कैलालीका पाँच स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा बन्द


appharu

१३ माघ २०७८, बिहीबार १४:१५ मा प्रकाशित

धनगढी ।
कोरोनाको जोखिम बढेपछि कैलालीका १३ मध्ये पाँच स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्।

धनगढी उपमहानगर, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउँपालिकाले सूचना जारी गर्दै हाललाई सेवा बन्द गरेका हुन्।

धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा माघ १८ गतेसम्म बन्द रहने जानकारी गराएको छ ।

भजनी नगरपालिकाले माघ १३ देखि १९ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव भट्टले बताए।

यस्तै, गोदावरी नगरपालिकाले माघ ९ देखि १५ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

उता जोशीपुर गाउँपालिकाले पनि माघ ११ देखि १८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी दिए।

गौरीगंगा नगरपालिकाले पनि माघ १२ देखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए।

यी सबै स्थानीय तहले कार्यालयका केही कर्मचारीहरूलाई कोभिड-१९ संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आइसोलेसनमा रहेकोले सेवाग्राहीमा फैलने जोखिम बढेपछि सेवा बन्द गर्नुपरेको बताएका छन्।

यस अवधिमा अत्यावश्यक स्वास्थ्य, सरसफाइ, दमकल र एम्बुलेन्स सेवा भने बन्द हुने छैनन्।

प्रतिक्रिया दिनुहोस्