पालिकापत्र,तिलोत्तमा । तिलोत्तमाको शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपाध्यक्षमा कांग्रेस संस्थापन पक्षका उम्मेदवारको लज्जास्पद हार भएको छ । जिल्ला सभापति एवं तिलोत्तमा नगर प्रमुख रामकृष्ण खांण,नगर सभापति हरिलाल पाण्डे सहित वडा नं १देखि ४ सम्मका वार्ड सभापतिको वैठकले आधिकारिक उम्मेदवार बनाएका विष्णु भण्डारीलाई संस्थापन इतरका उम्मेदवार केशवप्रसाद शर्मा तिवारीले पराजित गरेका हुन् । पार्टी संस्थापनले पुराना र योग्य उम्मेदवार चयन नगरी गुटका आधारमा नयां मान्छेलाई उम्मेदवार बनाएको भन्दै पार्टीभित्रै असन्तुष्टी भएपछि संस्थापन इतरबाट तिवारीलाई उम्मेदवार बनाइइएको थियो ।
शनिबार सम्पन्न उपनिर्वाचनमा विष्णु भण्डारीलाई २२ मत अन्तरले पराजित गर्दै तिवारी उपाध्यक्षमा निर्वाचित भएका हुन् । खानेपानी संस्थाका १०१ जना मतादातामध्ये ९७ मत खसेकोमा तिवारीले ५९ मत प्राप्त गरेका छन् भने भण्डारीले ३७ मत पाएका छन् । एक मत बदर भएको थियो ।
तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति पार्टी बीचको सहमतिअनुसार संस्थाको अधिवेशनमा उपाध्यक्ष पद कांग्रेसको भागमा परेको थियो । स्थानीय निर्वाचनमा संस्थाका उपाध्यक्ष डिलबहादुर भट्टराईले पदबाट राजीनामा दिई तिलोत्तमा–२ को अध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्ष पद रिक्त भएको थियो ।
रिक्त उपाध्यक्ष पद नेपाली काँग्रेसको भागमा परेको भन्दै नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले उक्त पदमा पार्टीको आधिकारिक उम्मेदवार विष्णु भण्डारीलाई अगाडि सारेको थियो । पार्टीले गरेको सिफारिस र निर्णय प्रक्रिया प्रति असहमति जनाउदै काँग्रेसकै तर्फबाट संस्थामा सल्लाहाकार रहेका तिवारीले पदबाट राजीनामा दिई सोही पदमा उम्मेदवारी दर्ता गराएपछि उपाध्यक्ष चयनका लागि निर्वाचन भएको हो ।
नेपाली काँग्रेसले सिफारिस गरेका आधिकारिक उम्मेदवार भण्डारीको पक्षमा सहमति जुटाउन र निर्वाचन प्रक्रियामा नजान अन्तिम समयसम्म प्रयास गरेपनि प्रयास सफल हुन नसकेपछि भएको उप निर्वाचनमा आधिकारिक उम्मेदवार भण्डारीलाई पराजित गरी तिवारी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
उप निर्वाचनका लागि संस्थाका सल्लाहकारहरु हरिप्रसाद तिवारी संयोजक तथा कमलप्रसाद पौडेल र बेलप्रसाद शर्मा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नव निर्वाचित उपाध्यक्ष तिवारीलाई शनिबार नै निर्वाचन संयोजक तिवारीले पद तथा गोपनियतताको सपथ ग्रहण र संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले पदवहाली गराएका थिए ।
निर्वाचन जितेका तिवारीलाई संस्थापन पक्षका केही नेताले कारवाही गर्नुपर्छ भन्ने आवाज उठाएपनि त्यो सम्भव नहुने संस्थापन इतरका एक नेताले बताए ।