कपिलवस्तु १५ जेठ । कपिलवस्तुमा एकसय बढि मिटरब्याजी बिरुद्ध उजुरी परेका छन् । तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज विरुद्ध सय बढि उजुरी परेका हुन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय २० जनाले उजुरी दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ १४ गते सम्ममा एक सय २० मिटरब्याजी पीडितले उजुरी दिएका छन् । प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध सम्भब भएसम्म आ–आफ्ना बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकोमा समयसीमा भित्र उनीहरुको उजुरी दर्ता भएको प्रजिअ आचार्यले जानकारी दिए । ‘मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्’, उनले भने ।
उजुरी दर्ता गर्ने समय यही जेठ १४ गते सम्म तोकिएको थियो । प्राप्त निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षबीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
उजुरी दर्ता अवधि सकिएपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुको मुद्दा दर्ता शाखाका नासु जनकराज जोशीले बताए । यसैबीच, अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष विशेष अदालतका पूर्व न्यायाधीश गौरी बहादुर कार्की र सदस्यद्वयमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेश बहादुर अर्यालको उपस्थितिमा सर्वपक्षीय भेलाको आयोजना भई जिल्लामा मिटरब्याज पीडितका अवस्थाको बारेमा सुझाव समेत लिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले आयोग गठनअघि २० र गठनपछि सयवटा उजुरी दर्ता भएको बताए । उनले उजुरीको प्रमाणका आधारमा अध्ययन भई कारवाहीको प्रक्रियामा लैजाने समेत बताए । मिटर ब्याजबाट पीडित भएकाहरूलाई उजुरी दिन सहजताका लागि प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष समेत स्थापना गरिएको थियो ।