बाणगंगा डुवान पिडित परिवारलाई नगरपालिकाद्वार राहत प्रदान


पालिका पत्र

१० श्रावण २०८०, बुधबार २०:४२ मा प्रकाशित


कपिलवस्तु, साउन १० ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ का डुवान पिडित परिवारलाई राहत वितरण गरिएको छ । नगरपालिकाले बुधबार ६७ डुवानबाट पिडित घरपरिवारलाई राहात वितरण गरेको हो ।

राहात वितरण गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले बर्षेनी आउने यस्ता विपदबाट बचाउन चुनौति देखिएको बताए । उनले यस्ता विपद व्यवस्थापनका लागी नगरपालिका हर्दम तयारी अवस्थामा रहेको बताउँदै भने, ‘बाणगंगा नगरपालिकाभित्र करिब डेढ सय भन्दा बढी घरहरु डुवानमा परेर ठूलो क्षति भएको छ, यस्ता डुवानका घटना हुन नदिन हामीहरु पहिले नै सचेत भएर सावधानी अपनाउन आवश्यक छ ।’उनले सम्पुर्ण वडा, टोल विकास समिति र सम्बन्धि सरोकारवालाहरुलाई राहात व्यवस्थापन तथा वितरणमा जुटन आह्वान समेत गरे । नगरप्रमुख अर्यालले अहिले राहात वितरणको काम तीब्र गतिमा भईरहेको बताउँदै कोही पनि खाना खान नपाएर मर्नुपर्ने स्थिति आउन नदिने जिकिर गरे । उनले विपदको समयमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।


उपप्रमुख रिता कुमारी चौधरीले दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई यस्ता विपदले ठूलो चोट दिने बताईन् । उनले स्थानीय सरकार भएको अनुभूति दिलाउन नगरपालिका प्रतिवद्ध रहेको बताईन् ।

बाणगंगा पुलचोक, बालापुर र ससेनीका ५५ परिवारलाई राहात वितरण गरेको वडाध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । उनीहरुलाई दाल, चामल, नुन, तेल, तरकारी, मसला, साबुन, सरफ, तन्ना लगायतका अत्यावश्यक सामग्री दिएको वडाध्यक्ष अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्