सैनामैनाका दमकल चालक माथि हातपात गर्ने पक्राउ


पालिका पत्र

२६ आश्विन २०८०, शुक्रबार १८:३४ मा प्रकाशित


रुपन्देही, असोज २६ ।

रूपन्देहीको सैनामैना नगरपालिकामा कार्यरत दमकल चालक माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । सैनामैना नागरिक जागरण सञ्जालका उपाध्यक्ष समेत रहेका सैनामैना ९ संगम टोल निवासी भिमबहादुर सार्कीले नगरपालिकाको परिसरमा विहीबार दमकल चालक दीपक केसीलाई गाली गलौज गर्दै हातपात  गरेका थिए । 

नगरपालिकामा आएका भीम बहादुरलाई फर्किने क्रममा दिपकले ‘यो मोटर साइकल मेरो जस्तै छ, मैले कवाडीमा काटेर बेच्न भनेको थिएँ, तपाईंले यो गाडी चलाए जस्तै छ, नम्बर फेरेर गाडी नचलाउनुस्, दाइ फस्नुहोला’ भने पछि भिमले त को होस् भन्दै दीपक माथि नगरपालिका परिसर मै कुटपिट गरेका हुन् । 


दीपक केसीको मोटरसाइकल नम्बर लु १३ प ५०३५ रहेको र भिमले चलाउँदै आएको मोटरसाइकलको नम्बर लु १२ प ५०३५ रहेको छ , नम्बर प्लेटमा हेर्दा लु १३ लाई केरमेट गरेको प्रष्ट देखिन्छ । 

नगरपालिका परिसरमा नगरका कर्मचारी माथि कुटपिट भएको विषयमा कानुन अनुसार मुद्दा चलाउन नगरपालिका कार्यालयले शुक्रबार इलाका प्रहरी कार्यालय सालझण्डीलाई पत्राचार गरेको छ । 

कुटपिट गर्ने भीम बहादुर माथि र विवादित मोटरसाइकललाई इप्रका सालझण्डी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । भीम सँग सो मोटरसाइकलको बिलबुक भटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्