बाणगङ्गा, असार ०२ । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाका गतिविधि पारदर्शी हुनुपर्ने बताएका छन् ।
आसन्न नगरपालिकाको १५ औँ नगर सभा तथा नीति कार्यक्रमको सन्दर्भमा पत्रकारहरूसँग भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत मरासिनीले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका हरेक गतिविधि ठिकठाक हुनुपर्ने बताएका हुन् ।
मरासिनीले भने, ‘आदर्श र व्यवहार फरक कुराहरू हुन् । कतिपय अवस्थामा आदर्शभन्दा पनि व्यावहारिक भएर काम गर्नुपर्दछ । सार्वजनिक ब्यक्तिका बारेमा गुनासा टिप्पणी आउनु स्वभाविक हो । यसलाई अनर्थ लिनु पनि हुँदैन । म भन्दैछु हाम्रा गतिविधि छ्याङ्गै हुनुपर्दछ, नाङ्गै होइन ।’
मरासिनीले नाङ्गै हुने काम कसैले पनि गर्न नहुनेमा जोड दिए । नगरभित्रका ब्यक्तिबाट नगरकै बदनाम हुने गरी गतिविधि भए त्यो क्षम्य नहुने उनको आशय थियो । मरासिनीले आगामी असार ५ गते १५ औँ नगर सभामा प्रस्तुत हुने नीति कार्यक्रममा पनि पारदर्शिताका विषय समावेश हुने बताए ।
उनले आगामी नीति तथा कार्यक्रममा सामाजिक तथा भौतिक पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा, शुसासन तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम आउने बताए ।
कार्यक्रममा पत्रकारहरूले नगरपालिकाको समग्र विकास र स्थानीय मिडियाको संरक्षण हुने र गरी नीति कार्यक्रम ल्याउन सुझाएका थिए ।
पत्रकारका कुरा सुनिसकेपछि नगरप्रमुख चक्रपाणी अर्यालले धन्यबाद दिँदै रचनात्मक सुझाव ग्रहण गरेर अघि बढ्ने बताए । आगामी बजेटले नगर मातहतका रेडियो, टिभी लगायतका मिडिया र श्रमजीवी पत्रकारमा रहेका समस्या सम्बोधन गर्ने बताए ।