कपिलवस्तुमा चाडपर्व लक्षित बजार अनुगमन फितलो

'नाममात्रै'को अनुगमनले उपभोक्ता मारमा


२५ भाद्र २०८०, सोमबार १३:३० मा प्रकाशित

कपिलवस्तु, भदौ २५ । कपिलवस्तुका मुख्य बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू खुलेआम विक्री वितरण भएपनि चाडपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित छन् । नियमित बजार अनुगमन नहुँदा यहाँका ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् ।

मुख्यतः चाडपर्व लक्षित बजार अनुगमन गर्ने गरिएको कपिलवस्तुमा चाडपर्व नजिकिए पनि अझै प्रभावकारी रुपमा सुरु हुन सकेको छैन् । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण समेत हुने गरेको भएता पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चाँसो नदेखाएको सरोकारवाला बताउँछन् ।

नेपालीको मुख्य चाड हरितालिका तीज, दशैँ तिहार, छठ पर्व नजिकिँदा पनि बजार अनुगमन शुरु हुन सकेको छैन् । सदरमुकाम तौलिहवा तथा दक्षिणी क्षेत्रका मुख्य बजार कृष्णनगर, मर्यादपुर, चाकरचौडा र उत्तरी क्षेत्रका खुद्रा तथा थोक ब्यापारी तथा सहकारीहरुमा समते खुलेआम म्याद गुज्रेका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण हुँदै आएकाले यहाँका उपभोक्ता स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित हुनुपरेको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको बजार अनुगमन समितिले यशोधरा गाउँपालिका स्थित मर्यादपुर बजार, मायादेवी गाउँपालिका स्थित चाकरचौडा, बुद्धभूमि नगरपालिका स्थित महेन्द्रकोट र शिवराज नगरपालिका स्थित चन्द्रौटा बजारमा बेलाबखतमा (उजुरीका आधारमा) अनुगमन गरेपनि सदरमुकाम र ग्रामीण क्षेत्रका स–साना बजारको अनुगमन नगर्दा आम उपभोक्ता स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित हुनुका साथै कालो बजारीयाले प्रश्रय पाएका छन् ।

ब्यवसायी पनि उपभोक्ता रहने गरेकाले स्वस्थ उपभोगमा सबै सचेत रहनुपर्ने तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी (दिपु)को तर्क छ । उपभोक्ताहरु अहिले बिस्तारै सचेत हुँदै गएकाले पनि स्वयम् उपभोक्ताले उपभोग्य बस्तु खरिदका क्रममा आफ्नो अधिकार प्रयोग गर्न उनले आग्रह समेत गरेका छन् ।

उपभोक्ताको हितलाई मध्यनगर गरेर बजार अनुगमनलाई तिब्रता दिने तयारी जिल्ला प्रशासन रहेको बुझिएको छ । जिल्ला स्तरीय बजार अनुगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रहने ब्यवस्था छ, यद्यपि मातहतका कर्मचारीहरुको संलग्नतामा छिट्टै बजार अनुगमन गरिने जनाइएको छ । स्थानीय तह, सम्बन्धित कार्यालय र जिल्ला प्रशासन कार्यालयले संयुक्तरुपमा बजार अनुगमन गर्ने जनाइएको छ । बजार अनुगमनको लागि क्षेत्रगत र विषयगत गरी कलस्टर बनाइएको छ ।

क्षेत्रगत रुपमा जिल्लाका मुख्यमुख्य बजार तौलिहवा, जीतपुर, गोरुसिंगे, चन्द्रौटा, बहादुरगंज, कृष्णनगर, पकडी लगायतका रहेका छन् । विषयगतमा स्वास्थ्य, पशु तथा पशुजन्य, खाद्य प्रविधि, कृषि तथा कृषिजन्य, नापतौल, इन्धन, यातायात, वाणिज्य तथा आपूर्ति लगायतका रहेको जनाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय आफैँले पनि बजार अनुगमन गर्ने भएपनि संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय भएकाले केही ढिला शुरु हुन गएको बताए । बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन भनेर तथा कालोबजारी र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको कार्य गरिने दाहाल बताउँछन् ।

बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् । बजार अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यापारीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेम बहादुर गौतमको भनाइ रहेको छ । “बजारमा बिक्री हुने सामग्रीका विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्छ” उनी भन्छन् ।

बजार अनुगमनलाई निरन्तरता दिइएको दाबी गर्दै गौतमले साउन महिनामा मात्रै ४ पटक अनुगमन गरिएको जिकिर गरे । “मुख्यत मर्यादपुर, चन्द्रौटा क्षेत्रमा अनुगमन गरिएको छ” उनले भने । यो अवधिमा २५० पसलहरुको अनुगमन गरेकोमा ४१ वटा पसलहरुको दर्ता रहेको र बाँकी बिनादर्ता सञ्चालनमा रहेको पाइएको उनले जनाए ।

जिल्ला स्तरीय अनुगमन समितीको सदस्य सचिव रहने प्रावधान रहेकाले पनि मुख्यत सचेतनामुलक अभियान सञ्चालन गर्ने मात्रै काम भएको प्रति भने गौतमको असन्तुष्टि छ । उनले भने, “घरेलुलाई मुद्दा चलाउन सक्ने अधिकार हुुनुपर्छ” । उपभोक्ता सचेत रहनुपर्ने नै उपयुक्त बिधि रहेको उनको भनाइ छ ।

बजार अनुगमन नियमित रुपमा भयो भने बजारमा हुने विभिन्न प्रकारका कालोबजारी नियन्त्रण हुने र यसले मानवको स्वास्थ्यलाई बचाउने कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश प्रसाद गुप्ताले बताए । चाडपर्व लक्षित मात्रै नभएर समय–समयमा अनुगमन गरे आफूहरुलाई पनि सजिलो हुने व्यापारीले बताएका छन् ।

किन हुन्छ चाडपर्वको बेला मूल्यवृद्धि ?
चाडपर्वमा हरेकजसो सामानको आवश्यकता पर्छ । नागरिक पैसा नभए ऋण गरेरै भए पनि सरसामान जुटाउन लाग्छन्, जसले गर्दा बजार अघिपछि भन्दा बढी नै भीडभाड हुन्छ । यही भीडभाडको मौका छोपी व्यापारीहरूको कमाउ धन्दा सुरु हुन्छ । यही बेलामा गुणस्तरहीन सामान बेच्नेहरूको होडबाजी चल्छ भने बढी नै मूल्य तिरेरै भएपनि सामान किन्न उपभोक्ता तयार रहन्छन् । दैनिक उपभोग्य सामानको माग पनि अरू बेलाभन्दा बढी हुन्छ । यही कारण विशेष गरी चाडपर्वहरूमा सामानको मूल्यवृद्धि हुने रोग पुरानै रोग हो, जसको स्थायी उपचार कहिल्यै हुने अवस्था देखिंदैन् । चाडपर्व त मूल्य बढाउने बहाना मात्रै हुन् । एकपटक बढिसकेपछि सामानको मूल्य घट्न गाहे छ । व्यापारीहरू यही मौकामा आफ्ना स्टक बसेका पुराना सामानहरू छुट र अफर भन्दै नागरिकलाई जबर्जस्ती भीडाउन खोज्छन्, जसले गर्दा बजारमा सामानको मूल्य बढ्छ ।

सुपथ मुल्य पसल सधैं किन संचालन हुँदैन् ?
सरकारले नै चार्डपर्वमा मात्र छुट दिने र अरू बेला नागरिकको ढाड सेक्ने नीति अवलम्बन गरेको छ । वर्षको साढे १० महिना नागरिकलाई महँगीले ढाड सेक्ने सरकार चाडपर्वको बहाना बनाएर डेढमहिने सुपथ मूल्य पसलको नाटक गर्छ । यस वर्ष पनि देशका बिभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन आउने भएका छन् । सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

के कारणले बजार प्रभावित हुन सक्छ ?
समाजमा व्याप्त गरिबी एकातिर छँदै छ भने सरकारी बजार अनुगमन फितलो अर्कातिर उस्तै छ । सरकारी अनुगमनकर्मीहरू बजारमा जान्छन् तर दुर्भाग्य व्यापारीहरूले नै लखेट्छन् । कतिपय ठाउँमा त व्यापारीसँगै अनुगमनकर्मीहरू मिलेर रकम लेनदेन गर्ने गरेका समाचार पनि आउने गरेका छन् । मानौं अनुगमनकर्मीको यो कमाइखाने भाँडोजस्तै हो । यसले गर्दा महँगी घट्नुको सट्टा झन् बढेको प्रस्ट छ । सरकारको बजार अनुगमन नाममात्रको हुँदा नागरिक महँगीको मारमा पर्नुपरेको छ भने बजारमा बिचौलिया र कालाबजारीहरूको कब्जा पनि उस्तै बढेको छ ।

के–केमा बढेको छ मूल्य ?
यतिबेला कुनै पनि सामान छैन, जसको बजारमा मूल्य नबढेको होस् । सुनदेखि नुनसम्म बढेकै छ । अझै तरकारीको मूल्य त २ सय प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । यस्तै जीराको मूल्य पनि बढेको छ । कपडाजन्य वस्तुको भाउ पनि छोइ नसक्नु छ । खसीबोकाको मूल्य पनि उस्तै बढेको छ । चार्डपर्व आउँछ, मानौं सामानको मूल्य बढाउनकै लागि आउँछ जस्तै अनुभव हुन थालेको छ । चाडपर्वमा यो चाहिँ सामान सस्तोमा पाइयो भन्ने कोही नागरिक छैनन् ।

अर्थशास्त्रको अन्तर्राष्ट्रिय मान्यता कस्तो छ ?
सामान्य अर्थमा कुनै पनि वस्तुको बजार माग धेरै भएपछि त्यसको मूल्य पनि बढ्छ र माग कम हुँदा मूल्य पनि घट्छ । विश्वका नागरिक जब सामानको अभाव हुन थाल्छ, त्यसको विकल्प खोज्न थाल्छन् । मानौं, बजारमा प्याजको मूल्य बढेको छ वा अभाव हुँदैछ भने उपभोक्ताहरू त्यसको विकल्प के होला भनेर त्यतातिर लाग्छन् । तर, नेपालमा भने विल्कुलै विपरीत छ । यहाँ कुनै सामानको भाउ बढ्न लाग्यो भने हामी विकल्प खोज्दैनौं, बरु त्यही सामानको स्टक राख्न महँगोमै भए पनि सामान जुटाउने तिर सोंच्न थाल्छौं । परिणाम स्वरूप बजारमूल्य बढ्छ र कालोबजारी पनि उस्तै बढ्छ । यो गलत संस्कारको अन्त्य हुने हो भने बजार सामान्य अवस्थामै रहन्छ ।

के हुन सक्छ समाधान ?
बजारमा भइरहेको अत्यधिक मूल्यवृद्धि रोक्ने हो भने सर्वप्रथम उपभोक्ता सजग हुनुपर्छ । जसको अभाव हुँदैछ त्यही वस्तुको खोजी गर्ने र स्टक राख्ने प्रवृत्ति छ उपभोक्तामा । त्यसको विकल्प के हुन सक्ला भनेर ध्यान दिने हो भने मूल्यवृद्धि कम हुन सक्छ । त्यस्तै सरकारी संयन्त्र पनि नाम मात्रको जस्तो हुने होइन । कालाबजारीहरूसँग जस्तोसुकै परिस्थितिमा पनि नझुक्ने र सामानको गुणस्तर चेकजाँच गर्न पहल गर्ने हो भने बजारमा अहिले भइरहेको अवस्थाको अन्त्य हुन्छ ।

यस्तै उपभोक्ताले पनि चाडपर्वमा मात्र सामान किन्ने होइन, केही हप्ता पहिले नै आफूलाई चाहिने सामानको जोहो गर्ने हो भने बजारमा भीड कम हुन्छ र अस्वस्थ रूपमा बढिरहेको मूल्यवृद्धि पनि घट्न जान्छ । सरकारले गर्ने भनिएको बजार अनुगमन पनि चाडपर्वमा मात्र गर्ने होइन, सधैं यस्तो छड्के अनुगमन गर्ने हो भने बढिरहेको बजार मूल्य आफैं नियन्त्रण हुन्छ । यसतर्फ सम्बन्धित निकाय, विशेष गरी उपभोक्ताकर्मी, नागरिक र सरकार सक्रिय रहनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्