भन्सार छली ल्याइएको १५ लाख ८५ हजार मूल्य बराबरको चिनी बरामद


पालिका पत्र

१३ बैशाख २०८०, बुधबार १८:३९ मा प्रकाशित

सुनवल, १३ बैशाख ।

पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याएको २१ हजार किलोग्राम चिनी सहित ना ६ ख २९०३ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारोबारमा संलग्न भएको आशंकमा सिराहा धनगढीमाई–१० बस्ने ट्रक चालक वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए । १५ लाख ८५ हजार मूल्य बराबर उक्त चिनी आवश्यक कारवाहीका लागि राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्