मायादेवी साझेदारी बनमा दोहोरो झडप, बनरक्षक सहित डेढ दर्जन घाइते


पालिका पत्र

९ असार २०८०, शनिबार १९:५८ मा प्रकाशित

कपिलवस्तु, असार ०९ । कपिलवस्तुको मायादेवी साझेदारी बनमा दोहोरो झडप हुदाँ ८ जना कर्मचारीसहित डेढ दर्जन घाइते भएका छन् । वनको अतिक्रमित जग्गा हटाउने क्रममा स्थानीयलाई विकल्पबिना हटाउन थालेको भन्दै संरक्षण गरेको आरोपमा वाणगंगा नगरपालिका वडा नं १० का वडाध्यक्ष यमप्रसाद पोखरेल पक्राउ परेपछि झडप हुदाँ बनरक्षक सहित डेढ दर्जन घाइते भएका हुन् ।

कपिलवस्तुको विभिन्न स्थानमा अतिक्रमणमा परेको सयौं विगाहा जग्गा खाली गराउन डिभिजन वन कार्यालय कपिलवस्तुले बल नै प्रयोग गरेपछि स्थानीय र बन कर्मचारी बीच दोहोरो झडप भएको थियो । सबैभन्दा बढी अतिक्रमणमा परेको भनिएको वाणगंगाको पटना क्षेत्रमा अतिक्रमण हटाउने कार्यमा स्थानीयले प्रतिवाद गरेपछि अन्य जिल्लाबाट कर्मचारी तथा सुरक्षा टोली खटाएर अतिक्रमण हटाउन थालिएको थियो । झडप पछि भने अतिक्रमणको काम रोकिएको छ ।

राजनीतिक हस्तक्षेप र दवावको कारण वर्षौदेखि त्यो वन क्षेत्रमा रहेका अतिक्रण बढिरहेको छ । स्थानीयका अनुसार २०५५ सालदेखि त्यो वनक्षेत्रमा अतिक्रण सुरु भएको थियो ।

यता वनले बाणगंगा वडा न. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेललाई शुक्रबार डिभिजन वन कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ । अहिले उनलाई कार्यालयको थुनुवा कक्षमा राखिएको छ । वन कार्यालयले सुकुम्बासीको नाममा जग्गा अतिक्रमणमा संलग्न भएको आरोपमा पोख्रेललाई नियन्त्रणमा लिएको साहयक वन अधिकृत खिल बहादुर तामाङले बताए । उनले वन ऐन २०७६ अनुसार कारवाहिका लागि पक्राउ गरिएको बताए । साहयक वन अधिकृत तामाङले वडा अध्यक्षले जग्गा अतिक्रमण गर्ने तथा गराउने गरेको आरोप समेत लगाए ।

वनले अतिक्रमण हटाउन केहि दिन स्थगित भएतापनि यसलाई निरन्तरता दिने जनाएको छ । मायादेवी साझेदारी वनको कुल १ हजार १७ हेक्टर वन क्षेत्र छ । त्यसमध्ये डेढ सय हेक्टर वन अतिक्रमणमा छ ।

पहिलो चरणमा वन क्षेत्रमा खेतीपाती गरी अतिक्रमण गरिएकोलाई हटाइने र दोश्रोचरणमा बल्ल घर टहरा हटाउने योजना बन कार्यालयले बनाएको छ । असार ६ गते बाणगंगा नगरपालिका– १९ दानापुरमा अतिक्रमण खाली गराउन खोज्दा स्थानीयबासीबाट अवरोध गरेका थिए ।

जिल्लाको मात्र वन कर्मचारी र वन रक्षकसहित डोजर लिएर दानापुरमा पुग्दा ५ सयभन्दा बढी स्थानीयबासीले अवरोध गरेपछि डिभिजन कार्यालयले कपिलवस्तु, रुपन्देही, नवलपरासी र अर्घाखाँचीका वन रक्षकसहित कर्मचारीहरु मगाएर फेरी अतिक्रमण हटाउन थालिएको थियोे । चार जिल्लाको गरी झन्डै ४ सय वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली अतिक्रमण क्षेत्रमा परिचालित थिए ।

यता कपिलवस्तुको बाणगंगा नगरपालिकाले मायादेवी साझेदारी वनलाई पत्रकाटी आफ्नो अधिकार प्रयोग गर्दा कर्तब्य नभूल्न आग्रह गरेको छ । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको काम नगरले सुकुम्वासी समाधान आयोग मार्फत गरि रहेकाले यस प्रकारको वितण्डा नमच्चाउन आग्रह गरिएको छ ।

यता साझेदारी बनको समन्वयमा जिल्ला बन कार्यालयले गरेको कार्य प्रति विरोध जनाउदै शुक्रबार बसेको जिल्ला स्तरीय सर्वदलिय बैठकले संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा बन सिमाना छुट्याउने नाममा स्थानीय सरकारसंग कुनै समन्वय नगरि जातिय सद्भाव विगारी जनस्तरलाई आतङ्कित गर्ने कार्य प्रति सबै राजनैतिक दलको गम्भिर ध्यानआकृष्ट भएको उल्लेख गरिएको छ ।

अव्यवस्थीत रुपमा सिमाना छुट्याउने कार्य बन्द गरि बार्ता र सहकार्यको आधारमा आगाडी बढ्न आग्रह समेत गरिएकोछ । अन्यथा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले उठाउने न्यायपुर्ण आवाजमा राजनीतिक दलहरुको समेत एक्यबद्धता रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सयौ बनरक्षक ,नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरि सुकुम्वासी उटाउने भन्दै ३ दिनदेखि पटना क्षेत्रलाई आतंकित पारेको विज्ञप्तीमा उल्लेख छ । दलहरुले भनेका छन् ‘डिएफओ होसमा आउ आतंक नमच्चाउ ।’ सो सर्बदलिय बैठकपछिको विज्ञप्तीमा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर प्रसाद शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु बेल्वासे , नेकपा नेकपा माओवादी विप्लव समुहका नेता संघ प्रसाद थारु, नेपाली कांग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरी लगायतले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्