अन्ततः कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरियो


३२ असार २०८१, सोमबार १०:२८ मा प्रकाशित

असार ३१ गते ।
कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा भएको छ । जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि आइतबार जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषित गरिएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । जिल्लाका सबै स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी खोपको सुनिश्चिततासँगै यसको दीगोपनाका लागि सबै पक्षले काम गर्ने प्रतिवद्धतासहित घोषणा गरिएको हो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री पुनले शिक्षा र स्वास्थ्य राज्यको पहिलो दायित्व भएको हुँदा सबैलाई यसको पहुँचमा पुर्याउने प्रयास जारी रहेको बताए । उनले राज्यका हरेक सूचकांकहरुको पूर्णताका लागि सबे तहतप्काका ब्यक्ति समुदायले आआफ्नो जिम्मेवारी गम्भिरता पूर्वक निर्वाह गर्नुपर्ने तर्क गरे । चालु आर्थिक बर्षभित्रै सगौरव रुपमा लुम्बिनी प्रदेशलाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना प्रदेश घोषणा गरिने उद्घोष समेत उनले गरे ।

यसैगरी जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख आचार्यले नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न सबै तह र तप्का निरन्तर लाग्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ अभियानलाई निरन्तरता दिइरहेको उनको ठोकुवा थियो । आफु संलग्न सबै बैठक, गोष्ठीहरुमा स्वास्थ्य क्षेत्र सूधारका बिषयलाई केन्द्रित गरेर गम्भिरताका साथ कार्य गरिरहेको आचार्यले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण चौधरीले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको प्रमाण पत्र पढेर सुनाउँदै स्वास्थ्यमन्त्री मार्फत जिल्ला खोप समन्वय समितिलाई प्रमाण पत्र हस्तान्तरण गरे । कार्यक्रममा जिल्लाका ७० जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले बताए । प्रदेश सरकारको ५० हजार र जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट २० हजार गरि ७० हजार रुपैया सम्मानित स्वयंसेविकाको खातामा पठाइएको उनले बताए । बिभिन्न पालिकाका गरि नयनज्योती अहिर, सुर्जावती देवी कुर्मी, कमलावती बरई, झिन्का पासिन, तुल्सा तिउरानी, बिष्णु कुमारी थापा, लिलावती श्रीवास्तव लगायत ७० जनालाई सम्मान गरिएको छ ।

सो अवसरमा, बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रीता कुमारी चौधरीले मानिसले खुशी र समृद्धि चाहने हो भने स्वास्थ्यमा सुधार हुन जरुरी रहेको बताइन् । उनले आफ्नो नगरले घरमा हुने प्रसुती शुन्य घोषणा गरेको र पुर्ण पोषणमैत्री पालिका घोषणाको कार्यक्रम अन्तिम चरणमा पुर्याएको जानकारी दिईन । 

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले मानिसले आफ्नो शरीर स्वस्थ राख्न आनीबानी र जीवनशैलीमा ध्यान दिनु आवश्यक रहेको बताए । उनले कपिलवस्तुलाई माथिल्लो निकायबाट अपनत्व बिहिन अवस्थामा पुर्याएको कारण समयमै उपलब्धीमूलक कार्य गर्न नसकिएको तर्क गरे । स्वास्थ्यमन्त्रीले स्थानिय तहको गुनासो सुन्न समय नदिएको चौधरीले बताए । स्वास्थ्यको सुचक पुरा गर्न कर्मचारी, जनप्रतिनिधी सगै नागरिक पनि उत्तिकै सचेत हुनु पर्नेमा उनको जोड् थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख रमेश कुर्मी, शिवराज नगरपालिकाका मेयर अजय थापा, बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, बिजयनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी लगायतले स्वास्थ्य क्षेत्रमा कपिलवस्तु बासी गम्भिर हुनुपर्ने बताए । स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पब्लिक हेल्थ नर्स शान्ती भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्