जाँच गरेर प्यान नम्बर दिन्छ।

के के कागजात चाहिन्छ?

व्यक्तिका लागि:

  • नागरिकताको फोटोकपी
  • २ प्रति पासपोर्ट साइज फोटो
  • सीप, पेशा आदिको प्रमाणपत्र (लाइसेन्स्,सर्टिफिकेट आदि)

व्यवसायको लागि:

  • व्यवसाय दर्ताको प्रमाण पत्र, कम्पनी भए कम्पनी दर्ताको प्रमाण पत्र
  • व्यवसायीको २ वटा फोटो, साझेदारी (पार्टनरसीप) फर्म भए सबैको २-२ वटा फोटो
  • नागरिकताको फोटोकपि, साझेदारी (पार्टनरसीप) फर्म भए सबैको नागरिकताको फोटोकपी
  • व्यवसाय संचालन गर्ने ठाउँ देखिने गरि बनाएको नक्सा
  • भाडामा भए घरबेटीसंग भाडाको सम्झौता गरेको कागज

प्यानमा दर्ता हुन कति शुल्क लाग्छ?

प्यानमा दर्ता हुन कुनै शुल्क लाग्दैन।

स्रोत: आन्तरिक राजस्व विभागले PANको बारेमा दिएको जानकारी

प्रतिक्रिया दिनुहोस्