रोटरी बुटवलको अध्यक्षमा बोनिन पिया


appharu

१८ असार २०७९, शनिबार १०:४४ मा प्रकाशित

पालिकापत्र,बुटवल । रोटरी क्लव अफ बुटवलको वर्ष २०२२–२३ को अध्यक्षमा बोनिन पिया निर्वाचित भएका छन् । निर्वाचित भएपछि बसेको बैठकमा अध्यक्ष पियाले रोटरीले गर्ने आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै रोटरीयनहरुको सक्रियता बढाउन विशेष पहल गर्ने बताए । उनले रोटरी भवनको सुरक्षाका लागि ट्रष्ट राख्नुपर्ने आवश्यक देखिएकाले यसका लागि बुटवल उपमहानगरपालिकालाई आग्रह गरिएको जानकारी दिए ।
बैठकमा सहभागी अन्य रोटरीयनहरुले कोभिड महामारीका कारण बिगतका बैठकहरुमा रोटरीयनहरुको उपस्थिति न्युन हुने गरेको भन्दै अवका बैठकलाई आकर्षक बनाउन र रोटरीयनहरुलाई सक्रिय बनाउने गरी पहल गर्न नेतृत्वलाई सुझाव दिएका थिए । साथै उनीहरुले ६ वटा इन्टर्‍याक्ट क्लवमध्ये धेरैजसो निष्क्रिय रहेको भन्दै इन्टर्‍याक्ट क्लवहरुलाई पनि सक्रिय बनाउन र रोटर्‍याक्ट क्लवहरुलाई पनि एकसाथ अगाडि बढाउन आग्रह गरेका थिए ।
त्यस अवसरमा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठ, अन्य रोटरीयनहरुकृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, मनोहर जोशी, डिल्लीप्रसाद श्रेष्ठ, प्रज्वल थान्जु, कृष्ण पराजुली, इन्टर्‍याक्ट क्लवकी बिनिता खनाललगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।
बैठकमा क्लवका निवर्तमान अध्यक्ष डा. ताराप्रसाद उपाध्याय र निवर्तमान सचिव खिमनारायण पराजुलीले रोटरी क्लव अफ बुटवलले वर्ष २०२१–२२ मा प्राप्त गरेको रोटरी अवार्डबारे जानकारी गराएका थिए । त्यस्तै बैठकमा क्लवका वर्ष २०२२–२३ का सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयबारे जानकारी गराएका थिए ।
बैठककै अवसरमा वर्ष २०२१–२२ मा उत्कृष्ट सचिवको अवार्ड जित्न सफल खिमनारायण पराजुली, रोटरी क्लव अफ बुटवलको २९ वर्षको इतिहासमा शत प्रतिशत बैठकमा उपस्थित भएकोमा मणिरत्न पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्