कपिलवस्तुमा प्रदेश सरकारको २९ प्रतिशत बढी बजेट फ्रिज


appharu

१३ श्रावण २०७९, शुक्रबार ०७:४६ मा प्रकाशित

पालिकापत्र, तौलिहवा ।
कपिलवस्तुमा प्रदेश सरकारले छुट्टयाएको पुँजीगत तर्फको बजेट खर्च उत्साहजनक नरहेको पाइएको छ ।

गत आव ०७८/०७९ मा प्रदेश सरकारद्धारा प्राप्त बजेटको २९ दशमलव ८५ प्रतिशत रकम काम हुन नसके पछि फ्रिज गएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुका अनुसार गत आवमा प्रदेश सरकारका जिल्ला भित्र रहेका मातहत कार्यालयमा पुँजीगत तर्फ १ अर्व ८९ करोड १२ लाख ३८ हजार रकम आएको थियो । जस मध्ये असार मसान्तसम्म १ अर्व ३२ करोड ६५ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ ।

फ्रिज गएको बजेट कुन कुन कार्यालयको बढी छ, त्यसको तथ्याङ्क निकाली नसकेको कोष तथा लेखा नियन्त्रणको कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रदेश तर्फको पुँजीगत बजेट खर्च उत्साहजनक नरहे पनि संघ तर्फको बजेटको खर्च भने सन्तोषजनक रहेको छ ।

जिल्लामा गत आव ०७८/०७९ का लागि २ अर्व ३३ करोड १८ लाख ३८ हजार बजेट आएको थियो । जसमध्ये २९ करोड २२ लाख बराबरको बजेट खर्च हुन नसकेर फ्रिज भएको छ । प्रतिशतका हिसाबले जिल्लामा १२.४९ प्रतिशत बजेट खर्च हुन नसकेको हो ।

मुलुकको आर्थिक सम्मृद्धिमा सरकारको पुँजीगत खर्चको ठूलो महत्व र योगदान हुन्छ । तर, पछिल्ला वर्षहरुमा नेपाल सरकारको पुँजीगत खर्च गर्नसक्ने क्षमता कमजोर हुँदै गएको छ ।

पुँजीगत खर्च भनेको सम्पत्ति जोहो मात्र होइन, थप सम्पत्ति आर्जनको माध्यम पनि हो । यसले अर्थतन्त्रमा पुँजी निर्माण, उत्पादकत्व, आर्थिक बृद्धि र रोजगारी बढाउँछ, गरिबी घटाउँछ । सरकार खर्च गर्न नसक्ने समस्याको दलदलमा भासिँदा मुलुकमा आर्थिक क्रियाकलापहरु संकुचित बन्दै गएका छन् ।

अर्थविद्का अनुसार विकास बजेट खर्च हुन नसक्नुको कारकतत्वमा अस्थिर राजनीति, कर्मचारीको मानसिकता, सार्वजानिक खरिद ऐन, ठेकेदार तथा व्यापारीहरुको गलत नियत, स्थानीय र उपभोक्ताको असहयोग, अख्तियारको त्रास, कमजोर सुशासन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्