सेमलारमा बन्ने २ अर्ब लागतको थोक कृषि बजारलाई तत्काल जग्गा प्राप्ति प्रकृया मिलाउन मेयर पाण्डेयको निर्देशन


appharu

१४ जेष्ठ २०७९, शनिबार १८:३६ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवलको सेमलारमा २ अर्ब बढी लागतमा बन्ने एकीकृत थोक कृषि बजारका लागि जग्गा प्राप्तिको काम तत्काल अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ५ वर्ष अघिदेखि कुरा अघि बढेपनि परियोजनाको नाममा हालसम्म जग्गा प्राप्ति नभएको र आउंदो पुस १६ गतेसम्म जग्गा प्राप्ति नभए परियोजना गुम्ने दातृ निकायले चेतावनी दिएको छ ।

बुटवलको पुरानो बसपार्कमा रहेको कृषि थोक बजार केन्द्र साँघुरो भएकाले बुटवलको वडा नंं. १५ र १६ मा पर्ने सेमलारमा संघीय सरकारको कृषि मन्त्रालयले एकीकृत थोक कृषि बजार बनाउने प्रकृया अघि बढाएको हो ।

कृषि बजारका लागि जग्गा प्राप्ति नभएकाले यथाशीघ्र जग्गा प्राप्तिको काम गर्न दातृ निकाय नेदरल्याण्ड सरकारका प्रतिनिधि,कृषि मन्त्रालयका सचिव र बुटवलका नव निर्वाचित मेयर खेलराज पाण्डेले सरोकारवालालाई आग्रह गरेका छन् ।
कृषि मन्त्रालयको योजनाअनुसार कृषि बजारमा किसानले उत्पादन गरेका कृषि उपजसँगै पशुपन्छीसम्बन्धी सबै उत्पादनको खरिद बिक्री व्यवस्था मिलाइनेछ । बजारमा १ लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिनेछ ।

कृषि मन्त्रालयका सचिव डा. गोबिन्दप्रसाद शर्माले सेमलारमा बन्ने कृषि थोकबजार प्रदेशको मात्र नभई देशकै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भएको बताए ।

नेदरल्याण्ड सरकारका प्रतिनिधि रोबिनले बुटवलमा थोक कृषि बजार बनाउन ५ वर्षदेखि प्रयास गरेको उल्लेख गर्दै आउंदो पुस १६ गते अगावै जग्गा प्राप्तिको कानूनी प्रकृया पुरा नभए परियेजना गुम्ने चेतावनी दिए ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बुटवलका वडा नंं १४,१५ र १६ का जनप्रतिनिधि सहित सर्वदलीय वैठक तत्काल बसेर विवादरहित ढंगले निर्णय गरेर जग्गा प्राप्तिको प्रकृयामा अघि बढ्न निर्देशन दिए । उनले यसअघि एडीबीका तीन वटा परियोजना गुमेको स्मरण गर्दै यो आयोजनालाई कुनै हालतमा बाहिर जान दिन नहुने बताए ।

कृषि मन्त्रालय अन्तर्गत कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रका वरिष्ठ कृषि अर्थविद् सन्तोषराज पौडेलले सेमलारमा बन्ने कृषि थोक बजारले लुम्बिनी प्रदेश मात्र नभई गण्डकी, कर्णाली र बागमति प्रदेशसम्मका किसान लाभान्वित हुने बताए ।

थोक कृषि बजारले यहाँको अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने र यहां कृषि बजार बनेपछि देशको पूर्व–पश्चिम मात्र होइन, भारत र चीन निर्यात र आयात गर्न समेत सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्