पालिकापत्र, तिलोत्तमा । मिडियाको प्रयोग र प्रचार प्रसारका कारण देश भरी नै नाम कमाएको बताइने तिलोत्तमा नगरपालिकामा यस वर्ष करौडोको लागतमा दुईवटा सेता घर ठडिए– भ्यु टावर र नगरपालिकाको भवन । यी संरचना बनाउन आवश्यक थियो की थिएन त्यो आफ्नो ठाउंमा छ तर ती भवनका तलपट्टी वर्षौं देखि आफ्नो अस्तित्वका लागि निरन्तर संघर्ष गर्दै आएको छत्तिस मौजा सामुदायिक सिंचाइ प्रणालीको लागि नगरपालिकाले के के ग¥यो भन्ने प्रश्न महत्वपूर्ण छ ।
भ्यु टावरमा चढेर किसानको पीडामा रमाउने सम्भ्रान्तहरूका लागि त्यो मनोरञ्जनको माध्यम होला तर ती वर्गलाई मनोरञ्जन दिन बनाइएको भ्यु टावरमा लागेको खर्च छत्तिस मौजा सामुदायिक सिंचाइ प्रणालीको व्यवस्थापनमा गरिएको भए अहिले तिलोत्तमाका हजारौं किसानको जीवनस्तर फरक खालको हुने थियो । किसान बाह्रै महिना खेतबारी सुमसुम्याउने थिए, उब्जनी वढ्थो, नगरपालिका कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने थिए । यस्तो मौका तिलोत्तमाले खेर फालेकै हो ।
विश्वकै सम्पदा
सामान्य बुझाइमा तिनाउ खोलाको पानी तिलोत्तमा नगरपालिकाका खेतबारीमा लगेर सिचाई गर्ने प्रणाली नै छत्तिस मौजा सामुदायिक सिंचाई प्रणाली हो । तर यसरी मात्र चिनाउंदा यो प्रणालीको इतिहास र सामूहिक कर्मप्रति अवमूल्यन गरेको हुन्छ । यो सिंचाइ प्रणालीको सुरुवात उन्नाईसौ शताव्दीको सुरुवाततिर भएको अनुमान गरिन्छ ।अहिले तिलोत्तमा नगरपालिका वडा नं. ११ मा पर्ने कुमारीगांउका छेदा थारुको अगुवाइमा बुटवलवाट पानी लैजानका लागि करिब १० किलोमिटर लामो नहर बनाएको वताईन्छ । करिब २ सय वर्ष अगाडी देखि समुदायले आफ्नै बल र विवेकमा सञ्चालन गरेको यस्तो सामुदायिक सिँचाइ प्रणाली संभवत विश्वकै नमुना सिचाई प्रणाली हो । यो प्रणालीलाई नेपालको बहुमूल्य सम्पत्तिको रूपमा पनि लिन सकिन्छ ।
कुला हराए, खेत हराए
सुरुमा ३६ मौजा गाउंमा यो कुलोवाट सिंचाइ गरिने हुंदा यो प्रणालीको नाम नै ३६ मौजा सिंचाइ प्रणाली राखिएको हो । अहिले यो प्रणालीबाट तिलोत्तमाका ६० गाउमा सिंचाइ हुन्छ । ३६ मौजा सामुदायिक सिंचाइ प्रणालीको मुख्य नहर अहिले १३ किलोमिटर लामो छ भने ४४ वटा सहायक नहरहरू छन् । तिलोत्तमाको ३५ सय हेक्टर खेतमा यसप्रणाली वाट सिंचाइ हुंदै आएको अनुमान गरिए पनि त्यो बिस्तारै कम हुंदै गएको छ ।
बढ्दो सहरीकरणसंगै बुटवलमा यो सिंचाइ प्रणाली करिब करिब बन्द नै भएको छ भने तिलोत्तमा पनि कतिपय ठाउमा कुलो अतिक्रमण गरी घर निर्माण भएका छन् । ग्रामीण क्षेत्रहरूमा यो प्रणालीको संरचना त देखिन्छ तर चौतर्फी अतिक्रमणका कारण ती संरचनाहरू पनि सांघुरिंदै आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत छन् ।
के गर्नु पथ्र्योे ? भयो के ?
यसबिचमा नगरपालिका किसानलाई बिउ विजन बांडेर, पशुपालनलाई अनुदान दिएर चर्चामा आउने प्रयास गरेको देखिन्छ तर किसानको लागि यस्तो वितरण भन्दा यो सिंचाई प्रणालीलाई व्यवस्थापन गरेको भए किसानहरू कैयौं गुणा लाभान्वित हुने थिए । अहिलेपनि कुलाका धेरै संरचना पुरिएका छन् । एकातिर हरेक वर्षायाममा नहरका तल्लो किनाराका किसानहरू बाढीका कारण अनेकौ समस्या भोग्न बाध्य छन् भने अर्कोतर्फ कच्ची संरचनाका कारण स्याउला बोकेर दिनरात नहरमा पानी फर्काउन पुग्नु पर्ने बाध्यता छ । अहिलेको नगरपालिकाको नेतृत्वले यो प्रणालीको बेवास्ता गरे पनि तिलोत्तमाको समृृद्धि देखाउन भ्यु टावर हैन की यो प्रणालीको व्यवस्थापन जरुरी देखिन्छ । अहिले दुख गरेर प्राय धान र गहुं खेतीमा मात्र सिंचाइ भएको अवस्था छ । तर पुराना ती सबै कुलाहरूको खोजी गरी ती कुलाहरूमा बाह्रै महिना पानी बग्ने वातावरण बनाउन सके गांउ शहरको सौन्दर्य त त झल्किन्छ नै भ्यु टावरमा चढ्ने पर्यटक हरियाली हेर्न किसानहरूको खेत खेतमा पुग्नेछ जुन ३६ मौजा सामुदायिक सिंचाइका कारण तिलोत्तमामा सम्भव छ । यसको लागि जनप्रतिनिधिहरूमा इच्छा शक्तिको आवश्यकता छ । अहिले जस्तो प्रचार र अनावश्यक लगानीमा होइन ।