कपिलवस्तु, मंसिर १८ गते । कपिलवस्तुको यशाेधरा गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ (इजीएल) बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ गरिएको छ । प्रारम्भिक कक्षाहरूको पहुँच एवम् गुणस्तरीय शिक्षा सेवामा सुधार ल्याउन पालिकाका ३९ वटा सामुदायिक एवम् मदरसाहरुमा उक्त कार्यक्रमको प्रारम्भ गरिएको हो । प्रारम्भिक कक्षाका विद्यार्थीको प्रभावकारी शिक्षण सिकाई केन्द्रित गुणस्तरीय शिक्षामा कार्यक्रमले जोड दिने गाउँपालिकाले अपेक्षा गरेको छ ।
आइतबार एक कार्यक्रमको औपचारिक रूपमा शुभारम्भ गर्नुहुँदै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले यो कार्यक्रमबाट प्रदेश सरकारको प्रारम्भिक कक्षामा शैक्षिक पहुँच तथा गुणस्तरमा सुधार ल्याउने लक्ष्य प्राप्तिमा कोशेढुङ्गा सावित हुने विश्वास ब्यक्त गरे । साथै युएसएआइडीबाट थालनी भएको प्रारम्भिक कक्षाको सिकाइ सुधार निश्चित रुपमा अत्यावश्यक रहेको र यसबाट उच्च कक्षाहरुको सिकाइमा समेत राम्रो नतिजा ल्याउनमा महत्वपूर्ण योगदान पुग्ने बताए । समाज रुपान्तरणमा स्थानीय सरोकारवालाले नै भूमिका निर्वाह गर्न समेत तिमिल्सिनाको आग्रह थियो ।
त्यसैगरी, कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रदेश सचिब भुपेन्द्र थापाले विद्यालय अनुदान कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी शैक्षिक सुधारको यस अभियानमा सबै स्थानीय सरकारहरू तथा विद्यालयहरूलाई जिम्मेवार भएर आवश्यक समन्वय, सहकार्य र साझेदारीका आधारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे । शैक्षिक नीति बमोजिम शैक्षणिक क्रियाकलाप र शिक्षण ब्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा समेत थापाले जोड दिए ।
युएसएआइडी परियोजना निर्देशक डा. आनन्द पौडेलले प्रदेश तथा स्थानीय सरकारका शिक्षासम्बन्धी नीति तथा प्राथमिकता पूरा गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरू तथा प्रदेशस्तरमा शिक्षा हेर्ने मन्त्रालयसँग साझेदारी एवम् सहकार्य गरिरहेको बताए ।
सामाजिक बिकास मन्त्रालयका उपसचिव शारदा बस्यालले कपिलवस्तुको दक्षिणी क्षेत्र शिक्षामा कमजोर देखिएता पनि आगामी समयमा यस्ले फड्को मार्नेमा बिश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै यसोधरा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले यस कार्यक्रमबाट प्राप्त विद्यालय अनुदान गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । साथै उनले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि प्रतिबद्धता समेत व्यक्त गरे ।
युएसएआइडी प्रारम्भिक कक्षा सिकाइले संचालन गरेको यो कार्यक्रम लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका करिब ६४३ विद्यालयहरूमा सञ्चालन हुने कार्यक्रमका प्रदेश इन्चार्ज सुभाष यादवले जानकारी दिए । प्रारम्भिक कक्षा १ देखि ३ मा अध्ययनरत विद्यार्थीको शैक्षिक उपलब्धि सुधारका क्रियाकलापमा खर्च गर्ने गरि कार्यक्रमले प्रति विद्यालय ५ लाख प्रदान गर्नेछ ।
जस अन्तर्गत विद्यालयहरूले सिकाइ वातावरणमा सुधार ल्याउनका लागि कक्षाकोठामा सिकाइ सामग्री, सहितको सिकाइ कुनाको व्यवस्थापन, सिकाइ अवस्था कमजोर भएका बालबालिकाहरूको लागि अतिरिक्त सिकाइ सहयोगको व्यवस्था साथै समावेशी सिकाइ वातावरण विकास गर्नका लागि समुदायको सहभागिता समेत अभिवृद्धि गर्न विभिन्न क्रियाकलापहरू सञ्चालन गर्नेछन् ।
सन् २०२३ बाट शुरु भई २०२८ सम्म चल्ने यो कार्यक्रमले शिक्षा योजना तथा नीतिहरू मार्फत सिकाइ उपलब्धि सुधारमा सुनिश्चितताका लागि स्थानीय, प्रदेश र संघीय तहको क्षमता विकासमा प्राविधिक सहायता प्रदान गर्नेछ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी, गाउँपालिका उपाध्यक्ष गुन्जादेवी मार्य, प्रमुख प्रशासकीय अधिकृत ऋषभ देव खनाल, विद्यालय तथा मदरसाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरु, मौलाना, मौल्बी, पालिकाका ८ वटै वडाका वडाध्यक्ष, उपाध्यक्ष, गाउँ शिक्षा समितिका पदाधिकारीहरु, लगायतको सहभागिता रहेको थियो । यस कार्यक्रम यशोधरा गाउँपालिकाका ३९ विद्यालय तथा मदरसामा लागू हुने कार्यक्रम संयोजक मोहित मिश्रले बताए ।