बाणगंगा, २७ कार्तिक। कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय कृषकहरूलाई अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गर्न सुरु गरेको छ। नगरपालिकाको कृषि विकास शाखाले सोमबारदेखि गहुँका पाँच विभिन्न उन्नत जातहरू — बाणगंगा, गौतम, विजय, भृकुटी, र एनएल ९७१ — का बिउ वितरण गरेको हो। कृषि शाखाका प्रमुख लेष बहादुर केसीका अनुसार सोमबार वडा नं. ६, ७, ८, र ९ का कृषकहरूलाई बिउ बाँडिएको छ भने २७ गतेसम्म यी वडामा बिउ वितरण हुने छ।
२९ गतेसम्म बाँकी वडाहरूमा जनसेवा कृषि सहकारी गजेहडाको समन्वयमा वडा नं. १, २, ३, ४, ५, १०, र ११ का कृषकहरूलाई बिउ वितरण गरिने कार्यक्रम रहेको छ। बिउ वितरण विहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ। नगरप्रमुख चक्रपाणी अर्यालका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदान र कृषकहरूको ५० प्रतिशत लागतमा गहुँको बिउ खरिद गरी वितरण गरेको हो। यस योजनामा नगरपालिकाको ३८ लाख ५० हजार र कृषकहरूको १९ लाख २५ हजार गरी ५७ लाख ७५ हजार रुपैयाँ लगानी भएको छ।
बाणगंगा नगरपालिकाले कृषकहरूसँगै कृषिमैत्री योजनाहरू लागू गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिहरू ल्याएको नगरप्रमुख अर्यालले बताए। बिउ वितरण योजना समेत कृषकको मागको आधारमा तयार पारिएको हो। वडा नं. ११ मा १८५ क्युन्टल र वडा नं. १० मा १८० क्युन्टल गहुँको बिउको माग रहेको छ।