कपिलवस्तु, मंसिर २ । मुलुकको दोस्रो तथा लुम्बिनी प्रदेशकै एकमात्र दोस्रो बर्ड सेन्चुरी (पंक्षी आरक्ष क्षेत्र) जगदीशपुर तालमा गैरकानूनी रुपमा मोटर बोट (स्टिमर) संचालन गरिँदा पर्यापर्यटनमा असर परेको छ । अत्याधुनिक १० सिटे (चालक सहित) मोटरबोटको संचालन पछि चराको बासस्थान विथोलिएको छ भने आगन्तुक चराको आगमनमा असर परेको हाे ।
सर्लाहीबाट साढे १३ लाखमा खरिद गरेर उक्त स्टिमर ल्याईएको बताइएको छ । जगदीशपुर ताल जलासय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले ठेक्का लगाएर उक्त डुंगा चलाईरहेको छ । मञ्चले ०७६ सालदेखि यहाँ पाईडल डुंगा ठेक्का लगाउँदै आएको थियो ।
जैविक विविधता, सिमसार र चराका कारण विश्व सिमसार क्षेत्रमा सुचिकृत भएको ठाउँमा उनीहरुलाई असर पर्ने गतिविधि गर्न नपाउने प्रावधान हुँदाहुँदै तिहारको बिदाको समय छोपेर कार्तिक २८ गतेदेखि तालमा स्टिमर चलाईएको छ । पहिले संचालन भएका ४ वटा पाईडल डुंगापनि जर्वजस्ती चलाईएको छ ।
पाईडल डुंगा संचालन गैरकानूनी र अपारदर्शी रहेको उजुरी २०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा परेको थियो । अख्तियारले छानबिन गरि डिभिजन वन कार्यालयलाई तत्काल डुंगा बन्द गर्न निर्देशन गरेको थियो ।
निर्देशन गरेको दुई वर्ष बितिसक्दा पनि डुंगा बन्द हुन भने सकेको छैन् । पहिलेको गैरकानूनी कामको निर्णय कार्यान्वयन भए अहिले अझ ठूलो गलत काम गर्न आँट आएको स्थानीयले गुनासो गरे ।
मञ्चले स्टिमर सञ्चालनका लागि एक वर्षका लागि ७ लाख ५ सयमा ठेक्का दिएको छ । त्यो पनि आफ्नै साधारण सदस्य खेमराज पोखरेलले लिएका छन् ।
कानूनी रुपमा एक जनाको नाम भएपनि ८ जना शेयर सदस्य छन् । अहिले ल्याईएको मोटरबोट प्रतिदिन २ हजार ७ सय दिने गरि उही ठेकेदारलाई संचालनको जिम्मा दिईएको छ ।
तालको पश्चिमी क्षेत्रमा डुंगा चलाईएको छ । फिल्मी शैलीमा घुमाई घुमाई तिब्र गतिमा स्टिमर चलाँउदा स्थानीय तथा आगन्तुक चरा डराएर भाग्ने गरेका छन् ।
जाडो सुरु भएसंगै हिउँदे चरा आगमन सुरु भएको छ । तर, जगदीशपुरमा अहिले पाहुना चराको अवस्था देख्दा वरिष्ठ चराविद् डा. हेमसागर बराल भावुक भए । विकासको नाममा जगदीशपुर विनास तिर लाग्यो, उनले भने, यहाँको जैविक विविधता र चरा आकर्षण फर्काउन सकिँदैन् ।
सिमसार क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका संरक्षणकर्मी तथा वातावरणविद् डा. कमल थापा तालमा मोटरबोट संचालन गर्न उचित नहुने तर्क गर्छन् । तालको निश्चित स्थान तोकेर पेडल डुंगा संचालन गर्न सकिएता पनि स्टिमर सञ्चालन गर्नु ताल र पर्यापर्यटनका लागि घातक हुने डा. थापाको ठहर छ ।
स्थानीयकै मनोमानीका कारण वर्ड सेन्चुरी नै संकटमा परेको सरोकारवाला बताउँछन् । गत वर्षसम्म सबैभन्दा बढी पानी चरालाई आश्रय दिदै आएको तालमा यो वर्षदेखि पानी चरा घट्ने निश्चित छ । सन् २००१ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत उक्त ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा बर्ड सेन्चुरी घोषणा गरिएको थियो ।
१५७ हेक्टरमा फैलिएको नेपालकै दोस्रो पंक्षी आरक्ष क्षेत्र जगदीशपुरले हिउँदमा मात्रै १५ देखि २० हजार आगन्तुक चरालाई आश्रय दिँदै आएको छ । अहिले हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मंगोलिया, युरोप, कोरिया र तिब्बती क्षेत्रबाट चिसो छल्न, फुल पार्न र बचेरा हुर्काउन आउने चराहरु अवैध मानवीय हस्तक्षेपका कारण अप्ठेरोमा परेको विज्ञहरुको ठहर छ ।
सोही कारण कतिपय चरा जगदीशपुर तालमा गएका छैनन् । साना ताल तलैयामा आश्रय लिन पुगेपछि उनीहरु असुरक्षित बनेका हुन् ।