विद्यार्थीको अन्वेषणात्मक क्षमता विकास गर्न हिलवर्टमा ३ दिने रोबोटिक्स तालिम 


पालिका पत्र

४ आश्विन २०८०, बिहीबार १९:१४ मा प्रकाशित

असोज   ०४ ।
हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले कपिलवस्तुमै पहिलोपटक ३ दिने रोबोटिक्स तालिमको सुरुवात गरेको छ । बाणगङ्गा  वार्ड नं. २, पिपरामा अवस्थित यस विद्यालयले विद्यार्थीमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता विकास गर्न खालको तालिमको आयोजना हो ।


जिल्लाको पहिलो ‘क’ बर्गको विद्यालयको रुपमा परिचित हिलबर्टले नेपाल रोबोर्ट एशोसियसनको समन्वयमा विहीवार देखि ६ गते तालिम आयोजना गरेको छ । यो पश्चिम नेपालमै नौलो सुरुवात हो । तालिममा विज्ञान, प्रविधि, आविष्कार, गणित, इन्जिनियरिङ लगायत उद्यमशीलताको विकास गर्दै पढाईलाई प्रविधि सँग जोड्ने काम हुनेछ । एक विद्यार्थी एक सीप भन्ने नाराको साथ विद्यार्थीमा आधुनिक प्रविधिको विकास गराउन यो तालिम महत्वपूर्ण हुने जनाईएको छ ।


यस्तै कार्यक्रमका प्रमुख अतिथिले विश्व बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थीहरू उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताए । हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ३ दिने रोबोटिक्स तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले समाज रूपान्तरणमा विद्यार्थीको घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षा महत्वपूर्ण हुने भएकाले प्राविधिक शिक्षा नै समय सापेक्ष शिक्षा रहेको जिकिर गरे ।

अधिकारीले फरक प्रसङ्गमा बोल्दै व्यवहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको बताएका छन् । उनले संविधानमा समावेश भएको कुरा शिक्षा विधेयकमा पेश भएको बताए ।  उनले शिक्षकका माग सम्बोधन गर्ने हो भने संविधान नै संसोधन गर्नु पर्ने बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै  बाणगङ्गा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरूको विदेश पलायनलाई रोक्न तिनै तहको सरकार, शिक्षक र अभिभावक गम्भीर हुनुपर्ने बताईन । अहिले पढ्न र सीप सिक्नु आवश्यक रहेको भन्दै सिकाइको लागि व्यवहारिक पक्षलाई विशेष जोड दिनुपर्ने उनको तर्क रहेको थियो ।


त्यस्तै इकाई प्रमुख शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका थानेश्वर घिमिरेले आजको आधुनिक वैज्ञानिक युगमा विभिन्न प्रविधिको महत्व रहेको बताउँदै यस्ता कार्य हरेक विद्यालयमा गर्न आवश्यक रहेको बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु प्याब्सन अध्यक्ष सुन्दर पाण्डेले रोबोटिक्स र आइ.एस.ओ को कार्यमा विद्यालयलाई  सफलताको शुभकामना दिदै विज्ञान र प्रविधिको युग तर्फ सबै विद्यालयले ध्यान दिनुपर्ने बताएका छन् । साथै उनले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थी तयार गर्नु अहिलेको आवश्यकता रहेको बताए ।


सर्टिफिकेट नेपालका म्यानेजर सुदीप शर्मा ले आइ.एस.ओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने बताउँदै लोगो प्राप्त गरेको हिलवर्ट ले सर्टिफाइट हुने गरि काम गर्नुपर्ने बताए । त्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिति र समुदायले इमानदार भएर काम गर्नुपर्ने धारण राखेका थिए ।


विद्यालयले पहिलो चरणमा आइ.एस.ओ सर्टिफाइट लोगो प्रप्त गरेको छ । अव आइ.एस.ओ सर्टिफाइट हुनका लागि विद्यालयले कुल ४२ वटा सूचकहरूमा क्रियाकलापलाई अगाडि बढाएको छ । 


तिन दिन सम्म चल्ने कार्यक्रममा रोबोटिक्स सम्बन्धी तालिममा विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागि बनाई विभिन्न सीपहरू सिकाइने छ । सीप सिक्नका लागि ६५ जना विद्यार्थीहरू सहभागि रहेका छन् । 


कार्यक्रममा विद्यालयका अध्यक्ष दीपक खनालको अध्यक्षता, शिक्षक रविन्द्र पौडेलको स्वागत मन्तव्य र शिक्षक तेज प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न विद्यालय र संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।  साथै कार्यक्रममा विद्यार्थीहरूद्वारा सांस्कृतिक गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्