मोफसलकै पहिलो ‘सम्पादक संवाद’ कपिलवस्तुमा : ‘खबरदारी पत्रकारिता जरुरी रहेको तर्क’


पालिका पत्र

१५ बैशाख २०८१, शनिबार २०:१७ मा प्रकाशित

बैशाख १५ गते । प्रेस काउन्सिल नेपालले मोफसलकै पहिलोपटक कपिलवस्तुबाट ‘सम्पादक संवाद’ कार्यक्रमको सुरुवात भएको छ । सामाजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा आयोजना गरेको सम्पादक संवादमा सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव राखेका छन् ।

सहभागी सम्पादकहरूले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राखे । “भ्युअर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सनु भएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ”, कार्यक्रमका सहभागी नेपाल पत्रकार महासङ्घका कपिलवस्तु शाखा अध्यक्ष किरणमान बज्राचार्यले भने । पछिल्लो समय समाचारमा नभई नहुने तत्वको अभाव देखिएको उल्लेख गर्दै उनले मूलधारका सञ्चारमाध्यमले समेत अधुरो समाचार दिने गरेको बताए ।

एउटा व्यक्तिको पछि लाग्ने र खेदिरहने प्रवृत्ति हुँदा अहिले मिडिया माध्यम भएको तर सन्देश हुन नसकेकोतर्फ गम्भीर भई सोच्नुपर्ने उनको सुझाव छ । पछिल्लो समय प्रेस काउन्सिलले सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यममाथि गरेको निगरानी र अनुगमन प्रभावकारी हुँदै गएको उनले औँल्याए ।

यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चारमाध्यम सरह अनुगमन तथा निगरानी भइरहेको र त्यसलाई कसरी प्रभावकारी बनाउने भनी सम्पादक संवादबाट सुझाव अपेक्षा गरेको बताए । यस्तै बस्नेतले प्रेस काउन्सिलमा प्राप्त हुने उजुरी, कारबाही प्रकृया लगायतका बारेमा कुराहरु राखेका थिए । पत्रकारहरुले चलाउने सामाजिक संजाल, लेख, रचना, समाचार सबै विश्वसनीय हुनुपर्ने भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । खबरदारी पत्रकारिता जरुरी रहे पनि तथ्यमा जानु पर्ने भन्दै गुणगान पत्रकारिताले पनि समस्या सिर्जना भएको उनको भनाई छ ।

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत र सदस्य ठाकुर बेलबासेले पत्रकार आचारसंहिता, पत्रकारिताको दायित्व, काम, कर्तव्य र अधिकार बारे प्रकाश पारेका थिए । सदस्य बेलबासेले पत्रकार भनेको को हो ? कस्तो हुनुपर्दछ र उनीहरुको सामाजिक परिचयका विषयमा कुरा राख्दै पत्रकार आचारसंहिताका विषयका बिभिन्न उदाहरण दिएका थिए । बेल्बासेले कुनै पनि घटनामा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दा विचार गर्नुपर्ने बताए । विज्ञापनदाताले सामाजिक सञ्जालमार्फत सिधै विज्ञापन दिँदा अहिले व्यावसायिक पत्रकारिता मर्न लागेको उनको भनाइ थियो । “पत्रकारिता हामीलाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो भने सबै गम्भीर हुनुपर्छ । सरकारले पनि सोच्नुपर्छ,” उनको सुझाव थियो ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका पूर्वअध्यक्ष मनोज पौडेलले मूलधारका सञ्चारमाध्यममा सामाजिक सञ्जालले समाचार सामग्री, विज्ञापन, पाठक लगायतका विषयमा प्रभाव पारेको बताए । उनले युट्युब लगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको बताए । उनले समग्र कपिलवस्तुको पत्रकारिताको बर्तमान अवस्थाका बारेमा कार्यक्रममा प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, बुद्धभूमि नगरपालिकाका प्रमुख केशब कुमार श्रेष्ठ र बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, प्रहरी उपरिक्षक नवरत्न पौडेल, सहायक प्रजिअ भविश्वर घिमिरेले आआफ्नो धारणा राखेका थिए । पत्रकार महासंघ कपिलवस्तुले समन्वय गरेको कार्यक्रममा उनीहरुले कार्यक्रम निकै राम्रो भएको, पत्रकारसंग पहिलोपटक खुलेर आफ्ना कुरा राख्न पाएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चारिका समूहकी लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष पार्वती पाण्डे, पालिकापत्रका सम्पादक भुपाल थापा, अपि टाइम्सका सम्पादक चन्द्रकान्त न्यौपाने, रेडियो मायादेवीका स्टेसन म्यानेजर हरि घिमिरे, सहायक म्यानेजर हरि आचार्यले जिल्लाको अवस्था र समस्याको बारेमा अवगत गराएका थिए । उनीहरुले कपिलवस्तुको पत्रकारका अवस्था र पत्रकारिताका बारेमा सुझावत्मक टिप्पणी गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिँदा काउन्सिलजस्ता निकायले आचारसंहिताको अनुगमन र नियमन गर्नुपर्ने बताए ।

महासंघका अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षता, सचिव जानु पाण्डेको संचालन र उपाध्यक्ष हरि अधिकारीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम निकै फलदायी भएको पत्रकार र जनप्रतिनिधिले बताए । छापामाध्यम, अनलाइन, रेडियो, टेलिभिजन, युट्युब च्यानलसहितका सम्पादक र समाचार कक्षका प्रमुखसहित प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन, मधेसी पत्रकार समाज सहित विभिन्न सञ्चार सङ्गठनका अध्यक्ष र प्रतिनिधि समेत कार्यक्रममा सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्