रुपन्देहीमा यसरी मनाइंदैछ तमु ल्होसार


appharu

५ पुष २०७९, मंगलवार ११:०८ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देहीका गुरुङ समुदायले आफ्नो मुख्य पर्व ल्होसार साताव्यापी कार्यक्रमसहित मनाउंदै छन् । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग (वर्ष) फेरिने भएकाले ल्होसारलाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउँछन् । रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११देखि १५सम्म विभिन्न रचनात्मक र सामाजिक काम गरेर ल्होसार मनाउन लागेको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पुस ११ गते रुपन्देहीका ६ वटा नगर तथा ३१ वटा इकाईमा सरसफाई, पुस १२ गते रक्तदान,१३ गते बुटवलको देविनगरमा अपांग आश्रममा दान, १४ गते बुटवलमै वृहत झांकीसहित नृत्य प्रतियोगिता र १५ गते बुटवलमै वृहत समारोह गरी ल्होसार मनाउने कार्यक्रम तय भएको गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला तमुले जानकारी गराइन् । पुस १५ देखि गुरुङहरुको नयां वर्ष २६०६ शुरु हुने भन्दै उनले यो वर्ष बाघ वर्गको विदाई गरी बिरालो वर्गको स्वागत गर्दै ल्होसार मनाइने जानकारी दिइन् । ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्व भएको र यसले समुदायलाई एकतावद्ध बनाउने उनको भनाई छ । पत्रकार सम्मेलनमा गुरुङ अगुवाहरु झमबहादुर गुरुङ,बालनरसिंह गुरुङ,ओमप्रकाश गुरुङले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएपनि व्यवहारमा आदिवासी जनजाति र गैर हिन्दु समुदायका चाड पर्वलाई सरकारले समान व्यवहार गर्न चुकेको धारणा राखे । रुपन्देहीमा करिब ५० हजार र देशभर ८ लाख गुरुङ समुदाय रहेको अनुमान छ ।

के हो ल्होसार कसरी मनाइन्छ ?

ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ‘ल्हो’ले वर्ग अथवा वर्ष र ‘सार/छार’ले नयाँ हो । गुरुङहरूले विगत २६०५ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको दाबी त गर्छन्, तर कहिलेदेखि यो पर्व मनाउन थालियो भन्ने यकिन इतिहास छैन । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग/वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपंक्षीका नाममा राखिएको हुन्छ । हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । यो चिनियाँ पात्रोमा आधारित हुन्छ । यसपालि ‘हि ल्हो’ अर्थात् बिरालो वर्गको स्वागत र तो ल्हो अर्थात बाघ वर्गको विदाई परेको छ । गुरुङको हरेक शुभ/अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ । पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हँुदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेका हुन् । नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । कृषि बाली स्याहार्ने पर्वलाई ल्होसार पर्वमा रूपान्तरण गरियो, जसलाई तोला ल्होसार भनिन्छ । अहिले गुरुङले आफूले मनाउँदै आएको ल्होसारलाई तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । यो नामाकरण उनीहरूले गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ । ल्होसार कृषिसँग सम्बन्धित छ । तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर बुद्ध धर्म प्रवेश हुनुअगाडि भिन्न रूपमा ल्होसार मनाउने गरेको इतिहास पाइन्छ । तिब्बतमा किसानहरूले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व (हार्भेस्ट फेस्टिभल) मनाउने गर्थे । पछि त्यही पर्वलाई ल्होसारमा रूपान्तरण गरियो । त्यस सन्दर्भमा यो पर्व किसानको पर्व हो, जसलाई तोला ल्होसार भनिन्छ । आजसम्म प्राप्त ऐतिहासिक स्रोत अनुसार, नेपालमा गुरुङको आगमन चीनबाट तिब्बत हँुदै ईसाको पहिलो शताब्दीतिर भएको देखिन्छ । त्यतिबेला गुरुङहरू बोन धर्ममार्गी अर्थात् प्रकृतिपूजक थिए । त्यतिबेलैदेखि गुरुङहरूले पनि ल्होसार मनाउँदै आइरहेका थिए भन्ने अनुमान गरिन्छ । फरक–फरक समुदायले मनाउने ल्होसारको नाम पनि फरक–फरक छन् । गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । तर, अहिले गुरुङले तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । यो नामाकरणबाट उनीहरूले यस पर्वलाई गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा लगायत हिमाली समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ। ल्होसार पर्वलाई कृषि र पशुपालनसँग जोडेर हेर्ने हो भने यसको निकै महत्व छ । पहिले–पहिले गुरुङहरू वनमा सिकार खेल्थे । प्राकृतिक स्रोतमा आफ्नो जीविका निर्वाह गर्थे । बिस्तारै खेतीपातीसँगै पशुपालन तथा अन्य व्यवसाय सुरु भयो । मानिस वर्षभरि काममा व्यस्त हुने र कृषि याममा समय नहुने हँुदा हिउँदको फुर्सदमा दाजुभाइ, छोरीचेली, इष्टमित्र, छरछिमेकी, साथीभाइ सबै एकै ठाउँमा भेला भएर खाने, बस्ने र रमाइलो गर्न थालेपछि यो पर्वले व्यापकता पाउन थालेको हो । यस पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ । दु:ख–सुखका कुरा एक–अर्कामा बाँड्छन् । समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ । गाउँघरमा यही मौका पारेर मेला लाग्छ । मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुसबाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ । यो पर्वमा विशेष कर्मकाण्ड केही हुँदैन । बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखो भएर कुलदेवता (पितृपूजा) गरिन्छ । मिष्ठान्न भोजन बनाएर पितृलाई चढाइन्छ । घर सरसफाइदेखि ध्वजा (लोंदर) फेर्ने काम हुन्छ । यी कुराले पनि गुरुङको नयाँ वर्ष आएको रहेछ भन्ने देखाउँछ । दिउँसो भने आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ । खानामा विशेषत: गुरुङहरूको सेलरोटी नै हो । यसबाहेक अहिले चिसो मौसम भएकाले मौसमअनुकूल न्यानो हुने झोलिलो पदार्थ, कन्दमूल–तरुल, पिँडालु, सखरखण्ड, मासुका परिकार लगायत पौष्टिक आहार खाने चलन छ । तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ । यसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ । त्यसकारण यस पर्वलाई उनीहरूको पहिचानको मूल कडीका रूपमा लिइएको छ । सबैका पर्व–संस्कृतिले आ–आफ्नो संस्कृति भल्काएजस्तै, यस पर्वमा गुरुङको आफ्नो सांस्कृतिक भेषवूशा, खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ । यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ । यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ । गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ। यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन् । गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो । यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ । पहिले यो पर्व परिवार र समुदायमा मात्र सीमित थियो । ग्रामीण समाजका गुरुङ परिवार र समुदायमा सीमित यो पर्व बसाइसराइँ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय बनेको छ । यसलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन् । गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित यसलाई सामूहिक, संगठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रूपमा मनाउने अभ्यास सुरु भइसकेको छ । यो पर्व गुरुङको संस्कृति, सभ्यता र समग्र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भए पनि पछिल्लो समय यसलाई मनाउने तौर–तरिका केही खर्चिलो र भड्किलो भएको आलोचना हुन थालेको छ। यस्ता आलोचनालाई सकारात्मक रूपमा लिएर अब उप्रान्त ल्होसार पर्व कसरी मनाउने भन्नेबारे गुरुङ समुदायले पुनर्विचार गर्न आवश्यक छ।

Enter

You sent

प्रतिक्रिया दिनुहोस्