पालिकापत्र, बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा आगामी पौष ७ देखि बुटवलमा संचालन गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको क्रममा मंगलवार मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा वर्तमान असहज अवस्थामा आयोजना हुन लागेको प्रदर्शनीको तयारीमा कुनै कमी हुन नदिन सुझाव राख्दै स्वदेशी उत्पादन र प्रविधिलाई विशेष महत्व दिन सहभागीहरुले सुझाव दिएका छन् । बैठकमा स्वदेशी उत्पादन, गुणस्तरीय वस्तु, सरसफाई, पार्किङ्ग, सजावट लगायतका विषयमा विशेष ध्यान दिन र नयाँपन समेत हुनुपर्नेमा जोड दिइएको थियो ।
बुटवल मण्डपमा बसेको बैठकमा मूल समितिका संयोजक माधव प्रसाद पौडेलले हाल सम्म भए गरेका तयारीका बारेमा जानकारी गराउँदै प्रदर्शनीलाई व्यवस्थित रुपमा आयोजना गर्न सबैले महत्वपूर्ण भूमिका र सुझावका लागि अनुरोध गरेका थिए । उनले बैठकमा प्रदर्शनीमा समावेश गरिएका कार्यक्रमसँगै आकर्षणहरु र प्राथमिकता बिषयमा प्रकाश पार्नु हुँदै सबै क्षेत्रबाट सल्लाह र सुझावको अपेक्षा लिएको बताए ।
अध्यक्ष पौडेलले प्रदर्शनी केन्द्रको आधुनिक भौतिक संरचनाको काम पुरा नभएका कारण काममा केही असहजता भोग्नु परेको भए पनि संघका विगतका आयोजना भन्दा भिन्न र व्यवस्थित बनाउने कुरामा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।
बैठकमा लुम्विनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एवं रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले बुटवलमा आयोजना हुने प्रदर्शनीले राष्ट्रीय रुपमा नै सन्देश दिने हुँदा त्यसमा गम्भिर बनेर हाम्रा मुल्य र मान्यतालाई बचाउँदै आयोजना सफल पार्न सुझाव दिए ।
संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले देशमा देखा परेको आर्थिक संकटका कारण प्रदर्शनी आयोजना गर्नका लागि धेरै नै गाह्रो भएको उल्लेख गर्दै प्रदर्शनीलाई भव्य रुपमा सम्पन्न गर्न सबैले जिम्मेवार भएर काम गर्न आग्रह गरे । वैठकमा संघका पूर्व अध्यक्षहरु डम्बरदेव अर्याल, महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, गणेशप्रसाद अधिकारी, सल्लाहाकारहरु डा.खगराज शर्मा, यमलाल खनाल, पूर्व महिला सचिव माया खनाल, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष जीवकान्त काफ्ले लगायतले तयारीका बारेमा आफ्ना भनाईहरु राखेका महासचिव हरि बहादुर खत्रीले जानकारी दिए । प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीका अनुसार प्रदर्शनी सम्पन्न गर्न ५१ सदस्यीय विषेश सल्लाहाकार समिति, १०१ सदस्यीय मूल समिति तथा २५१ सदस्यीय सल्लाहाकार समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ । संघले राजधानी काठमाडौ बाहिर प्रथम पटक वि।सं।२०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो भने २०५३ सालबाट निरन्तर आयोजना गर्दै आएको छ । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मुल नाराका आयोजित प्रदर्शनीको सहआयोजकमा नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघ रहेका छन् ।