कपिलवस्तुको यशोधरामा ओली प्रकरण : भारतीय शैक्षिक प्रमाणपत्रले जागिर खाँदा मुद्दा


पालिका पत्र

६ भाद्र २०८१, बिहीबार २०:४८ मा प्रकाशित

भदौ ६ गते । कपिलवस्तुको यशोधरा गाउँपालिकाको सिनियर अनमी (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली क्षेत्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सरस्वतीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अख्तियारको दाबी छ । नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा स्तर बृद्धि भई सिनियर अनमीमा काम गर्दा उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि अख्तियारमा उजुरी परेको थियो ।

उजुरीमाथि छानबिन गर्दा सरस्वतीले भारतबाट ल्याएर पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

‘सरस्वतीले नक्कली प्रमाण–पत्र पेश गरी लाभ एवं सुविधा लिएको पाइएको छ, अख्तियारले दायर गरेको आरोपपत्रमा भनिएको छ, ‘उनले प्रचलित भ्रष्टाचार निवारण ऐनमा परिभाषित कसुर गरेको पुष्टि हुन आएको छ । यसर्थ उनलाई सोही ऐनबमोजिम सजाय हुन मागदाबी लिई बिहीवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्