पालिकापत्र, तिलोत्तमा । नेकपा एमाले तिलोत्तमाले आगामी पाँच वर्षको लागि जारी गरेको घोषणापत्रमा नगरवासीलाई प्रत्यक्ष राहत पुग्ने योजनाहरु नै समेटिएको छैन । २८ वटा बुँदामा विभिन्न प्रतिवद्धता सार्वजनिक गरिएको भएपनि चर्को करको मारमा परेका नगरवासीलाई राहत पुग्ने कुनै प्रतिवद्धता छैन । यस्तै भ्रष्टाचारका बारेमा पनि कुनै प्रतिवद्धता छैन । जबकि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको घोषणापत्रमा भने नगरवासीलाई थुप्रै राहत र सुविधाका योजना रहेका नगरवासीको प्रतिक्रिया छ । जस्तो कि एकीकृत सम्पत्ति करलाई घटाएर ५० प्रतिशतमा झार्ने गठबन्धनको पहिलो प्रतिवद्धता छ । नगरपालिका भएपछि यो करले ढाड सेकेको नगरवासीको गुनासो थियो । गठबन्धनले यो कर आधा घटाउने भएपछि यसले नगरवासीलाई धेरै राहत दिने वडा नंं १० कान्छीबजारका त्रिभुवन मल्ल बताउंछन् । ‘एमालेको नेतृत्वले पहिला ६५ रुपैयां लिने करलाई १६ सय बनाएको थियो, जुन झण्डै २ सय गुणा बढी हो, यसबाट जनता असाध्यै मारमा छन्’–मल्लले भने–‘कांग्रेस माओवादीको घोषणापत्रमा यो कर आधा कम गराउने भनिएको रहेछ, उनीहरुले जिते भने धेरै राहत पुग्छ ।’ यस्तै कांग्रेसको घोषणापत्रमा रुग्ण उद्योग व्यवसायको तिर्न बांकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल नगरवासी उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्थ पूर्णरुपमा अन्त्य गरी सरकारी वजेटमा बनाउने प्रतिवद्धता गरिएको छ । यस्तै ३० युनिट विद्युत महशुल र खानेपानीको न्यूनतम महशुल निःशुल्क फोहोर संकलन शुल्क पनि निशुल्क गरिने तथा इन्डक्सन चुल्हो खरिदमा ६० प्रतिशत अनुदान दिने गठबन्धनको प्रतिवद्धता छ । तर एमालेको घोषणापत्रमा यी विषयमा कुनै छुट र सहुलियत दिने प्रतिवद्धता छैन । गठबन्धनले प्रत्येक वडाबाट ३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेकानिकल सब ओभरसियर तालिमका लागि हरेक वर्ष छात्रवृत्ति दिने, सबै वडाका स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने, अपांग र जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार,सुत्केरी भत्ता, सस्तो औषधि पसल सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै एक घर एक रोजगार वा व्यवसाय योजना, रात्रीकालिन नगर सुरक्षा व्ययवस्था, सरकारी जग्गाको संरक्षण र उपयोग गरिने तर भोगाधिकार कसैलाई नदिइने, सार्वजनिक स्थानमा फ्रि वाईफाई र सीसीटीभी जडान गरिने प्रतिवद्धता छ । यस्तै मोबाइल एप तथा डिजिटल प्रणालीमार्फत घरमै बसेर दर्ता तथा सिफारिस सेवाहरु लिन सकिने व्यवस्था र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागु गरिने घोषणापत्रमा उल्लेख छ ।
यस्तै एक वडा एक कृषि हाटबजार, ५ लाख सम्म लगानीका कृषि उद्यमको दर्ता निःशुल्क र एक वर्षसम्म कर छुट तथा सामुहिक खेती प्रणालीलाई प्रवद्र्धन गरिने गठबन्धनको प्रतिवद्धता छ ।
गठबन्धनका मेयर पदका उम्मेदवार रामकृष्ण खांणले आफूहरुले जितेपछि नगरपालिकालाई भ्रष्टाचारमुक्त र बेरुजू शुन्य नेपालकै नमूना पालिका बनाउने बताएका छन् । तर एमालेको प्रतिवद्धतापत्र भ्रष्टाचारबारे मौन छ । गठबन्धनका मेयर उम्मेदवार खांणले आफूहरुले जितेपछि राज्यबाट पाउने तलब भत्ता गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति र सामाजिक काममा लगाउने प्रतिवद्धता जनाएका छन् तर एमालेका मेयरले यसबारे कुनै प्रतिवद्धता जनाएका छैनन् । ४८ पेजको एमालेको प्रतिवद्धतापत्रमा २२ पेज अघिल्लो कार्यकालका कामहरुको फेहरिस्त देखाइएको छ । बांकी २६ पेजमा पनि नगरवासीलाई प्रत्यक्ष राहत पुग्ने एउटा पनि बुंदा नरहेको तिलोत्तमा ११ का दीपक न्यौपानेले बताए । ‘मैले गठबन्धन र एमाले दुबैको घोषणापत्र हेरें, एमालेकोमा नगरवासीलाई प्रत्यक्ष राहत र सहुलियत हुने कुनै बुंदा भेटिन तर गठबन्धनको घोषणापत्रमा राहत र सहुलियतका धेरै बंदा छन् ।’