पालिकापत्र,काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलछामपूर्ण ढंगले कान्छी छोरी–र ज्वाइँ गंगा दाहाल र जीवन आचार्यलाई पनि पार्टीको केन्द्रीय सदस्य बनाएरै छाडेका छन् ।
यसअघि २०७८ पुसमा सम्पन्न आठौँ महाधिवेशनकै क्रममा प्रचण्डले आफ्ना कान्छा ज्वाइँ जीवन र कान्छी छोरी गंगाको नाम मनोनित केन्द्रीय सदस्यमा प्रस्ताव गरेका थिए।
तर, छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य प्रस्ताव गरेको भन्दै महाधिवेशन हलमै चर्को विरोध र आपत्ति जनाएपछि प्रचण्ड पछि हट्न बाध्य भएका थिए ।
तर, ६ महिनापछि डाकिएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले छलछामपूर्ण तरिकाले उनै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाएरै छाडे।
बैठकमा प्रचण्डले पूर्व योजना अनुसार सबैभन्दा पहिले छुटपुट केन्द्रीय सदस्यहरुको शपथ ग्रहण हुनेछ भनी स्वयंसेवकहरुमार्फत सिधै शपथ पत्र थमाएर नाटकीय ढंगले शपथग्रहण गराए ।
प्रचण्डले छुटपुट केन्द्रीय सदस्यहरुको शपथग्रहण भएकाले पहिल्यै शपथग्रहण गरेका केन्द्रीय सदस्यहरु पनि उठिदिन आग्रह गरेका थिए।
यही कारण शपथग्रहण गर्ने नयाँ केन्द्रीय सदस्यहरु को–को हुन् भन्ने जानकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुले तत्काल थाहा पाउन सकेनन्। यो प्रचण्डको छलछाम थियो ।
छलकपटमार्फत् प्रचण्डले छोरी–ज्वाइँलाई केन्द्रीय सदस्यका रुपमा शपथ ग्रहण गराएपछिको बैठकमा केही नेताहरुले प्रचण्डको परिवारवाद र व्यक्तिवादको चर्को शब्दमा विरोध गरेका छन् ।
माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसी र वाममती प्रदेश अध्यक्ष सरल सहयात्रीले प्रचण्डको कपटपूर्ण हर्कतको विरोध गरेका हुन्।
कर्णाली प्रदेश अध्यक्ष विमला केसीले त प्रचण्डको नाम नै तोकेर व्यक्तिवादी र परिवारवादी को आरोप तल्लो तहबाटै लाग्ने गरेको र फिल्डमा जाँदा यस्ता प्रश्नहरुका कारण आफू निकै अप्ठेरोमा पर्ने गरेको बताएकी छन्
प्रचण्डले भाइ नारायण दाहाललाई मनोनित हुने कोटाबाट राष्ट्रिय सभा सदस्य बनाएका छन् । छोरी रेनु दाहाल भरतपुर उपमहानगरपालिकाको मेयर छन् । बुहारी विना मगरलाई पनि प्रचण्डले सांसद र मन्त्री बनाइसकेका छन् । यद्यपि विना अहिले भने मन्त्री छैनन् ।