पूर्ण सरसफाई भएपछि चिटिक्क विजयनगरको मधवानगर


पालिका पत्र

१७ भाद्र २०८०, आईतवार १०:५७ मा प्रकाशित

विजयनगर, भदौ १७।

कपिलवस्तुको विजयनगर गाउँपालिका २ मधवानगर पूर्ण सरसफाई उन्मुख छ । खानेपानी तथा सरसफाईको सम्पूर्ण सूचक पूरा भई ‘मधवानगर नमुना गाउँ’ बन्न सफल भएको छ । पूर्ण सरसफाई अभियानले गाउँको मुहार नै फेरिएको छ । मधवानगर अहिले सफा, सुन्दर, स्वच्छ र चिटिक्क आकर्षक देखिन्छ । कुनै रङ्गरोगनले होइन सरसफाई गरेरै राम्रो गाउँ, सुन्दर गाउँ सफा देखिएको हो ।

सरसफाई अभियानको लागि ‘सिक्ने र सिकाउने’ शिक्षण केन्द्र भन्दा पनि फरक नपर्ला । यो नमुना गाउँले सबै गाउँबासीलाई पूर्ण सरसफाई गाउँ बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण समेत दिएको छ । मधवानगर नमुना गाउँमा सबैको घरमा शुद्ध खानेपानीको धारा जडान गरिएको छ । घर घरमा भाँडा सुकाउने चाँङ बनेका छन् ।

यो चाँङमा राम्रोसँग सुकेपछि मात्र भाँडा घरभित्र राख्ने गरेका छन् । सफा शौचालय र स्नान घर छ । साबुनपानीले हात धुने व्यवस्था छ । गाई, भैँसीको गोठ, बाख्रा, कुखुराका खोर सफाई गरिएको छ । भकारो पनि सफाई गरिएको छ । भान्सा कोठासमेत सफा रहेका छन् । सबैको घरमा शुद्ध खानेपानीको लागि बायो स्याण्ड फिल्टरसमेत राखिएका छन् । आर्सेनिकरहित पानी पिउनका लागि बायो स्याण्डर फिल्टर राखिएको हो । विजयनगर गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सबैको घरमा बायो स्याण्ड फिल्टर राखिएको छ ।

मधवानगर तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा समेत चिनिएको गाउँ हो । यहाँ किसानले तरकारी खेती गर्दै मनग्ये आम्दानी समेत गर्दै आएका छन् । उनीहरुले व्यवासयिक रुपमा पनि तरकारी खेतीलाई जोड दिएका छन् । कृषि खेती क्षेत्रमा पनि अब्बल छन् मधवानगरबासी । तरकारी खेतीबाट पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने गाउँपालिकामै एक फरक उदाहरण दिएको छ ।

विजयनगर खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ एवं मधवानगर खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष खड्क बहादुर थापाले सरसफाई अभियानले गाउँबासीको आनीबानी, व्यवहार फेरिएको बताउँछन् । उनले सबै गाउँले सचेत भएको बताउँदै पूर्ण सरसफाई अभियानलाई निरन्तरता दिएको बताए । उनले घर(घरमा सरसफाई अभियानले गाउँका सबैको दैनिक कार्यमा परिवर्तन आएको जिकिर गरे ।

अध्यक्ष थापाले ‘गाउँलाई पूर्ण सरसफाई युक्त बनाउने अभियान सुरु भएपछि हरेक घरमा सरसफाईले परिवर्तन आएको छ ।’ उनले भने ‘बालबालिकादेखि बुढाबुढीसम्मले सरसफाई अभियानमा साथ दिएका छन् । साप्ताहिक रुपमा शनिबारका दिन पुरै गाउँको बाटो, गल्ली, सार्वजनिक स्थल, मठमन्दिर सरसफाई गर्ने नियम बनाइएको छ ।’ सार्वजनिक स्थानमा पनि सफा पानी पिउने र फोहोरको उचित व्यवस्थापनको काम थालिएको उनले बताए । यी सबै कार्यलाई निरन्तर रुपमा अनुगमनसमेत गरिरहेको उनको भनाई छ ।

मधवानगर संघर्षशील कृषक समुहका अध्यक्ष बल बहादुर एमसीले गाउँको सरसफाई कार्यमा सक्रिय छन्। उनले सुरक्षित शौचालय, फोहोरमैला र साबुनपानीले हात नधुँदा विभिन्न सरुवा रोग लाग्ने गरेको बताए । सरसफाईको कमीले लाग्ने रोगलाई रोकथाम तथा न्यूनीकरणमा सहज भएको उनको भनाई छ । बालबालिकालाई झाडापखाला, आउँ, हैजा टाइफाइड जस्ता लाग्ने रोग, खानपानमा बेवास्ता गर्दा लाग्ने रोगबाट सुरक्षित हुनलाई सरसफाई अभियानले सबैलाई सचेत गराएको उनले बताए ।

दूधाधारी माध्यमिक विद्यालयका शिक्षक तथा स्थानीय सुर्य पौडेलले साना(साना बालबालिकाले पनि सरसफाई, साबुनपानीले हात धुने गरेको बताउँछन् । ‘बाटैमा शौच गर्ने, गाउँघर वरिपरि शौच गर्ने अवस्थाबाट परिवर्तन भएको छ । शिक्षक पौडेलले भने । उनले सबै घरमा पूर्ण सरसफाईको सूचक पुरा भएको बताउँदै यस अभियानलाई निरन्तरता दिँदै जाने बताए । शनिबार संघर्षशील कृषक समुहले सञ्चालन गरेको सरसफाई अभियानमा होमिएका पौडेलले कार्यक्रममा यस्तो सुनाएका हुन् ।

यस्तै मधवानगर आमा समुहकी अध्यक्ष सुवित्रा खड्काले पारिवारिक र व्यक्तिगत सरसफाईमा पूर्ण रुपमा ध्यान दिएको बताइन् । उनले आमा समुहका सदस्यहरुको सक्रियतामा सरसफाई अभियानलाई जोड दिएको बताइन् । उनले गाउँलाई पूर्ण सरसफाई उन्मुख बनाउनलाई आमा समुहले अहम भूमिका निर्वाह गरेको बताइन् । सबैको एकताले सफा र सुन्दर गाउँ बनाउन सफल भएको खड्काले बताइन् ।

यस्तै ज्ञानपुञ्ज महिला विकास समितिकी अध्यक्ष सीता थापाले पूर्ण सरसफाई उन्मुख हुँदा खुसी लागेको बताइन् । उनले हामी सबैको लगनशीलता, सक्रिताले गाउँको मुहार नै फेरिएकोले भन्दै खुसी व्यक्त गरिन् । उनले चेतनामूलक कार्यक्रम, एकआपसमा छलफल र एकजुट भई लाग्दा सरसफाई अभियान सफल भएको बताइन् ।

यसैगरी समाजसेवी प्रमिला पौडेलले पनि कुनै पनि काम असम्भव नभएको बताउँछिन् । उनले परिवर्तन गर्न सोँच र आँट हुनुपर्छ जस्तो सुकै काममा सफल भइन्छ र सबै एकजुट हुनु नै परिवर्तनको संकेत भएको बताउँदै सकारात्मक सोँचले अगाडी बढ्दै जाने हो भने समृद्ध र सभ्य समाज निर्माणमा समेत टेवा पुग्ने पौडेलको विश्वास छ । उनले अहिलेको परिवेश अनुसार समृद्धि र विकास लागि बदलाव जरुरी रहेको बताइन् ।

शनिबार सञ्चालित सरसफाई कार्यक्रममा वास अभियानता दयाराम शर्माले मधवानगर गाउँलाई थप पूर्ण सरसफाईलाई निरन्तरताका लागि प्रशिक्षण दिएका छन् । उनले सफा सडक, हरित सडक, हरित गाउँ, सडक फोहोर व्यवस्थापन, फूलबगैँचा, शुद्ध खानेपानी लागयत आनीबानी र व्यवहारमा परिवर्तन सम्बन्धी प्रशिक्षण दिएका थिए । उनले विजयनगर गाउँपालिकालाई नै पूर्ण सरसफाई अभियानलाई सफल पार्न लागेको बताउँदै सबै गाउँबासी जागरुक हुन आवश्यक रहेको बताए ।

अहिले मधवानगरमा ४२ घर छन् । जनसंख्या २ सय १० रहेको छ । यहाँका सबै घरमा शुद्ध पानीको धारा जडान गरिका छन् । एक घर, एक धारा अवधारणा अनुसार ‘मिटरजडित धाराको व्यवस्थापन गरिएको छ । अभियान सफल पार्न सार्वजनिक शौचालय निर्माण गर्ने योजना छ । वृक्षारोपण गरि गाउँभित्रका सबै सडक किनारमा ‘हरित सडक’ निर्माण गर्ने योजनासमेत छ ।

प्रतिक्रिया दिनुहोस्