बैंक ब्याजदर र मुल्यबृद्धि घटाउन उद्योग ब्यापार संघको माग


appharu

१३ जेष्ठ २०७९, शुक्रबार १६:४६ मा प्रकाशित

पालिकापत्र, बुटवल । बैंक तथा वित्तिय संस्थाहरुले तरलता अभाव देखाई उद्योग व्यापार धरासायी हुने गरी बैंक व्याजदर बढाएको र सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि दुबै घटाउन उद्योग ब्यापार संघ बुटवलले माग गरेको छ । बैंक ब्याजदर बृद्धिले उद्योग, व्यापारमा पार्र्नेे असर र मुलुकको आर्थिक विकासमा पार्ने असरप्रति सरकारले गम्भीर ध्यान दिनुपर्ने संघले माग गरेको छ । संघका अध्यक्ष गोबिन्दराज गैरे र महासचिव पदम जीसीले विज्ञप्ति जारी गर्दै बैंक तथा बित्तिय क्षेत्रको गतिविधि उद्योगमैत्री, लगानीमैत्री र आर्थिक संमृद्धिमैत्री हुन नसकेको अनुभुति भएको जनाएका छन् । बैंकहरुले व्याज दर बढाउँदा उद्योग तथा व्यापारमा प्रत्यक्ष असर परेको र ऋण लगानि गर्दा ऋणी र बैंक बिचको सम्झौतालाई लत्याउदै एकतर्फी रुपमा ब्याज बढेको पत्र पठाउने र दवावस्वरुप व्याज बढाएर असुल्ने गरिएको विज्ञप्तिमा उल्लेख छ । बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तरको सीमा समेत नाघेर कर्जाको व्याजदर बृद्धि गरेको भन्दै व्याज दर बृद्धिको समस्या हल गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
पेट्रोलियम प्रदार्थहरुमा भएको मूल्यबृद्धिले दैनिक उपभोग्य वस्तुको मुल्यबृद्धि र यातायात भाडा बढ्दा सर्वसाधारण नागरिकलाई घर व्यवहार चलाउन समेत कठिन परेको भन्दै मुल्यबृद्धि नियन्त्रण गर्न संघले माग गरेको छ ।
‘विषम आर्थिक अवस्थाका कारण उद्योगी व्यापारीहरु असार मसान्त भित्रको व्याज भुक्तानी गर्न सक्ने अवस्थामा नरहेका कारण उद्योगी व्यापारीहरुलाई कसरी सुविधा उपलब्ध गराउन सकिन्छ यसमा ध्यान दिन अनुरोध छ, बैंकले ब्याज बढाइरहेको बेला बैंकको व्याजदर भुक्तानीमा सहज गराउने वातावरण सिर्जना गरी दैनिक उपभोग्य सामाग्री तथा पेट्रोलियम प्रदार्थ समेतमा भएको मूल्यवृद्धिलाई तत्काल घटाउन नेपाल सरकार समक्ष आग्रह गर्दछौ’–विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्