पालिकापत्र,बुटवल । देवदह नगरपालिकाले १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पुर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो । नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । नगर अस्पतालको सोमबार नगर प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन गर्दै नगर प्रमुख खरेलले चुनावी प्रतिवद्धता अनुसार आफूले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेकाले अघिल्लो सरकारले घोषणा गरेको ‘एक पालिका एक अस्पताल’ कार्यक्रमलाई छिटो कार्यान्वयनमा ल्याएको बताए । सबै नगरवासीलाई आधारभुत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउन ५ वर्षभित्र सबै नगरवासीको स्वास्थ्य वीमा गरी पूर्ण स्वास्थ्य वीमायुक्त नगर घोषणा गर्ने योजना रहेको उनले बताए । स्वास्थ्य वीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको वजेटबाट नि:शुल्क गर्ने नगर प्रमुखले घोषणा गरे । नगर प्रमुख खरेलले स्वास्थ्यसंगै शिक्षा,पुर्वाधार र रोजगारीलाई पनि प्राथमिकतामा राखेको बताउंदै नगरलाई प्रविधिमैत्री पनि बनाउने बताए ।
स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख गौरव ढकालले देवदह नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाका १६ पालिकामध्ये तेस्रो स्थानमा रहेको बताउँदै नगर अस्पताल सञ्चालन सँगै स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे । स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने र यसले ठूला अस्पतालमा वीमा सेवाका लागि हुने चाप घट्ने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले संविधानले स्वास्थ्य उपचारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले नगर अस्पतालले त्यसको प्रत्याभूति दिने बताए । नगर अस्पतालमा हाल एकजना मेडिकल अधिकृत,५ जना नर्स,५ जना प्यारामेडिक्स,२ जना ल्याब टेक्निसियनले सेवा दिने छन् भने निकट भविष्यमै एकजना मेडिकल अधिकृत थप गरिने अस्पतालका प्रमुख डा. डिल्लेश्वर श्रेष्ठले बताए । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा,प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध हुने श्रेष्ठले बताए ।
कार्यक्रममा देवदह स्वास्थ्य चौकीका पुर्व प्रमुख जयकिसन अधिकारी,एमाले देवदह नगर कार्यवाहक अध्यक्ष हिरा थापा,कांग्रेस देवदह नगर सभापति गुणाखर भुर्तेल, माओवादी केन्द्रका देवदह अध्यक्ष गोविन्द बहादुर ठडराई, वडा नम्बर ५ का पुर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, एमालेका नेता ऋषिराम सापकोटा, देवदह मेडिकल कलेजका गोपाल प्रसाद पोख्रेल, श्रीकृष्ण पोलिक्लिनिकका सञ्चालक कृष्ण गैरे, नेकपा एकीकृत समाजवादीका देवदह अध्यक्ष डिल्लीराम सापकोटा, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग,स्वास्थ्य शाखा प्रमुख काशीनाथ वञ्जाडे लगायतले नगर अस्पातालले दिने सेवा गुणस्तरीय र विरामीमैत्री हुनुपर्नेमा जोड दिए । उक्त अवसरमा देवदह स्वास्थ्य चौकीका पुर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, पुर्व सदस्य दुर्गादत्त शर्मा र विष्णु पाण्डेलाई सम्मान गरिएको थियो । अस्पताल उद्घाटनको अवसर देवदह प्रेस क्लबको आयोजनामा रक्तदान कार्यक्रम मार्फत ६३ प्वाइन्ट रगत संकलन भएको देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए ।