बुटवल उपमहानगरलेः बटौली क्षेत्रलाई पुनःस्थापित गर्ने


पालिका पत्र

६ भाद्र २०८१, बिहीबार १९:१८ मा प्रकाशित

बुटवल, ६ भदौ । बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ । बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनः निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो ।

सोहीअनुसार सुरुमा वडा नम्बर १ का केही घरहरुको पुनः निर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पु¥याउनका लागि अध्ययन गरेर बाँकी काम अगाडि बढाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनका अनुसार अहिले माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्राबजार र लायन्सगेटसम्मको क्षेत्रका ४२ घरलाई पुनस्र्थापित गर्ने गरी योजना बनाइदैछ ।

जसका लागि स्थानीयसँग छलफल गर्ने, इच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रुपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको प्रमुख पाण्डेयले बताए ।

’बटौली बजारलाई कसरी गुल्जार बनाउन सकिन्छ भन्ने विषयमा हामीले धेरै अघिदेखि छलफल चलाउँदै आएका छौं, उनले भने–बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय रुपमा स्थापित गर्न सकिन्छ ।’
पुरानो बुटवलका नामले परिचित बटौलीमा थुपै पुराना र ऐतिहासिक घरहरु छन् । ती घरहरुमध्ये जीर्ण भएका र पुननिर्माण गर्न सम्भव हुने घरहरुलाई नयाँ स्वरुप दिएर पूरानो बुटवलको मौलिकतामा लैजाने गरी शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको प्रमुख पाण्डेयले बताए ।

उनका अनुसार बटौलीलाई मौलिक शैलीमा जोगाएर यहाँको पहिचानलाई उजागर गर्ने र बटौलीमा परम्परागत शैलीको व्यापारलाई पुनस्थापित गर्ने योजनामाथि छलफल भइरहेको छ ।

चालु आर्थिक वर्षमा पूरानो बुटवल क्षेत्रमा हाइमास्ट लाइट र परम्परागत फल्चा निर्माणका लागि बजेट छुट्याइएको र अरु क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको प्रमुख पाण्डेयले बताए ।

जसअनुसार शुरुमा ४२ वटा घरहरुलाई नमूनाका रुपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरुलाई पुरानै शैलीमा रुपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीयबासिन्दाबीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बुटवल उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

तीन पक्षबीच सहमति भइ काम शुरु भएमा २ वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्नसक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्टमाथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिकाबीच छलफल भएको श्रेष्ठले बताए ।

बजार धेरै पुरानो भएपनि ६२ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो। बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो। पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालियो ।

२०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो । २०७१ साल मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो ।

बटौली बजार कुनै समय अहिलेको मुख्य बजार भन्दा तिनाउपारि मात्र सीमित थियो । २०२० को दशकतिर तिनाउवारि खस्यौलीमा पनि बस्ती र बजार विस्तार हुँदै गए । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्