कपिलवस्तुको निटिङ्ग निडल्स उद्योग : ८२ बढि मुलुकमा निर्यात, युरोप प्रमुख सेलिङ्ग हब


४ असार २०८०, सोमबार १३:४२ मा प्रकाशित

कपिलवस्तु, असार ४ । स्थानीय कामदारलाई पूर्ण रोजगारी प्रदान गर्ने उदेश्य सहित स्थापित निटिङ निडल्स उद्योगले नेपालको अर्थतन्त्रमा राम्रो प्रभाव पारेको छ । नेपाली कामदारको प्रयोग गर्दै बिशेषतः स्थानीय महिला कामदारहरुमा स्वाबलम्बी अभिवृद्धि गर्न यो उद्योग बिगत ६ बर्षदेखि सञ्चालनमा रहेको छ ।

स्वदेशमा स्थापना भएका उद्योगहरूमध्ये शत प्रतिशत निर्यात गर्ने उद्योग सायदै कम होलान्  । युरोप मुख्य सेलिङ्ग हब भएतापनि यस उद्योगबाट निर्मित सामग्रीहरु बिश्व बजारमा ८२ भन्दा बढि मुलुकमा निर्यात हुँदै आएको छ  । नेपाली समाजले पत्याउन गाह्रो हुने यो कुरा विशुद्ध सत्य चाँही यहि हो । यसरी शत प्रतिशत निर्यात गर्न सक्षम उद्योग इम्बार्क इन्टरनेशनल, जुन कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा सञ्चालित छ । उक्त उद्योगका सञ्चालक उद्योगी मिर्जा राशिद बेग हुन् । प्रस्तुत छ, युवा उद्योगी बेगसँग पालिकापत्रका लागि भुपाल थापाले गरेका कुराकानी :

निटिङ्ग निडल्स कस्तो उद्योग हो ? यस्तो किसिमको उद्योग सञ्चालन गर्ने सोँचाई तपाईमा कसरी आयो ?
निटिङ निडल्स जुनसुकै ठाँउमा अर्थात् बन्द कोठा भित्र, भान्सा, सवारी साधनमा, खुला पार्क, रेष्टुरेन्ट होटल लगायतका जुनसुकै स्थानमा सहजै यसको उपयोग गर्न सक्छौं । कपडादेखि अन्य बुन्ने, सिउने कामका लागि क्रुरुसको रुपमा यस्को प्रयोग हुने गर्छ । सर्वप्रथमतः सन् २००६ मा बैदेशिक रोजगारीका शिलशिलामा कतार पुगेँ  । मार्केटिङ्ग सेक्टरमा कतारमा ६÷७ महिना काम गरेपश्चात मलाई आफु कार्यरत कम्पनीले बैंकक पठायो । बैंकक पठाउने कुराले सुरुमा म अतालिए । पछि कतारमा सञ्चालित कम्पनीकै ब्रान्च अफिस बैंककमा खोल्नका लागि मलाई खटाइएको भन्ने थाहा पाएपछि भने नौलो अनुभव र प्रेरणाका रुपमा सिक्दै गए । बैंककमा ११ महिना काम गरेँ । कम्पनीले मुख्यतः स्र्पोर्टस सम्बन्धी सामग्रीको उत्पादन र बजारीकरण गर्ने गर्थ्यो ।
चीनको गोन्जाउमा मुख्य केन्द्र रहेको उक्त कम्पनीमा करिब ७ बर्ष मैले काम गरेँ । पछि सन् २०१४ मा मैले उक्त कम्पनीबाट राजीनामा दिँए । लगत्तै इम्बार्क ईन्टरनेशनल कम्पनीको स्थापना गरियो । चीन र हङकङलाई मुख्य केन्द्रमा राखेर उद्योग सञ्चालन गर्न थालियो । कम्पनीको मूख्य केन्द्र कृष्णनगरमै छ ।

यो निटिङ्ग निडल्स उद्योग नेपालको स्थानीय भाषामा क्रुरुस (कपडा बुन्ने सुइरो)को निर्माण र निर्यातसँग सम्बन्धित छ । देशबिदेशमा घुम्दा हेर्दा निक्कै सरल सामान्य लाग्ने तर निर्माणमा सबैको चाँसो कम पर्ने निटिङ्ग निडल्समा हामीले पनि यस्तो गर्न सक्छौं भन्ने मनोभावना बिकास भएकाले पनि यो उद्योग इम्बार्क इन्टरनेशनल स्थापना गरिएको हो । मातृभूमिको मायाले नेपालमा उद्योग स्थापना गरी केही योगदान गर्न सकिन्छ भनेर नेपालको उद्योग क्षेत्रमा लगानी गरेको हो । नेपाली उद्योगीभन्दा पहिला म चीनको व्यवसायी थिँए ।

इम्बार्क ईन्टरनेशनल कम्पनीले उत्पादन गरेका बस्तुको खपतको अवस्था के छ ? बजारको अवस्थाको बारे पनि प्रष्ट पार्दिनुहोस् ।
यस कम्पनीले उत्पादन गरेका निटिङ निडल्सहरुको खपत मुख्य रुपमा बिदेशमा हुने हुँदा सर्वप्रथमतः उत्पादित बस्तुको बजारीकरणलाई मध्यनजर गर्दै हामीले उत्पादन गर्ने गछौं । बाई प्लेन सामग्रीको एक्सर्पट हुने कारण पनि बजार मूल्य मंहगो भएको हो । यस कम्पनीबाट उत्पादित सामग्रीको मुख्य बजार युरोप र अमेरिका नै हो । युरोप हाम्रो मुख्य सेलिङ्ग हबको हो । नेपालमा हस्तकला बजारको अन्र्तराष्ट्रियकरणका लागि रिबेट नपाउने समस्याका कारण पनि यस्ता उद्योग सञ्चालनमा निकै ठुलो चुनौती देखिएको छ ।

उत्पादित सामग्री क्रुरुस सुइरोको मुख्य बजारका रुपमा युरोप र अमेरिका नै किन ? नेपाली बजार किन रोज्नु भएन ? नेपाली उपभोक्ता छैनन् र ?
नेपाली चलनमा भन्दा क्रुरुस सुइरो नै हो । विदेशीले पनि बुझ्ने हुँदा निटिङ निडल्स भन्छौँ । तपाईंले भनेजस्तै कपडा बनाउनको लागि हिजोका दिनमा हाम्रो समाजका केही पुरुषबाहेक महिलाहरूले कपडा बुन्ने गरेको सुइरो नै हो । मैले त्यही उत्पादन गरेको हुँ । जुन काठको हो, वातावरणमैत्री छ भने रकमको हिसाबले चाहिँ फलाम वा स्टिलको निडल्स भन्दा महँगो छ  । एक पटक उत्पादन गरेपछि २० वर्षसम्म ढुक्कका साथ प्रयोग गर्न सकिन्छ  । यस्को काम भनेको कपडा बुन्ने नै हो । युरोप र अमेरिकाको बजार नै किन भन्ने प्रश्नमा यो नेपाली बजारमा पाइने निडल भन्दा फरक छ  । नेपाली बजारमा रड वा स्टिलको निडल मात्र पाइन्छ  । अर्को कुरा भनेको फलामको निडलभन्दा काठको निडलको मूल्य बढी हुन्छ, जसले गर्दा नेपाली उपभोक्ताले प्रयोगमा ल्याउन अलि असहज जस्तो देखिन्छ  । तर, नेपाली बजारमा नल्याउने भने होइन, माग भएमा नेपाली बजारमा सहजै बिक्री वितरण गर्छु  ।

क्रुरुसको प्रयोग लामो समयसम्म गर्न सकिने रहेछ, यसको उत्पादन चाँही कसरी गर्नुहुन्छ ? उद्योग स्थापनाको लागि लगानी कति गर्नुभयो ?
लामो समयको प्रयोग मात्रै नभएर मेरो उत्पादन वातावरणमैत्री पनि छ  । काठको निडल्स हुँदा प्रयोग गर्नेलाई कुनै असर गर्दैन र अर्कोतर्फ भन्ने हो भने युरोप र अमेरिकाको बजार भनेको गुणस्तरीय बजार हो । त्यसैले मैले निडल्स निर्माण गर्दा गुणस्तरलाई विशेष जोड दिएको छु  । युरोप र अमेरिकाको बजार एसियाको बजारको गुणस्तरले चल्दैन । जसले गर्दा गुणस्तरमा ध्यान नदिँदा भोलिका दिनमा मलाई र मेरो कम्पनीलाई समस्या हुन सक्छ  । गुणस्तरीय उत्पादनको लागि मैले यसमा प्रयोग गर्ने कच्चापदार्थ उत्तरतर्फको छिमेकी मुलुक चीन र रसियाबाट ल्याउने गरेको छु  । यसको कच्चापर्दाथ भनेको काठ नै हो, जसको बारेमा कम्पनीको नीतिनियमका कारण अहिले सार्वजनिक गर्न सक्दिनँ ।

निडल्स निर्माणको लागि विशेष किसिमको काठ प्रयोग गुर्नपर्ने हुन्छ, जुन चीन र रसियामा पाउने हुँदा म त्यहाँबाट ल्याँउछु र त्यसको प्रयोग गरी निडल्स उत्पादन गर्छु । मैले पन्ध्रदेखि बीस करोड रूपैयाँ बराबरको बार्षिक टर्नओभर गर्दै आएको छु  । यस्को मुख्य सेलिङ्ग हबको रुपमा युरोप नै हो ।

चीनको उद्योगीका रुपमा स्थापित भइसक्दा पनि नेपालमै, त्यस्मा पनि आफ्नै ठाउँमै किन लगानी गर्ने सोँचाई कसरी आयो ?
बिदेशमा गरिने सेवा र मातृभूमिमा गर्ने सेवामा पक्कै भिन्नता छ नै । स्थानीय स्तरमै लगानी गरेर काम गर्दा कमसेकम आफ्नै दिदीबहिनीहरुले रोजगार पाउने वातावरण बनेर गएको छ । यहाँ गर्ने लगानीको विषयमा मेरो चाहना नै नेपालमा उद्योग स्थापना गर्नु थियो  । त्यसको लागि सम्भव भएसम्म लगानीका लागि जति रकम आफूले जोहो गर्न सक्छु ती सबै लगानी गर्ने योजना बुनेको थिएँ  । सोही योजना अनुरूप हाललाई भने एउटा उद्योग मात्र स्थापना गरेको छु, यसलाई वृद्धि गर्दै लैजाने मेरो सोँच रहेको छ  । निटिङ निडल्स उद्योग स्थापनाको लागि मैले झण्डै पाँँच करोड रूपैयाँ लगानी गरेको छु  । ठूलो जोखिम मोलेर लगानी गरेको हुँ  । सामान उत्पादन गरेर युरोप र अमेरिकाको बजारमा लानु थियो, त्यसैले जोखिम मोलेर नेपाल आएको हुँ । मेरो विचारमा म चीन लगायत अन्य मुलुकमा पनि सो उद्योग स्थापना गर्न सक्थेँ तर नेपालको मायाले आएको हुँ ।

विदेशमा उद्योग व्यवसायलाई नजिकबाट नियाल्नुभएको तपाईंले नेपालमा चाहिँ उद्योग स्थापनाको वातावरण कस्तो पाउनुभयो ? नेपालमा लगानी गर्न कतिको सहज छ ?
म चीनमा बसेको हुँदा नेपालको तुलनामा चीनमा उद्योग खोल्न सहज छ  । चीनको प्रसंग जोड्न चाँहे  । चीनमा आफ्नो नागरिक होस् वा विदेशी, उद्योग खोल्ने भनेपछि सम्पूर्ण सुविधाहरू सरकारले उपलब्ध गराँउछ  । जस्तै तपाईंको उद्योगलाई आवश्यक पर्ने सडक, बिजुली, पानी लगायतका भौतिक पूर्वाधार तथा उद्योग दर्ता सहज रूपमा हुन्छ  । अझै कतिपय अवस्थामा त बजार समेत देखाउने गरेको छ । तर, नेपालमा उद्योग दर्ता गर्न समेत सहज नभएको पाएँ  ।

उद्योग दर्ताकै लागि म विदेशबाट पटक–पटक नेपाल आउनुपर्यो र अन्त्यमा उद्योग विभागका महानिर्देशकसँग भेटेर आफ्नो उद्योगको बारेमा जानकारी गराएपछि मात्र उद्योग दर्ता भई स्थापनाको लागि म अघि बढेको हुँ । मलाई एकल बिन्दु सेवा केन्द्र अर्थात् एक ढोका सेवा व्यवस्थित नहुँदा समस्या भएको जस्तो लाग्छ  । यसरी उद्योग स्थापना गर्नलाई नै धेरै समय लाग्दा आएको लगानी समेत फर्किने सम्भावना देखिन्छ  । तर शतप्रतिशत बिदेश निर्यात हुने उद्योग सञ्चालन गर्न निक्कै कठिनाइ देखिएको छ । हस्तकला ब्यवसायलाई त झन् सरकारले बर्गीकरण नै नगर्दा स्थापनाकालमा बहुत झन्झट स्थिति पैदा भएको थियो ।

उद्योग दर्ता गर्दा निक्कै कठिनाई भोग्नुपरेकोे भन्नुभयो, अहिले उद्योग सञ्चालनको लागि कत्तिको सहजता पाउनु पाउनुभएको छ ?
उद्योग दर्ता गर्दा मैले धेरै असहजता पाएँ  । उद्योग सञ्चालनका लागि भौतिक पूर्वाधार उद्योग स्थापना गर्दा र उद्योग सञ्चालन पछि पनि पाउन सकिनँ । कच्ची सडकको प्रयोग गरी उद्योग स्थापना गरेको हाल निर्यात गर्दा पनि कच्ची सडक नै प्रयोग गरेको छु । यो सुखद पाटो पक्कै होइन्  । सरकारले उद्योगीलाई सहयोग गर्ने मुलुकमा आर्थिक विकास गर्ने भनेको छ तर यस्तो वातावरणमा त्यो सम्भव नहोला । यी समस्याले गर्दा विदेशमा रहेका नेपाली उद्योगीहरू नेपाल आउनलाई हिच्किचाउने गरेका छन् कि ।

मैले यहाँ उद्योग स्थापना गर्दा पक्की सडक थिएन, बिजुली, पानीलगायत वस्तुको सुविधा थिएन । मैले सम्बन्धित निकायमा आग्रह गर्दा उद्योगलाई आवश्यक पर्ने भौतिक पूर्वाधार प्राप्त गर्न सकिनँ । म आफैँ गएर बिजुलीको व्यवस्था गर्नुपर्यो । सहजै बिजुली ल्याउन सकिनँ, सम्बन्धित निकायबाट बिजुलीको ट्रान्सफर्मर आफैँ ल्याउनूँ भन्ने निर्देशन पाएँ । यस्ता किसिमका धेरै अप्ठ्यारा र असहज स्थितिमा मैले उद्योग स्थापना गरेको हुँ । त्यसैले मुलुकको औद्योगिक विकास गर्ने हो भने सम्बन्धित निकायमा रहेका जिम्मेवार व्यक्तिले आफ्नो काम गर्ने प्रवृत्ति सुधार गर्नु अत्यन्त आवश्यक छ । अझै शत प्रतिशत निर्यातजन्य उद्योगको हकमा सरकारले पूर्वाधार तथा दर्ता प्रक्रिया लगायत अन्य सुविधामा सहज वातावरण मिलाउन सके लगानीकर्ताको संख्यामा वृद्धि हुनसक्छ, यो मेरो सरकारलाई सुझाव पनि हो ।

शत प्रतिशत निर्यातजन्य उद्योगलाई सरकारले सहुलियत प्रदान गर्ने सरकारको नीति रहेको छ । तपाईंले राज्यबाट सहुलियत लिनुभएको छ ?
नेपालमा शतप्रतिशत निर्यातजन्य उद्योग दर्ता गराउन समेत गाह्रो रहेको मैले पाँए  । तत्कालिन उद्योग स्थापनाकालमा म उद्योग दर्ताका लागि विदेशबाट नेपाल पाँच पटक आउनु परेको थियो । मैले नेपालमा रहेका अधिकारीहरूलाई जिम्मेवारी दिँदा उद्योग दर्ता गराउन सकेनन् । म स्वयम् आएर उद्योग विभागका महानिर्देशकसँग भेटपछि मात्र काम अघि बढ्यो । सहुलियतको कुरा झन् असोचनीय बिषय लाग्यो मेरा लागि, अब तपाईं आफैंै भन्नुस् सहुलियत पाउन कति गाह्रो होला ? अर्को कुरा भनेको यस विषयमा मलाई थाहा पनि नभएको हुँदा मैले चासो पनि दिएको छैन ।

यहाँ उत्पादित सामग्रीको निर्यात तर्फको वातावरण चाहिँ कस्तो पाउनुभएको छ ? ब्यापार सहज लाग्या छ ?
सरकारले आर्थिक समृद्धि गर्ने, देशमा औद्योगिक विकास गर्ने भने पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको हो कि भन्ने मेरो बुझाइ छ । मुलुकको आर्थिक विकास गर्न चाहने सरकारले कार्यान्वयन तहको पुरानो शैलीमा काम गर्ने वातवरणलाई पूर्णरूपमा बदल्नु आवश्यक छ । सरकारले भाषणमा वा मिडियामा प्रचारबाजी गरे पनि काम गर्ने वा कार्यान्वयनको पाटोमा एक प्रतिशत पनि काम गर्न सकेको छैन । सामान्य सान्त्वना समेत पाउन गाह्रो छ  । निर्यातका लागि हवाइजहाजको प्रयोगको बिकल्प नै नहुँदा कमसेकम नेपालकै आन्तरिक पूर्वाधारका पक्षलाई बलियो र समयानुकुल बनाइदिए थौरै भएपनि सहजता आउनेछ ।

सरकारले भाषणमा जे जस्तो भनेता पनि सरकार उद्योगमैत्री, ब्यापारीमैत्री भने छैन् । सरकारले नयाँ उद्योग खोल्ने नयाँ विचार भएका युवा तथा कुनै पनि उमेरका मानिसहरूलाई साथ दिएको छैन भने हामी कसरी उद्योग स्थापना गर्ने त्यसको उत्पादन बढाउने, उद्योग बढाउने भनेर सोच्न सक्छौँ । विदेशी मुलुकमा हेर्नुहुन्छ भने सबैभन्दा पहिलो प्राथमिकता भनेको आफ्नो नागरिकलाई दिन्छ । उद्योगको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिदिन्छ । अझ निर्यातमा सहजीकरण समेत गरिदिन्छ तर नेपालमा निर्यात गर्दा समेत मैले त समस्या झेल्नु पर्यो ।

असहजत परिस्थिती हुँदाहुँदै पनि उद्योग स्थापना गर्नुभयो, उद्योगबाट उत्पादित सामग्री निर्यात पनि गर्नुभएको छ । शतप्रतिशत निर्यात गर्ने उद्योगमा काम गर्ने कामदार कहाँबाट ल्याउनुभयो ?
असहज हुँदाहुँदै नेपालमा शतप्रतिशत निर्यातजन्य उद्योग भित्राउन केही मात्रामा भए पनि सफल भएजस्तो लाग्छ । अर्को कुरा भनेको उद्योगसँगै मैले उद्योगमा ल्याएको वातावरण यहाँको लागि नयाँ हुन सक्छ । मैले मेरो उद्योगमा कामदारका रूपमा रहने व्यक्तिमा महिलालाई प्राथमिकतामा राखेको छु भने एउटा श्रमिकले पाउनुपर्ने सम्पूर्ण सुविधासमेत दिएको छु । मेरो उद्योगमा करिब तीनसय जना कामदार मध्ये ६० प्रतिशत कामदार महिला छन्, जुन सबै स्थानीय छन्  । नेपालमा प्राविधिक नपाउँदा भारतबाट प्रावधिक ल्याउनु परेको छ, जुन मेरो बाध्यता हो । किनकी म उद्योगमा सबै नेपाली राख्न चाहन्थेँ । उद्योगमा आवश्यक प्रावधिकबाहेक अरु सबै नेपाली छन्, जसमा ६० प्रतिशत महिला छन् । यसले उनीहरुलाई स्वाबलम्बी भएर घर चलाउन अर्थात् उनीहरूले आफ्नो बालबालिकालाई अध्ययन गराउन सकेका छन् । यहाा काम गरेका डेढ दर्जन बढि युवतीहरुले आफैं कमाएर आफैं बिहे गरेका पनि छन् ।

उद्योगलाई आवश्यक कच्चापदार्थ कहाँबाट ल्याउनु हुन्छ ? सहज उपलब्ध हुन्छ कच्चापदार्थ ?
मैले निटिङ निडल्स लागि आवश्यक कच्चा पदार्थ भारत, चीन, रसिया, अमेरिका, जर्मनी फिनल्याण्ड लगायतका मुलुकबाट आयात गर्छु । निटिङ निडल्स निर्माण गर्नको लागि कच्चा पदार्थको रुपमा कच्चा काठ, रेजिन लगायतका केमिकल, रंग आवश्यक पर्छ ।

सरकारसँग तपाईको निक्कै असन्तुष्टि देखियो नि ? तपाई जस्तो शतप्रतिशत निर्यात गर्ने उद्योगलाई सरकारले अवमूल्यन गरेको हो, त ?
एकदम सही भन्नु भयो । हाम्रो काम र योगदानलाई सरकारले अवमूल्यन गरेकै हो, त्यो पनि तीन तह (संघ, प्रदेश र स्थानीय)ं को सरकारबाट । के राज्यलाई इम्बार्क इन्टरनेशनल नै थाहा छैन । म च्यालेन्ज गर्न चाहन्छु की नेपालको एक मात्र यस्तो नमुना उद्योग हो इम्बार्ग, जसमा बढी महिला कामदार, सेवा सुविधामा कुनै प्रकारको अवरोध नहुने तथा शतप्रतिशत निर्यातजन्य । राष्ट्र बैंकमा विदेशी मुद्रा डलर आउँछ भनेपछि सरकारी निकायलाई पक्कै पनि मेरो उद्योगको बारेमा थाहा होला । तर, सरकारबाट राहत र सेवा सुविधा केहि पनि छैन् ।

अर्कोतर्फ मेरो उद्योगको उत्पादनको लागि स्थानीय बजार छैन । भने पछि हाम्रो सम्पूर्ण बजार भनेको विदेशमा रहेको छ । मेरो उत्पादन एसिया, युरोप र अमेरिका तीनवटै महादेश अर्थात् अमेरिका, क्यानडा, जर्मनी, फिनल्याण्ड, रसिया, जापान, चीन लगायत गरी ८२ भन्दा बढी मुलुकमा निटिङ निडल्स निर्यात हुन्छ । त्यति मात्रै होइन् बुझदै जाँदा स्थापना भए देखि अहिलेसम्म शतप्रतिशत निर्यातजन्य उद्योग इम्बार्क इन्टरनेशनल मात्रै रहेछ ।

अन्त्यमा, सहज/असहज वातावरणका बीच पनि उद्योग स्थापना तथा सञ्चालन गरी निर्यात गरिरहनुभएको छ । आगामी रणनीतिहरू के छन् ?
उद्योग स्थापना तथा सञ्चालनको लागि सहज वातवरण बनाइदिन मुख्यतः सरकारसँग मेरो आग्रह छ । उद्योग थप गर्ने सोचमा म अडिग छु । आगामी दिनमा पनि उद्योग थप गर्नेछु । अबको केही वर्षमा नेपालमा अर्को उद्योग थप गर्नेछु, त्यो पनि निडल्स नै हो तर त्योचाहिँ बाँसबाट बन्ने निडल्स हुनेछ । मेरो उत्पादनलाई विदेशीहरूले प्रशंसा गर्दै हिमालयबाट आएको उत्पादन भन्छन्  । त्यो सुनेर मैले यति गर्वान्वित महशुस गरेँ, जुन कल्पनाभन्दा बाहिरको कुरा हो । हामीलाई सरकारले वा सम्बन्धित निकायले सहयोग र हौसला प्रदान गरेमा हामीले नेपालको आर्थिक विकासमा केही सहयोग पुर्याउन सक्छौँ भन्ने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्