बुद्धभूमिमा ५ वर्षे रोजगार रणनिति योजनाको प्रारम्भिक मस्यौदा बारे छलफल 


पालिका पत्र

१८ जेष्ठ २०८१, शुक्रबार २०:४५ मा प्रकाशित

कपिलवस्तु, जेठ १८ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले  तयार गरेको बुद्धभूमिको ५ वर्षे रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल भएको छ। कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाले बुद्धभूमिमा भएको बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न स्थानीय तहले प्रदेश, संघ र बिभिन्न उद्योग तथा कलकारखाना र रोजगार प्रदायकसँग आवश्यक समन्वय गर्नु पर्नेमा जोड दिएका छन ।

सो मस्यौदामा बुद्धभूमि नगरपालिका भित्र रोजगारको अवसर सिर्जना गरि बढ्दो बेरोजगारी र गरिबीलाई न्यूनिकरण गर्न नेपालको संवैधानिक र कानूनी व्यवस्था भए बमोजिम प्रत्येक नागरिकलाई रोजगारीको हकको सुनिश्चितताले नागरिकलाई स्वदेशमै रोजगारीमा संलग्न गराउन संघीय लोकतान्त्रिक व्यवस्था अन्तर्गतका सरकारहरू रोजगार तर्फ केन्द्रित रहेको र आर्थिक वृद्धि र गरिबी न्यूनिकरणको आधार नै उत्पादनशील रोजगारी रहेको उल्लेख गरिएको छ।

नागरिकलाई न्यूनतम रोजगारीको हकलाइ सुनिश्चित गर्न, उत्पादनशील रोजगारी र विकासका पूर्वाधारका क्षेत्रमा नेपालको श्रम शक्तिलाई प्रतिस्पर्धी एवम् सुरक्षित रोजगारीमा संलग्न गराइ राष्ट्रिय अर्थतन्त्रलाई सबल र गतिशील बनाई रोजगारीको हकलाइ व्यवहारिक कार्यान्वयन गर्न स्थानीय तहमा रहेको श्रोत साधन प्रयोग गरि रोजगारका राष्ट्रिय प्राथमिकता र दीर्घकालिक दृष्टिकोण प्राप्तिमा केन्द्रित हुनु स्थानीय तहले आगामी आ.व. २०८१ / ०८२ को वार्षिक योजनामा आवश्यक बजेट व्यवस्थापन गरिने पालिकाका प्रमुख केशव कुमार श्रेष्ठले प्रतिवद्धता जनाए ।

नगर प्रमुख श्रेष्ठले रोजगारी संवैधानिक व्यवस्था र कानूनी प्रावधान तथा संघ, प्रदेश र स्थानीय तहले तर्जुमा गरेका रोजगारी सम्बन्धी नीति, नियम, कार्यविधिलाई आम नागरिकको जीवनमा रूपान्तरण ल्याउन बुद्धभूमि नगरपालिकामा रोजगार रणनीतिको आवश्यकतालाई पुरा गर्न श्रोत साधनको समुचित र एकीकृत गरी नगरपालिकामा आन्तरिक रोजगारी सिर्जना गर्न सहयोग पुग्नेगरि न्यूनतम रोजगारीका कार्यक्रम, उद्यमशीलता तालिम, व्यवसायिक सीप विकास, सीपयुक्त जनशक्ति परिचालन गर्ने वस्तुगत आधार प्रदान गर्न मस्यौदाले सहयोग गर्नेमा विश्वास व्यक्त गरे। 

कार्यक्रममा सहभागीहरूले रोजगार नीति, २०७१ ले नेपालमा उपलब्ध श्रम शक्तिलाई प्रतिस्पर्धी बनाउँदै श्रम बजारको माध्यमबाट उत्पादनशील, मर्यादित एव सुरक्षित रोजगारीमा संलग्न गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल र गतिशील बनाई गरिबी निवारणमा योगदान पुर्याउने उद्देश्यका साथ मस्यौदा गरिएको रणनीतिलाई आधार बनाई स्थानीय तह, प्रदेश, संघ र रोजगार प्रदायक संघ संस्थाहरूसंग समन्वय र सहजिकरण गर्नुपर्नेमा वडा नं। ४ का वडा अध्यक्ष सुशील कुमार चौधरीले जोड दिए ।

स्थानीय तहबाट सञ्चालन गरिने बिभिन्न व्यवसायिक सीपमुलक तालिमहरूलाई प्रतिफलमा आधारित बनाउन स्थानीय तहले समेत सम्बन्धित पक्ष, प्रशिक्षार्थी, रोजगार प्रदायकहरूको नियमित रुपमा अनुगमनर नियमन गर्नु पर्नेमा बुद्धभूमि नगरपालिकाका  प्रधानमन्त्री रोजगार संयोजक रविन चौधरीले जोड दिए। 

कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले स्थानीय निकायमा सूचिकृत भएका श्रमिकलाई सकेसम्म सोही स्थानीय निकायमा सञ्चालित आयोजनामा परिचालन गर्न सकिएको अवस्थामामै रणनीतिको प्रभावकारिता बलियो हुने धारणा व्यक्त गरे । यसैगरी विषयगत शाखा प्रमुखहरूले छलफलमा सहभागि हुँदै स्थानीय तहबाट बितरण गरिने सेवा सुबिधा जस्तो अनुदानका कार्यक्रमहरू च्याउको बीउ, गहुँको बीउ, कृषि औजार जाडोमा बाँडिने कम्बल झुल आदि न्यूनतम रोजगारी पाउन नसकेका श्रमिकलाई प्राथमिकता दिन सकियो भने दोहोरोपन हट्ने तथा आवश्यकता पहिचान गर्न सहज हुनेमा जोड दिए । 

रोजगार संयोजक रविन चौधरीले कार्यक्रमको सहजिकरण गर्दै सकेसम्म स्थानीय आफैले सञ्चालन गरेका बिभिन्न विकास योजना कार्यहरूमा पालिकामा सूचिकृत बेरोजगार ब्यक्तिहरूलाई संलग्न बनाइएको अवस्थामा सूचिकृत भएपनि काम पाइदैन भन्ने स्थानीयको गुनासोलाई केही हदसम्म भएपनि न्यूनिकरण गर्न सकिने बताए । 

पालिकाका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता तथा रोजगार संयोजक रविन चौधरीको सहजिकरणमा पालिकाको सभाहलमा छलफल कार्यक्रम सम्पन्न भएको हो । उक्त तयार गरिएको पालिकाको ५ वर्षे रोजगार रणनीति योजनालाई अझै परिष्कृत गरि नगरसभाबाट पारित गरिने छ।  छलफल कार्यक्रममा पालिकाका विषयगत शाखा प्रमुखहरू,  वडा अध्यक्ष, कर्मचारी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्