हरि घिमिरे, ०५ असोज ।
लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय मेगा शून्य रिट्रीट भव्य रूपमा सम्पन्न भएको छ। लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हलमा आयोजित यस कार्यक्रमलाई डिएक्सएन (DXN) इन्टरनेशनलले आयोजना गरेको हो। प्रमुख वक्ता डा. राजेश सबेराले विश्वभरका साधक र ध्यानप्रेमीहरूको मानसिक शुद्धताका लागि रिट्रीट आयोजना गरिएको बताए।
डा. सबेराले सहभागीहरूलाई ध्यान, शान्ति, र मानसिक सन्तुलनमा विशेष प्रशिक्षण दिए। सहभागीहरूले शून्यता (सुन्यता)को महत्त्व र दैनिक जीवनमा यसको उपयोगबारे विस्तृत जानकारी प्राप्त गरे।
कार्यक्रममा अनलाइन माध्यमबाट विभिन्न देशका प्रशिक्षकहरूले पनि सहभागी भएर शून्यताको दर्शन र यसको व्यावहारिक पक्षमा प्रशिक्षण प्रदान गरे। सहभागीहरूले ध्यान र योगका विविध विधिहरू सिक्दै आन्तरिक शान्ति प्राप्त गर्ने उपायहरूमा ध्यान केन्द्रित गरे।
आयोजक मोहम्मद रफिकले रिट्रीटले आन्तरिक शुद्धता र मानसिक शान्तिका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए। लुम्बिनीको ऐतिहासिक र आध्यात्मिक महत्त्वका कारण यसले अन्तर्राष्ट्रिय ध्यान समुदायलाई आकर्षित गरेको उनले बताए।
यस रिट्रीटले ५ हजारभन्दा बढी सहभागीहरूलाई ध्यान, योग, र मानसिक सन्तुलनको अभ्यासमा सशक्त बनाउँदै आन्तरिक शुद्धताको प्रेरणा दिएको छ। नेपाल र भारतका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।