कालिका मानवज्ञानका ४० भन्दा धेरै विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति

एउटै वर्ष यति धेरैले पूर्ण छात्रवृत्ति पाउने सरकारी विद्यालय नेपालमै पहिलो -प्राचार्य थापा


appharu

५ बैशाख २०७९, सोमबार १०:१० मा प्रकाशित

पलिकापत्र, बुटवल

कुनै समय थियो एमबीबीएस लगायत विषय अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न नाम चलेका महंगा बोर्डिङ स्कूलमा पढ्नुपथ्र्यो । तर अहिले समय फेरिएको छ । पछिल्ला वर्षहरुमा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले समेत एमबीबीएस,पारामेडिकल र इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुदै आएका छन् । ती मध्ये अग्रणी विद्यालय हो– मुलुककै सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सरकारबाट पुरस्कृत बुटवलको कालिका मानवज्ञान मावि ।

यो वर्ष मात्रै कालिकाबाट १२ कक्षा उत्तीर्ण गरेका ४० जना भन्दा धेरै विद्यार्थीले एमबीबीएस लगायतका विषयमा स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।

जसमध्ये १० जनाले एमबीबीएसमा, १२ जनाले पारामेडिकलमा र १८ जनाले इन्जियनियरिङ अध्ययनका लागि नाम निकाल्न सफल भएका विद्यालयका प्राचार्य दिनेश थापाले जानकारी दिए । प्राचार्य थापाको दावी अनुसार सामुदायिक विद्यालयबाट एकै वर्षमा यति धेरै विद्यार्थीले एमबीबीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालय कालिका मानवज्ञान नै हो ।

विद्यालयकी मन्जु पोखरेल, अप्सरा पाण्डे, दत्त रोकाया, रक्षा पोखरेल, सागर अर्याल, अमित कुर्मी, प्रविन बिक,वर्षा न्यौपाने, बर्षा बस्याल र बिमला भण्डारीले एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन् । यस्तै विमला भण्डारी, विन्द पौडेल, सागर अर्याल, सन्जना क्षेत्री, श्रृष्टि पन्थी, सबिता राना, गंगा बस्याल, शिशिर थारु, नवराज पौडेल, आयुश पाण्डे, सबिना चुंदाली र अमृत न्यौपानेले पारामेडिकलमा स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।

यस्तै आकाश चौधरी, सुरज श्रेष्ठ, युवराज भण्डारी, शरद पोखरेल, जनक सापकोटा, सागर ज्ञवाली, अभिषेक चौधरी,सुस्मा भट्टराई, रमेश खनाल, सुवेच्छा कार्की, लालबहादुर लोहार, सन्दीप श्रेष्ठ, लक्ष्मण पौडेल, निर्माण गैरे, पर्नित पुन र सुजित कुमार गुप्ताले इन्जियनियरिङमा पूर्ण छात्रवृत्ति पाएका छन् ।

विद्यालयले विद्यार्थी केन्द्रीत व्यवहारिक सिकाईलाई प्राथमिकता दिएको, दक्ष शिक्षकहरुको अथक मेहनत, प्रयोगशालामा प्राक्टिकलका लागि पर्याप्त सामग्री व्यवस्था गरेकाले विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्राचार्य दिनेश थापाले बताए । ‘अहिलेसम्म ४० जना भन्दा धेरैले पूर्ण छात्रवृत्तिमा नाम निकालेको जानकारी आएको छ, तर यो संख्या थपिने क्रम जारी छ, करिब ६० जना पुग्छन् भन्ने छ’–प्राचार्य थापाले भने ।

विद्यालयका विज्ञान शिक्षक कृष्ण अधिकारीले चुस्त प्रशासन, र व्यवस्थित सिकाई प्रणाली विद्यार्थीमैत्री पठनपाठनले गर्दा हरेक वर्ष पुर्ण छावृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दै गएको बताए ।

विद्यार्थी सगुन सिंजालीले व्यवहारिक पठनपाठन, विद्यार्थीमैत्री सिकाई र पर्याप्त प्रयोगशाला सामग्रीका कारण विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको र उत्कृष्ट नतिजा आएको बताइन् । सामुदायिक विद्यालयतर्फ नेपाल सरकारबाट लगातार सर्वोत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत हुंदै आएको विद्यालयमा ८ हजार ७२ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्