बुटवल कालिका क्याम्पस ९ वर्षमै उत्कृष्ट , सञ्चालकको जग्गा धितो राखेर पुर्वाधार निर्माण

सांसद पौडेलले कालिका क्याम्पसका विद्यार्थीहरु भविष्यमा देशको विभिन्न निकायमा उच्च तहमा पुग्न सक्ने क्षमताका भएको उल्लेख गर्दै यस्ता उत्कृष्ट विद्यार्थीहरुबाट आफूले सुझाव सल्लाह चाहेको भन्दै इमेल ठेगाना र मोबाइल नम्बर दिए । पुर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले विद्यार्थीहरु संगै खाना खाएर आत्मीयता साटासाट समेत गरे ।


appharu

२३ मंसिर २०७९, शुक्रबार १६:०२ मा प्रकाशित

पालिकापत्र,बुटवल । ‘जहां इच्छा त्यहां उपाय’ वा ‘खाने मुखलाई जुंगाले छेक्दैन’ । नेपाली समाजमा प्रचलित यस्तै उखान व्यवहारमा प्रमाणित गरेको छ बुटवल कालिका क्याम्पसले ।

२०७० सालसम्म कक्षा १२ उत्तिर्ण गरेपछि बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च शिक्षा कहां पढ्ने भन्ने पिरलो हुन्थ्यो । किनकि कालिका देशकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय थियो । जहां ८ हजार बढी विद्यार्थी पढ्छन् ।

कालिकाबाट १२ कक्षा उत्तिर्ण विद्यार्थीहरु उच्च शिक्षा पनि कालिकामै भइदिए हुन्थ्यो भन्ने आशा राख्थे । तिनै मध्येकी एक विवाहित छात्रा प्रतिमा बस्यालले एक दिन कालिकाका प्राचार्य घनश्याम पाठकसंग भनिन्–‘हामीलाई कालिका छाड्दा माइती घर छाडे जस्तै हुन्छ,कालिकाले बीबीएसको पढाई पनि शुरु गर्नुप¥यो ।’

प्रतिमाको यो आग्रहले घनश्यामको मन छोयो र लगत्तै उच्च शिक्षाका कक्षाहरु शुरु गर्ने पहल थाले । विद्यार्थीको चाहनालाई मध्यनजर गरेर २०७० मा कालिका माविका शिक्षक र शिक्षाप्रेमीहरुकै अग्रसरतामा बुटवल कालिका क्याम्पस स्थापना भयो ।

बुटवल कालिका क्याम्पस स्थापना भएपछि प्रतिमाले केही त्यहींबाट बीबीएस पूरा गरिन् । शुरुमा ३५ जना विद्यार्थीबाट बीबीएस पढाई हुने क्याम्पसमा नयां नयां विषयको पनि माग हुन थाल्यो । फलस्वरुप २०७५ मा ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए) को पढाई शुरु भयो ।
विद्यालयको जस्तै चुस्त व्यवस्थापन, दक्ष शिक्षकबाट प्रयोगात्मक र विद्यार्थी केन्द्रीत सिकाई पद्दतिले बीसीएतर्फ क्याम्पसले पहिलो ब्याचमै शतप्रतिशत (३५ जना) विद्यार्थी उत्तिर्ण गराउंदै नेपाल प्रथम भयो ।

उत्कृष्ट नतिजा देखेपछि क्याम्पसमा रुपन्देही मात्र होइन लुम्बिनी र छिमेकी प्रदेशका जिल्लाबाट समेत विद्यार्थीहरुको आकर्षण र चाप बढ्न थाल्यो ।
२०७७ सम्म विद्यालयकै कक्षा कोठा भाडामा लिएर चल्दै आएको क्याम्पसलाई आफ्नै जग्गामा पुर्वाधारको अभाव खड्कियो ।
जग्गा र पुर्वाधार कसरी बनाउने भन्ने पिरलोमा रहेको क्याम्पसका लागि रुपन्देही २ का सांसद एवं तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बुटवल रामनगरमा १० कठ्ठा सार्वजनिक जग्गा प्राप्तिमा सहयोग गरे ।

‘जग्गा प्राप्तिमा पुर्व अर्थमन्त्री विष्णु पौडेलको ठूलो सपोर्ट भयो’–बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले भने–‘जग्गा प्राप्तिपछि भवन निर्माणका लागि पनि पौडेलले ६ करोड रुपैयां वजेट दिएपछि क्याम्पसको आफ्नै भवन बनाउन सहज भयो ।’
सरकारबाट आएको वजेट मात्र पुर्वाधार बनाउन पर्याप्त थिएन । त्यसैले क्याम्पस प्रमुख सहित सञ्चालक समितिमा रहेका पदाधिकारीको जग्गा बैंकमा धितो राखेर २ करोड कर्जा लिएर भवनलाई पूर्णता दिएको क्याम्पस सञ्चालक समिति अध्यक्ष अर्जुनमान सैंजूले बताए । ‘आफैबाट शुरु नगरी अरुलाई सहयोग माग्न मिलेन, त्यसैले क्याम्पस प्रमुख र सञ्चालक समेतको जग्गा धितो राखेर २ करोड कर्जा लिएर भवन बनाउन थालेका थियौं’–सैंजूले भने–‘हाम्रो लगाव देखेर सरकारी निकायबाट पनि सहयोग पाउन सजिलो भयो ।’
हालसम्म १५ करोड बढी लगानी भइसकेको बुटवल कालिका क्याम्पसमा ५२ वटा कक्षा कोठा, ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र क्यान्टिन सहितका पुर्वाधारहरु बनेका छन् । भौतिक पुर्वाधार वाहेक क्याम्पसमा ८२ लाखका फर्निचर,७३ लाखका कम्प्युटर र ल्याब,६५ लाखका २ विद्यार्थी बोक्ने बस तथा करिब २० लाख रुपैयांका पुस्तक र खेलकुद सामग्री रहेका क्याम्पसले जनाएको छ ।
बीसीएमा २०७५ र २०७९ गरी दुई पटक शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको क्याम्पसका छात्र मनिराज गौतमले २०७८ सालको बीसीएतर्फ ३.९५ जीपीए प्राप्त गरी नेपाल प्रथम भएका थिए । ‘९ वर्षको छोटो अवधिमा पुर्वाधार र गुणस्तरमा उत्कृष्ट भई इतिहास रचेका छौं’–क्याम्पस प्रमुख पाठकले भने–‘जहां इच्छा त्यहां उपाय भन्ने भनाईलाई हामीले व्यवहारमा प्रमाणित गरेका छौं ।’
कालिका क्याम्पस खुलेपछि बुटवल वहुमुखी क्याम्पसमा विद्यार्थी आउंदैनन् भनेर मुद्दा हालेर रोक्ने प्रयास पनि भएको तर विद्यार्थी र अभिभावकको साथले त्यो प्रयास असफल भएको थियो ।

मासिक शुल्क १२ सय मात्र भएकाले क्याम्पसमा विद्यार्थीको चाप माग भन्दा बढी छ । बीसीएसको ३५ सिटका लागि ३०० जनासम्मले आवेदन दिने गरेका बीसीए कोअर्डिनेटर आशिष न्यौपाने बताउंछन् ।

भौतिक पुर्वाधार पर्याप्त भइसकेपछि अब क्याम्पस विश्व विद्यालय अनुदान आयोग अन्तर्गतको क्युएए प्राप्ति प्रकृया पुरा गर्ने क्रममा रहेको र छिटै बीएसस्सी अन्तर्गत सीएसआईटी, बीबीए र एमबीएस पनि पढाउने तयारी गरेको क्याम्पस प्रमुख पाठकले बताए ।

हामी कान्छो सामुदायिक क्याम्पस हौं,तर धेरै पुरानालाई पछि पार्दै गुणस्तरीय शिक्षामा कायापलट गर्न सफल भएका छौं’–पाठकले भने –‘कमाण्ड,कन्ट्रोल र कम्युनिकेसन (थ्रीसी) को फर्मुलाबाट अघि बढेकाले हाम्रा विद्यार्थी अनुशासित र ९५ प्रतिशत रोजगार छन् ।’
क्याम्पसमा ५ करोड लागतमा प्रदेशस्तरको लाइब्रेरी र रिसर्च सेन्टर पनि बन्दै छ । यो सञ्चालनमा आएपछि अध्ययनकर्ता र शोधकर्ताहरु काठमाडौं धाउनुपर्ने वाध्यताको अन्त्य हुने छ । ३५ जना विद्यार्थीबाट शुरु भएकोमा अहिले क्याम्पसमा २९सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको छ’–पुर्व अर्थमन्त्री विष्णु पौडेलले भने–‘सरकारी र सामुदायिक क्याम्पसमा विद्यार्थी आकर्षण घटेका बेला बुटवल कालिकाबाट अरु सरकारी र सामुदायिक क्याम्पसले सिक्न जरुरी छ ।’

पौडेलले कालिका क्याम्पसका विद्यार्थीहरु भविष्यमा देशको विभिन्न निकायमा उच्च तहमा पुग्न सक्ने क्षमताका भएको उल्लेख गरे । उनले विद्यार्थीहरुबाट आफूले सुझाव सल्लाह चाहेको भन्दै इमेल ठेगाना र मोबाइल नम्बर दिए । पुर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले विद्यार्थीहरु संगै खाना खाएर आत्मीयता साटासाट समेत गरे ।

सामुदायिक भएकाले क्याम्पसको नियमित आयस्रोत नहुनु चुनौति रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष सैंजुले बताए । क्याम्पसमा बीबीएस र बीसीएतर्फ ५० जना र बीएडतर्फ १३ जना गरी ६३ जना प्राध्यापक र १२ जना अन्यसहित ७५ जना कर्मचारी रहेका छन् ।
कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले निजी र सरकारी शिक्षा प्रणालीलाई एउटै र समान बनाउनुपर्ने र माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश सरकारलाई पनि हुनुपर्ने अन्यथा गुणस्तर माथि उठ्न नसक्ने बताए । उनले शिक्षालाई रोजगार र कृषि तथा उत्पादनसंग जोड्नुपर्ने बताए । वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्