कात्तिक १६ गते । कपिलवस्तुमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकिदिएको हो ।
जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ । बुधबार सूचना जारी गर्दै राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने बताएको हो ।
चाडपर्व मनाउने सन्दर्भमा प्रचलित कानूनको पालना गरी सामाजिक सद्भाव, एकता र सांस्कृतिक पहिचान कायम राख्न समेत प्रशासनले आग्रह गरेको छ ।
सडक किनारमा खुला रुपमा बिक्रीका लागि राखिएका मिठाई एवं खाद्यवस्तुहरु खरिद नगर्नु हुन समेत सर्वसाधारणलाई आग्रह गरिएको छ । चाडवाडको समयमा म्याद गुज्रेका खाद्यवस्तु, पेय पदार्थ लगायतका गुणस्तरहिन उपभोग्यवस्तुको बिक्री वितरण हुन सक्ने अत्याधिक सम्भावना हुने हुँदा त्यस तर्फ सचेत रहने समेत भनेको छ ।
साथै मैनबत्ती र बिजुली प्रयोग गर्दा सावधानी अपनाउन पनि आग्रह गरेको छ । भुईंचम्पा, पटका, आतिसबाजी जस्ता प्रज्वलनशील तथा विष्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न पनि रोक लगाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता क्रियकलाप गर्न पनि बन्देज छ । यदि कसैले उल्लिखित नियमहरुको पालना नगरेमा कानुन बमोजिम कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।
कुनै व्यक्ति/संस्था/समूहले कुनै शंकास्पद एवं अवान्छित कृयाकलाप गर्ने/गरेको देखिएमा तत्काल नजिकको प्रहरीलाई खबर गरी सहयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।