पालिकापत्र,काठमाडौं । निर्वाचनको मुखमा जसपा, लोसपा लगायतका मधेशवादी दलका सांसद र नेताहरु एकपछि अर्को गर्दै एमाले प्रवेश गर्ने लहर चलेको छ । त्यसो र कांग्रेस र माओवादीका नेताहरु समेत एमाले प्रवेश गरिरहेका छन् । हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य सांसद उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरि उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका बताए ।
कांग्रेसबाट राजनीति सुरु गरेका अरगरिया मधेश आन्दोलनपछि मधेश राजनीतिमा प्रवेश गरेका थिए । तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर उनी मधेसको राजनीतिमा सक्रिय भएका थिए ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि अरगरिया पनि सो पार्टी छाडेका थिए । गच्छदार काँग्रेससँग एकीकरण गरेपछि उनी पुनः उपेन्द्र यादवको नेतृत्व फोरममा प्रवेश गरेका थिए ।
२०७४ को प्रतिनिधिसभामा निर्वाचनमा धनुषा–२ बाट चुनाव जितेका अरगरिया जसपा विभाजन हुँदा महन्थ ठाकुरलाई साथ दिएका थिए । महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी कार्यकारिणी सदस्य तथा संसदीय दलको प्रमुख सचेतक रहेका थिए । ओली नेतृत्वको तत्कालिन सरकारमा जसपाको महन्थ ठाकुर पक्षका १० जना मन्त्री बनेका थिए, त्यसमध्ये एक अरगरिया पनि थिए ।
पछिल्लो समय लोसपाको संगठन निर्माण र सो पार्टीको गतिविधिप्रति उनी असन्तुष्ट रहेका थिए । मधेशवादी दलहरुमा क्षेत्रीय संकिर्णता, परिवारवाद र जातीयता हावी भएकाले एमाले प्रवेश गर्न लागेको बताए । आगामी चुनावका लागि महन्थ ठाकुरले आफ्ना सम्धी–सम्धिनी, अनिल झाले आफ्नो छोरा, राजेन्द्र महतोले आफ्नो ज्वाई, शरतसिंह भण्डारीले निर्जला राउतको नाम सिफारिस गरेकाले नातावादले जेलिएको पार्टीमा बस्न उचित नलागेर एमाले प्रवेश गर्न लागेको बताए ।