दुई भन्दा बढी सन्तान जन्माउनेलाई रिब्दीकोट गाउँपालिकाले ५ हजार पुरस्कार दिने


पालिका पत्र

१९ असार २०८०, मंगलवार १८:५१ मा प्रकाशित

पाल्पा, असार १९ । वडामा जनसंख्या बढाउन पाल्पाको रिव्दीकोट गाउँपालिकाले नयाँ निर्णय गरेको छ । गाउँमा खेतबारी बाँझो हुनुका साथै विद्यालयमा विद्यार्थी समेत कम हुन थालेपछि गाउँपालिकाको वडा नं. १ ले दुईभन्दा बढि सन्तान जन्माउनेलाई नगद पुरस्कार दिने भएको हो ।

साउन १ गतेदेखि लागू हुने यो कार्यक्रमका लागि गाउँपालिकाले छुट्टै बजेट समेत विनियोजन गरेको छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष कार्यक्रमलाई थप बजेट छुट्याउने जनाएको छ ।

दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।


राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३४ जनसंख्या थियो । तर जनगणना २०७८ अनुसार ३ सय जनसंख्या घटेर जम्मा २ हजार ६० मा आएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्