बाणगंगाको जनता मा.वि.मा ‘स्कील फ्राइडे’ किताब बोकेर विद्यालय जानु नपर्ने


पालिका पत्र

२० श्रावण २०८०, शनिबार ०६:१७ मा प्रकाशित


बाणगंगा, साउन २० । सधैजसो झोलाभरी किताब कापी बोकेर विद्यालय पुग्ने विद्यार्थीहरु आज शुक्रबार झोला नबोकी विद्यालय जान पाउँदा दंग देखिन्थे । अभिावकले पनि जनताले के गर्न खोजे होला भनेर अचम्मित थिए । विद्यालय पुग्नासाथ सबे विद्यार्थीहरु तोकिएका सीपयुक्त क्रियाकलापमा सहभागी हुन पाउदा उत्साहित देखिन्थे । कक्षा १० मा अध्ययन गर्ने छात्रा अनुजा टण्डनले सामुदायिक विद्यालयमा किताब नबोकी व्यवहारिक जीवनमा आधारित सीपहरु सिक्न पाउँदा खुसी लागेको बताइन ।

टण्डनले घरमा कहिल्यै पनि टपरी खुट्न जागर नचलेको तर साथीहरुसँग बसेर टपरी खुटन पाउँदा खुसी र सिक्न सजिलो भएको बताइन । उनी जस्तै कक्षा ९ मा अध्ययन गर्ने छात्र विवेक पौडेलले विद्यालयमा गएर सिमन्ट बालुवा मिसाएर मसला बनाउन र इटा जोड्ने अतिरिक्त सीप सिक्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा विद्यालयले यस्तै खालका नयाँ जीवनपयोगी सीपहरु सिकाउनु पर्ने बताए ।

बाणगंगा न.पा.–२ पिपरा स्थित जनता माध्यमिक विद्यालयले कपिलवस्तुमै पहिलो पटक सीप बार कक्षा सञ्चालन गरेको दाबी गर्दै चित्रकला, मूर्तिकला, बत्ती काट्ने, दुना टपरी खुट्ने, दुबोको माला बनाउने, व्युटिसियन, पर्खाल लगाउने, कम्प्युटर हार्डवेयर, बाध्यवादन, नृत्य लगायतका क्रियाकलापलाई स्कील फ्राइडेमा समावेश गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक बाबुराम घिमिरेले बताए ।

गत शैक्षिक सत्रदेखि एक विद्यार्थी एक सीप कार्यक्रम संचालन गरेको विद्यालयले सोही कार्यक्रममा आधारित स्कील फ्राइडे (सीप बार) कार्यक्रमको औपचारिक उद्घाटन आज एक समारोहका बीच गरेको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बाणगंगा नगरका मेयर चक्रपाणी अर्यालले जनता मा.विले उदाहरणीय कार्य गरेको र सोको सिको अन्य विद्यालयहरुले पनि गर्नुपर्नेमा जोड दिए । अर्यालले अबको प्रतिष्पर्धात्मक युगमा किताबी ज्ञान मात्र प्रयाप्त नहुने भन्दै विद्यालयभित्र कुनै न कुनै एक सीप सिकेर जान सके भविष्यमा बेरोजगारीको समस्यामा पर्न नपर्ने बताए । नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले आफूले पढेको विद्यालयले प्रगति गरेको देख्दा खुसी लागेको बताउँदै सीपलाई बजारसँग जोड्नु पर्नेमा जोड दिए ।

एक विद्यार्थी एक सीप कार्यक्रमका सन्दर्भमा प्राचार्य रमेश पन्थीले २१ औ शताब्दी सूचना तथा प्रविधिको युगमा सीपको महत्वपूर्ण भूमिका रहेकाले साना साना सीपबाट सुरुवात गरी निकट भविष्यमै दक्ष सीपयुक्त जनशक्ति तयार गर्न विद्यालयले यस्ता कार्यक्रमहरुलाई जोड दिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पाण्डेले विद्यालयले सुरुवात गरेको सीपयुक्त कार्यक्रमका लागि स्थानीय तहहरुले सहयोग गर्नुपर्ने र विद्यालयले जस्तो सुकै जोखिम मोलेर भए पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । कार्यक्रमको व्यवस्थापनमा सक्रिय रहेका अंग्रेजी माध्यमका कोर्डिनेटर उज्जवल अधिकारीले कक्षाकोठामा राखेर पढाउने विद्यार्थीहरुसँगै जीवनउपयोगी सीप केन्द्रित काममा जोडिन पाउँदा आफू उत्साहित भएको बताए ।

विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी भण्डारीले परम्परागत अतिरिक्त क्रियाकलापको सट्टा जीवनउपयोगी सीप केन्द्रित क्रियाकलापहरुले विद्यार्थीमा सिकाई रुची बढाउने बताइन । वाध्यवादनतर्फ संयोजक गरेका विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्टराईले विद्यार्थीहरुलाई नेपाली सांस्कृति संरक्षणमा योगदान हुनुका साथै अध्ययनसँगै मनोरञ्जन पनि आवश्यक भएकाले विद्यालयले गीत, गायन र संगीतमा पनि बुक फ्राइडेमा प्रशिक्षण दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्