कपिलवस्तुमा व्यवसायी विस्थापित हुने क्रम बढ्दै, एकसय १४ उद्योग तथा फर्म बन्द


२२ भाद्र २०८०, शुक्रबार २१:२७ मा प्रकाशित

कपिलवस्तु, भदौ २२ । आर्थिक मन्दीको प्रभाव कपिलवस्तुका घरेलु तथा साना उद्योगमा पनि परेको छ । जिल्लामा व्यवसायी बिस्थापित हुने क्रम बढ्दै गएपछि एकबर्षको अवधिमा एकसय १४ उद्योग तथा फर्म बन्द भएका हुन् । यहाँ एक वर्षमै ७८ साना उद्योग र ३६ बाणिज्य फर्म बन्द भएका छन । गत आर्थिक वर्ष २०७९/०८० मा सो उद्योग र ब्यापारिक फर्म बन्द भएका हुन्।

घरेलु तथा साना उद्योग कार्यालय अनुसार उत्पादन मुलक २१, कृषि तथा वन ३१, सेवा मुलक २६ वटा गरी कुल ७८ साना उद्योग बन्द भएका हुन् । यस्तै बाणिज्य तर्फका किराना पसल ८, हार्डबेयर ११, जुत्ता पसल २, कपडा पसल ९, कस्मेटिक १ , गिफ्ट हाउस २, ई मोबाईल कम्प्युटर १, मदिरा पसल २, बिबिध पसल गरि ३६ वटा पसल बन्द भएका हुन् ।

आर्थिक मन्दी बढ्दै गएपछि कपिलवस्तुमा पछिल्लो ५ वर्षमा भने कुल ३ सय ८१ साना उद्योग तथा ६ सय २८ बाणिज्य फर्महरु बन्द भएका छन्। आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७९/०८० सम्म सो उद्योग र बाणिज्य फर्म बन्द भएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा ६१, आर्थिक वर्ष ०७६/०७७ मा ७५, आर्थिक बर्ष ०७७/०७८ मा ७७ र आर्थिक वर्ष ०७८/०७९ मा ९० वटा साना उद्योग बन्द भएका कार्यालयले जनाएको छ ।

यस्तै बाणिज्य फर्म अन्तर्गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६९, आर्थिक वर्ष ०७६/०७७ मा १ सय ७८, आर्थिक वर्ष २०७७/०७८ मा १ सय ९, आर्थिक वर्ष ०७८/०७९ मा ७६ बन्द भएका हुन्।

कोरोना काल पछि असहज स्थिति बन्दै गएपछि उद्योग धन्दा खुल्ने क्रम भने घटेको छ । गत वर्ष आर्थिक स्थिति असहज बने पछि साना उद्योग र बाणिज्य फर्म भने नविकरण नभएर बन्द भएको कार्यालय प्रमुख प्रेम बहादुर गौतमले बताए।

५ वर्षमा थपिए ५५ सय बढी साना उद्योग

कपिलवस्तुमा ५ बर्ष यता ५ हजार ५ सय ६७ साना उद्योग थपिएका छन्। आर्थिक वर्ष २०७५/०७६ देखि गत आर्थिक वर्ष २०७९/०८० सम्म जिल्लामा सो उद्योग थपिएका हुन्।

आर्थिक वर्ष २०७९/०८० मा ६ सय ५८ उद्योग दर्ता भएका छन् । जुन पछिल्लो ५ वर्ष यताकै सबै भन्दा कम हो । प्रालि, साझेदारी र प्राईभेट गरी त्यति संख्यामा साना उद्योग थपिएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४१७, २०७७/०७८ मा १ हजार २९१, २०७६/०७७ मा १ हजार ४७ तथा ०७५/०७६ मा १ हजार १५४ उद्योग दर्ता भएका थिए ।

उत्पादनमुलक, कृषि तथा बनजन्य उद्योग, निर्माण उद्योग, सेवामुलक उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गौतमले बताए । गत आर्थिक वर्ष उत्पादनमुलक ७८, कृषि तथा वन जन्य ३ सय ८६, निर्माण उद्योग ३,पर्यटन २, सेवामुलक १ सय ८९ उद्योग थपिएका हुन् । गत वर्ष ३ सय ४१ जना महिला र ३ सय १५ गरी ६ सय ५७ जना नया उद्योगी थपिएका छन्। जसबाट ३ हजार ७४ जनाले रोजगारी पाएका छन्।

गत आर्थिक वर्ष थपिएका साना उद्योगमा स्थिर पुजी ८९ करोड ६५ लाख ८८ हजार ९७० रुपैया, चालु पुजी ३३ करोड ४५ लाख ५८ हजार ६ सय १६, गरी कुल १ अर्व २३ करोड ११ लाख ४७ हजार ५८६ रुपैया लगानी गरिएको छ। उद्योगबाट कुल १ अर्व ४५ करोड ६६ लाख ९३ हजार ७ सय २५ रुपैयाको उत्पादन क्षमता देखाइएको छ।

उता गत आर्थिक वर्ष बाणिज्य तर्फ ४ सय २३ जना फर्म दर्ता भएका छन। घरेलु तथा साना उद्योग कार्यालयबाट विभिन्न १९ वटा सिपमुलक तालिमबाट ३ सय जनाले तालिम लिएका छन ।

यस्तै ८ वटा विद्यालयलमा उपभोक्ता शिक्षा कार्यक्रम संचालन गरी ४ सय ३२ विद्यार्थीलाई जानकारी गरिएको थियो। गत आर्थिक वर्ष कार्यालयमा कुल ८१ लाख ३६ हजार ८२४ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका लेखापाल गोबिन्द प्रसाद तेलीले बताए ।

कोरोना काल पछि उद्योग र ब्यापारिक फर्मको संख्या घटनु चिन्ताको बिषय भएको सरोकारवाला बताउछन । चार वर्ष यता जिल्लामा उद्योग धन्दा खुल्नेक्रम घटदै गएको छ। ब्यवसायमा निरन्तर घाटा लागे पछि उद्योगी ब्यवसायीहरुले आफनो फर्म बन्द गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्