बाणगंगा, १२ मंसिर । बाणगंगा स्थित बुद्ध रंगशालामा मंसिर १९ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने १५औं कपिलवस्तु महोत्सवको तयारी तीव्र भइरहेको छ। बुधबार कपिलवस्तु उद्योग वाणिज्य संघले क्रियाशील पत्रकार र मिडिया हाउसहरूसँग अन्तरक्रिया गर्दै महोत्सवलाई सफल बनाउन समन्वयात्मक रूपमा काम गर्न साझा धारणा तय गरेको छ।
महोत्सवका संयोजक एवं संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले विगतका संस्करणहरूमा पत्रकारहरूको भूमिकाले महोत्सवलाई सफल बनाउन ठूलो योगदान गरेको स्मरण गराउँदै यसपटक पनि मिडियाको सकारात्मक सहयोग अपरिहार्य रहेको बताए। “महोत्सवको सफलताले आयोजक र मिडियाको सफलता सुनिश्चित गर्छ। कुनै कमजोरी देखिएमा मिडियामा आउनुभन्दा पहिले जानकारी गराइदिनुहोला, सच्याउने जिम्मेवारी हाम्रो हो,” क्षेत्रीले भने।
संघका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेल र अन्य वक्ताहरूले पत्रकारिता क्षेत्रले विगतमा खेलेको भूमिकाको सराहना गर्दै महोत्सवको सकारात्मक पक्षलाई उजागर गर्न आग्रह गरे। साथै, आयोजकले विगतका कमजोरीहरूलाई सुधार गरी महोत्सवलाई ऐतिहासिक बनाउने लक्ष्य राखेको बताए।
पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष डिलाराम भुसाल, उपाध्यक्ष हरि अधिकारी, पत्रकार चन्द्रकान्त न्यौपाने, हरि घिमिरे, मोहन बेलबासे, कृष्ण पौडेल लगायतका पत्रकारहरूले आयोजकसँग निरन्तर समन्वय गरेर अघि बढ्न सुझाव दिएका छन्।
संघका महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सांस्कृतिक कार्यक्रम संयोजक रामजी ज्ञवालीसहित अन्य पदाधिकारीहरूको सहभागिता थियो। आयोजकले मंसिर १५ गते पत्रकार सम्मेलन गरी महोत्सवबारे विस्तृत जानकारी दिने घोषणा गरेको छ।