पालिकापत्र,बुटवल । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सहषराम यादवले प्रदेश सरकारको वजेटमा बनेका दुईवटा पुलको उद्घाटन गरेका छन् ।
पश्चिम नवललपरासीको सुनवल नगरपालिका वडा नं ८ झराही (बनकट्टी) खोला र रुपन्देहीको देवदह नगरपालिका वडा नंं ८ र ४ जोड्ने बंगाली खोलामा बनेको पुल मन्त्री यादवले उद्घाटन गरेका हुन् ।
दुबै पुल ठेक्का सम्झौता अगावै बनेका हुन् । झराही खोला पुलले परासी–बनकट्टी–छेदनी हुंदै सुनवलमा पुगेर पुर्व पश्चिम राजमार्गलाई जोड्छ । ५२.८५ मिटर लम्बाई र १० मिटर चौडाईको यो पुल भ्याट सहित ८ करोड ६ लाख २० हजार रुपैयामा अर्घाखांची इन्जिनियर्स एण्ड बिल्डर्स कम्पनी प्रालि सिद्धार्थनगर रुपन्देहीले बनाएको हो ।
२०७६ चैत ४ गते सम्झौता भई २०७९ भदौ ३ गते सम्पन्न गर्ने सम्झौता भएकोमा ६५ दिन अगावै सम्पन्न भएको यो पुल पाइल फाउण्डेसनमा टी बिम आरसीसी गरेर बनेको हो ।
स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग रहेको यो पुल आयोजनाको कार्यान्वयन सडक पुर्वाधार विकास कार्यालय मणिग्रामले गरेको हो ।
यस्तै देवदह–पिपरहिया–डुमरुवा– केरवानी सडक खण्डमा बनेको बंगाली खोला पुलले चरंगे र भलुही क्षेत्रका नगरवासीलाई केरवानीस्थित नगरपालिकाको प्रशासनिक भवनमा पुग्न सहज बनाएको छ ।
३७.४५ मिटर लम्बाई र १० मिटर चौडाईको यो पुल ओपन फाउण्डेसनमा आरसीसी प्रिस्ट्रेस कंक्रिट बिम प्रविधिमा बनेको हो । स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग रहेको यो पुल आयोजनाको कार्यान्वयन सडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले गरेको हो । बंगाली खोला पुल २०७७ असार २४ मा सम्झौता भई २०७८ पुस २१ गते सम्पन्न गर्ने म्याद थियो तर ६ महिना अगावै सम्पन्न भएको हो ।
दुबै पुल उद्घाटन गर्दै मन्त्री यादवले संघीयता आएपछि प्रदेश सरकारले जनताले देख्ने र अनुभुति गर्ने गरी विकास निर्माणका कामहरु गरिरहेको बताए । उनले प्रदेश सरकारले ८० भन्दा बढी सडक पुलहरु निर्माण गरिरहेको बताए । झरही खोला पुल उद्घाटनमा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्याल र बंगाली खोला पुल उद्घाटनमा देवदह नगरपालिकाका कार्यवाहक प्रमुख विद्यालक्ष्मी गुरुङले बोल्दै पालिकाहरुको विकासमा संघीयसंगै प्रदेश सरकारले सहयोग गरेको बताएका थिए ।