कृष्णनगरलाई ब्यापारिक हब बनाउँछौं : मेयर शाह


२२ जेष्ठ २०८०, सोमबार १९:२२ मा प्रकाशित

कपिलवस्तु, जेठ २२ । नेपालकै प्रमुख भन्सार अन्तर्गतको एउटा अभिन्न र महत्वपूर्ण नाका कृष्णनगर, जुन कपिलवस्तुकै प्रमुख ब्यापारिक नाका पनि हो । पूर्वपश्चिम लोकमार्गबाट मात्रै २० किलोमिटर दुरीमा कृष्णनगर अवस्थित छ । यस नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका, दक्षिण तथा पश्चिममा छिमेकी मित्रराष्ट्र भारत, उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका रहेका छन् ।

नगरपालिकाको नामाकरणको सन्दर्भमा, यस क्षेत्रमा झण्डे खाँ नामक व्यक्तिले बस्ती बसालेकोले उनकै नामबाट झण्डेनगर भनिन्थ्यो । कालान्तरमा झण्डेनगरको पूर्वी भागमा रहेको हालको कृष्णनगर क्षेत्रमा समाजसेवी गया प्रसाद शाहले आधुनिक ढंगले बस्तीको विकास तथा विस्तारमा नेतृत्वदायी भूमिका खेलेकोले उनकै परिवारका सदस्यको नाम कृष्ण रहेको र उनकै नामबाट नै त्यस बस्तीको नाम कृष्णनगर रहन गएको भन्ने मानिन्छ ।

तत्कालिन ३ वटा गा.वि.स. कृष्णनगर, शिवानगर र सिर्सिहवा गरि कृष्णनगर नगरपालिकाको स्थापना २०७० सालमा भएको थियो, पछि २०७४ सालमा आएर थप ७ वटा गा.वि.स.हरु भिल्मी, पुरुषोत्तमपुर, अजिगरा, बहादुरगंज, विद्यानगर, रामनगर र भगवानपुर सहित १० वटा गा.वि.स. मिलेर हालको कृष्णनगर नगरपालिका बनेको हो ।

२०७४ असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयरमा रजत प्रताप शाहले जीत दर्ता गरे । तत्कालिन संघीय समाजवादी फोरमबाट टिकट नपाएर स्वतन्त्र उम्मेद्धवार बनेका शाह विजयी भए । स्थानीय तहमा निर्वाचित भएपछि २०७६ चैत्र महिनामा शाह नेकपामा प्रवेश पनि गरेका थिए । शाह २०७८ माघमा नेपाली काँग्रेसमा प्रवेश गरेपछि उनले २०७९ वैशाख ३० गते दोस्रो स्थानीय तहको निर्वाचनमा पनि आफ्नो नाममा जीत हासिल गरे ।

दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई सकेर पनि बार्षिकी मनाउने तरखरमा स्थानीय तह छन् । स्थानीय सरकारबाट जनताले के कस्ता सुविधा पाए ? जनप्रतिनिधिले चुनाव ताका जनतासँग गरेका प्रतिबद्धता अहिले कुन कुन पूरा भए र के के पूरा हुने क्रममा छन् ? यी नै विषयमा रहेर कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहसँग पालिकापत्रकर्मी भुपाल थापाले गरेको कुराकानीको सम्पादित अंश :

-जनप्रतिनिधीका रुपमा दोस्रोपटक निर्वाचित भएर आएको यो एकबर्षे कार्यकालको उपलब्धि के के रहे ?
सर्वप्रथमतः नगरपालिकालाई पूर्ण सूचना प्रविधि मैत्री सहितको समृद्ध नगर बनाउन लागि परेका छौं । नगरभित्र आवश्यक पूर्वाधार तथा स्रोत सामग्रीको ब्यवस्थापन गरी जनमुखी र नागरिकमैत्री बनाउन सिंगो कार्यपालिका टिम लागेको छ । देशकै दोस्रो पुरानो शिवराज अस्पताल पनि यहि छ, यसको स्तरोन्नती तर्फ लागेको छु । नगरपालिकाको नगर योजनाबाट ३६ लाख अनुदानमा एक्स–रे मेसिन त्यहाँ जोडिएको छ ।

वडा नम्बर १, २, ४, ८ र ९ मा रहेका बहाल बिरौटी घर जग्गालाई लालपुर्जा बितरणका लागि समन्वय गरि लालपुर्जा प्राप्ती प्रक्रिया अगाडि बढाएको छु । सबै वडामा टोल बिकास संस्था गठन गरि सबै नगरवासीहरुलाई बिकासको पहुँचको सुनिश्चितताको पहल गरिएको छ ।

नगर सौन्दर्यकरण र नगर यातायात गुरुयोजना बनाएर यहाँको बिकास र समृद्धिका लागि पहल गर्ने कार्यमा हामी लागेका छौं । यहाँका मुख्य बाटो सडकहरु कालोपत्रे भएका छन् । जनताले देख्ने गरी परिणाममुखी कामको यात्रामा कृष्णनगर नगरपालिका अघि बढेको छ । हाम्रो कार्यकाल भित्र समृद्धिको यात्रामा हिँडिरहेको कृष्णनगर बनाउन हामीले नयाँ कामको प्रारम्भ गरेका छौं ।
-निर्वाचित भएपश्चात सेवा प्राप्तिमा जनता सन्तुष्ट छन् भन्ने आधारहरु के छन् ?
जनताले मलाई दोस्रो कार्यकालका लागि जिताएर पठाएका छन् । जनताको समस्या, गुनासो र पिरमर्का बुझेरै, समाधान गरेरै मलाई पुनः मत दिएर जिताएका हुन् । मुख्य बिश्वासको आधार नै यहि हो कि मैले पहिलो कार्यकालमा राम्रो काम गरेको थिए । अहिले पनि कृष्णनगरको प्रत्येक गाउँ–गाउँ र टोल–टोलमा काम भईरहेको छ । स्वास्थ्य चौकी निर्माण भइरहेका छन् । बिद्यालय निर्माण भइरहेका छन् । नाली निर्माण भइ ढलनिकास भइरहेको छ । बाटोघाटोहरु बनिरहेका छन् । कृष्णनगर बजारको सुन्दरीकरण भइरहेको छ । बहादुरगंज बजारको पनि सुन्दरीकरण भइरहेको छ । कृष्णनगर बजारमा पनि बाटो फराकिलो बनाउने काम भइरहेको छ, सुन्दरीकरण भइरहेको छ । समग्रमा कृष्णनगर नगरक्षेत्रको बिकासमा हामी लागिरहेका छौं ।

-नगरपालिकाका स्थानीय गौरवका आयोजना, योजनाहरु के छन् र योजनाहरुको अवस्था र उपलब्धि कस्तो छ ?
मुख्य रुपमा यहाँको बजार ब्यवस्थापन नै हो । गौरवको रुपमा यो बजार क्षेत्रलाई लिएका छौं । नगरले कृष्णनगर बजार सुन्दरीकरण र ब्यवस्थित गर्ने कार्यलाई गौरवको योजनाको रुपमा लिएको छ । प्रमुख भन्सार नाकाका रुपमा रहेको कृष्णनगर क्षेत्रको बाटो फराकिलो बनाउने देखि सडक लाईटिङ्गको ब्यवस्था पनि सम्पन्न गर्न थालिसकेका छौं । अन्य गौरवको योजनाहरुको काम पनि राम्र्रै भइरहेका छन् । भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्ण थियो, यात्रुहरूले दुख पाइरहेका थिए । वर्षाको बेला सडकमै पानी नाली बग्ने समस्या थियो । अहिले बजार क्षेत्र अन्तर्गत बैङ्क रोड, गल्ला मन्डी रोड, गोल घर सडक कालोपत्रे भएका छन् । मित्रराष्ट्रका अतिथि लगायत यात्रीहरुलाई सहज भएको छ ।

-आर्थिक बर्ष सकिन करिब एकमहिना बाँकी रहँदा नगरपालिकाको हालसम्मको पूँजीगत खर्चको अवस्था कस्तो छ ?
कृष्णनगरमा समग्र योजनाको काम अहिलेसम्म ६५ देखि ७० प्रतिशत सकेका छौं । नेपालको बिकासे मोडल अनुसार पनि हामीले पक्कै राम्रो गरेका छौं । संघ तथा प्रदेशको काम भन्दा स्थानीय सरकारले गरेको कामको प्रगति राम्रो छ । यो आर्थिक बर्षमा कुल बजेटको करिब आधा खर्च भइसकेको छ । पुँजिगत तर्फ ३५ प्रतिशत खर्च भएको छ । बजेट कटौती भएका कारण कतिपय योजना सम्पन्न हुन नसक्ने अवस्था छ । संघ सरकारले बजेट कटौती गर्दा मेरो दोस्रो कार्यकालको अग्निपरीक्षा अब सुरु हुने देखिएको छ । यस बर्ष बजेट अभावले सम्पन्न गर्न नसकिने योजनाहरुलाई अर्को आर्थिक बर्षमा प्राथमिकताको आधारमा समावेश गरि संचालन गर्ने तयारीमा छु ।

लक्षित समुदाय अन्तर्गतका कार्यक्रमको प्रभावकारिता के छ ? लक्षित समुदायको बिकासका लागि लक्षित समुदाय नै बञ्चित रहनुपरेको भन्ने गुनासो छ नि ?
हामीहरुको मुख्य उदेश्य नै आर्थिक समृद्धि हासिल गर्ने नै हो । सबै वडाहरुमा लक्षित समुदाय केन्द्रित रहेर नै बिभिन्न तालिम, आयमुलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । लक्षित समुदाय नै बञ्चित हुनु परेको भन्ने गुनासा आएका होलान्, त्यसबारे थप बुझ्ने प्रयास मेरो हुनेछ । भइरहेका कार्यक्रमको प्रभावकारिता अवश्य नै देखिएको छ ।

-चुनावको बेलामा जनताका सामु गरेका प्रतिबद्धताको अवस्था के कस्तो छ ?
चुनावका बोलेका सबै कुरा एकै पटक पूरा हुन्छन् भन्ने हुँदैन । तर, चुनावमा बोलेका कुरा पूरा गर्ने बाटोमा हिँडेका छौं कि छैनौं, त्यो महत्वपूर्ण कुरा हो । हामी राम्रो कामको निरन्तरतामा छौं । कृष्णनगरमा गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन पूर्वाधार विकास गर्ने, समयानुकूल शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन सबै क्षेत्रमा परिवर्तनको आयामको प्रतिबद्धता गरेका थियौं । त्यो प्रतिबद्धता अनुरूपकै बाटोमा हामी हिँडिरहेका छौं । हामीले चुनाव ताका गरेका प्रतिबद्धता पूरा गर्ने यात्रामा हिँडेका छौं । पाँच वर्षपछि हामीले बोलेका कुराहरू पूरा गरेको यहाँ जनताले देख्ने गरी परिणाम प्राप्त गर्ने गरी काम गर्न अगाडि बढेका छौं ।

-यहाँको शिक्षा, स्वास्थ्यको अवस्था सुधारोन्मुख देखिएको बताइए पनि सरकारको भूमिका बढाउन थप के गर्दै हुनुहुन्छ ?
जुन बिद्यालयमा डेढसय, दुइसय बिद्यार्थी हुन्थे, स्थानीय सरकार आएपछि अहिले त्यो बिद्यालयमा आठसय देखि हजार सम्म बिद्यार्थी संख्या बढेको छ । शिक्षाको गुणस्तर बिकासका लागि नियमित अनुगमन गरिरहेका छौं । शिक्षा समिति मार्फत नीतिमा रहेर काम गरिरहेका छौं । आयोगले पनि अहिले २६ जना शिक्षक पठाएको छ । यसबाट पनि शिक्षाको क्षेत्रमा राम्रो प्रभाव पर्ने नै छ । बिद्यालय भवन निर्माण, पुर्न:निर्माण, शैक्षिक सामग्री ब्यवस्थापन, शौचालय, फर्निचरको ब्यवस्था पनि गरिरहेका छौं । उच्च शिक्षा प्राप्ती रहोस् भन्ने उदेश्यले बहादुरगंज या कृष्णनगर या सौनहवामा क्याम्पस स्थापना गर्न लागिरहेका छौं । कन्या कलेज स्थापनाका लागि पनि पार्टीगत रुपमा केन्द्रमा पहल गरिरहेको छु ।

-कृष्णनगर नगर भित्रको बजार धराशयी बन्दै गएको भन्ने स्थानीय ब्यवसायीको गुनासो चर्को छ नि ?
सबैभन्दा राम्रो बिषय यहि हो, कृष्णनगरको ब्यवसाय । कृष्णनगर देशकै मुख्य भन्सार नाका हो । हालसम्म पनि यो नाकाबाट तेस्रोमुलुक भन्सार स्वीकृत नगरिनु दुखद पक्ष हो । संघ सरकारले यस्मा पहल गर्नुपर्छ । थर्डकन्ट्री कस्टम प्रणाली लागु गर्ने हो भने कृष्णनगरको ब्यवसाय र ब्यवसायीको अवस्थामा सुधार पक्कै हुन्छ । भारतीय ट्रेनको पहुँच नजिकै रहेकाले पनि यहाँ यस्को संभाब्यता राम्रो छ ।

-कृष्णनगरमा कर्मचारी ब्यवस्थापन किन प्रभावकारी रहेन होला ? कर्मचारी अभाव किन खड्कियो ?
कर्मचारी ब्यवस्थापनका लागि सम्बन्धित निकायले चाँसो दिनुपर्ने हो । हामीले दक्ष कर्मचारीको माग गरेका हौं, तत्काल कर्मचारी आएका छैनन् । यहाँ ६० प्रतिशत कर्मचारी अभाव अझै कायमै छ । कर्मचारीको ब्यवस्थापन हुने बित्तिकै पुनः सेवा प्रवाहमा थप सहजता हुनेछ । कर्मचारी अभाव रहँदा पनि योजना रोकिएका भने छैनन् । सबै नागरिकको समस्यालाई आफ्नै समस्या जस्तै हल गरिरहेको छु ।

-कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई असहयोग गरेका कुरा पनि सुनिन्छन् । अनि कतिपय ठाउँमा नियम बाहिरको काम गराउन जनप्रतिनिधिले दबाब दिएका कुरा पनि आइरहन्छन् नि !
हामी पाँच वर्षका लागि निर्वाचित भएर आएका हौं । कर्मचारी त लामो पेशागत अनुभव सँगालेर आउनुभएको हुन्छ । लामो भविष्य पनि हेर्नुभएको हुन्छ । कर्मचारी प्रक्रियाको वरिपरि घुम्न खोज्नुहुन्छ । तर, हामी परिणाम छिटो खोज्छौं । यही खालको अन्तरद्वन्द्व हुनसक्छ । यो अन्तरद्वन्द्वलाई हामीले हाम्रो पालिकामा प्रक्रिया पनि मिलाउने र परिणाम पनि निस्किने काम गर्नुपर्छ भन्ने कर्मचारी र हाम्रो बीचमा समझदारी रहेको छ । हाम्रो बीचमा त्यस्तो कुनै छैन, समय क्रममा त्यस्तो नहोला भन्न सकिन्न । समय अनुकूल समायोजन गरेर जानुपर्छ ।

-दोस्रो कार्यकाल सम्हालि रहँदा अवको ५ बर्ष भित्र तपाईंका प्राथमिकताभित्र के के पर्नेछन् ?
मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, पूर्वाधार विकास नै प्राथमिकता हुन् । यसभित्र पनि मुख्य विभिन्न आयामहरू हुन्छन् । ती आयामहरूलाई केलायो भने मात्रै विकासले प्राथमिकता पाउने हो । कृष्णनगरको समृद्धिले समग्र राष्ट्रको समृद्धिमा टेवा पुग्ने गरी जान सक्छौं या सक्दैनौं भन्ने विषय पहिला चाँसोको विषय रहेको छ । कृष्णनगरको भन्सार स्तरोन्नती, स्थानीय बजार प्रवद्र्धन, बसपार्क ब्यवस्थापन, शिवराज अस्पतालको स्तरोन्नती, उच्च शिक्षा हासिल गर्न क्याम्पस र कन्या कलेजको ब्यवस्था मेरा प्राथमिकता भित्र परेका छन् । क्रमशः हामीले यस्लाई सम्पन्न गर्नेतर्फ लाग्नेछौं ।

-महालेखाको प्रतिवेदनमा स्थानीय तहमा थुप्रै आर्थिक अनुशासनको प्रश्न पनि उठाएको छ नि ?
हामी जनतालाई छिटोभन्दा छिटो परिणाम निस्किने गरेर काम गर्न खोज्छौं । तर, प्रक्रियाले हामीलाई रोकिरहेको हुन्छ । त्यस्तो प्रक्रियाका उल्झनहरु तोडेर राजनीतिक नेतृत्वले निर्णय गर्छ । त्यो राजनीतिक निर्णयलाई महालेखापरीक्षक अथवा कुनै निकायले अनियमितता भयो भन्ने हुन्छ । तर, हामी त्यसमा आफ्नो व्यक्तिगत फाइदाका लागि, राजनीति पार्टीका फाइदाका लागि, कुनै अमुक समूह वा शक्तिका निम्ति होइन । समग्र पालिकाको हित र समृद्धिका लागि गर्ने काम यस्ता उल्झनहरु म धेरै प्राथमिकतामा राख्नुपर्छ भन्ने ठान्दिनँ ।

-अन्त्यमा, नगरवासीका लागि केहि सन्देश अथवा अपेक्षा छन् कि ?
मलाई कृष्णनगरवासीले मत दिएर दोस्रोपटक नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको म प्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन् । नगरपालिकाको सिंगो टिम अहोरात्र यहाँको बिकास र समस्या हलका लागि लागि पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्