कपिलवस्तु, मंसिर २१ गते । लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले माटोको दिगोपना र उर्वराशक्ति अभिवृद्धिका लागि सबैको हातेमालो हुनु आवश्यक रहेको बताएका छन् । मानव समाजको अस्तित्व जोगाउने काम समेत माटोले गर्ने उल्लेख गर्दै मन्त्री पन्थीले माटोको संरक्षणका लागि स्वयम् कृषक नैै जागरुक हुनुपर्ने पनि बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँके र कृषि ज्ञान केन्द्र कपिलवस्तुको संयुक्त आयोजनामा “माटोको सुधार ः परीक्षण, रेखदेख र उपचार”, भन्ने नाराका साथ मनाइएको ११औं माटो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले प्रविधीलाई सही ढंगले परिचालित गर्दै माटोको सुधार र उपचार गर्न आग्रह समेत गरे ।
यसैगरि, पाठ्यक्रममा नै माटोको महत्व र सुरक्षाको सन्दर्भ समेटिएको खण्डमा बिद्यार्थीहरुले आफ्ना अभिभावकलाई माटो ब्यवस्थापन तथा सुरक्षा, उर्वराशक्ति अभिवृद्धिका लागि महत्वपूर्ण पहल रहने समेत उनले बताए । सामाजिक परम्परा र समाज संचालनका लागि माटोको भूमिका र महिमा अत्यन्तै महत्वपूर्ण रहेकाले जीवन निर्वाहका लागि माटो नै बचाउनुपर्ने तर्क पन्थीको छ ।
कार्यक्रममा कृषि बिकास निर्देशनालय लुम्बिनी प्रदेशका कृषि प्रसार निर्देशक राम प्रसाद पाण्डेले माटो जीवनको अर्को स्वरूप रहेको बताए । उर्वर माटोविना मानव, जीवजन्तु, वन्यजन्तु, बोटबिरुवा तथा यो पृथ्वीमा जीवनको परिकल्पना गर्न कठिन रहेको धारणा राखे ।
माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेका प्रमुख कोमल शाहीले लुम्बिनी प्रदेशको माटो ४८ प्रतिशत स्वस्थ रहेको जानकारी दिए । यद्यपि, पहाडी क्षेत्रको तुलनामा तराईको माटोमा क्षारीयकरण निरन्तर बढ्दै गएको बताए । कपिलवस्तुमा भने अम्लीयकरण भइरहेको पाइएको उनले बताए ।
माटो तथा मल परीक्षण प्रयोगशाला खजुराको आयोजनामा दुइदिने माटो जाँच शिविरको आयोजना समेत गरेको थियो । जिल्लाभरका १७८ जना कृषकहरुले निशुल्क रुपमा माटोको जाँच गराएका थिए । जसमध्ये, माटोको स्याहार, स्वस्थता कायम राख्ने उत्कृष्ट तीनजना कृषक समेत सम्मानित भएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का सुमन थापा प्रथम, यशोधरा गाउँपालिका वडा नम्बर ४ का रोशनी पासी द्धितीय र यशोधरा गाउँपालिका, वडा नम्बर १ का रामचन्द्र यादव तृतीय हुन सफल भएका छन् ।
जिल्लामा ५५.५५ प्रतिशत माटोमा अम्लीयपन रहेको शिविरबाट जाँचको क्रममा फेला परेको छ । ४१ प्रतिशत तटस्थ र ३.३ प्रतिशत माटोमा क्षारीयकरण देखिएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । यहाँ प्रारम्भिक मलको प्रयोगमा भने कमी रहेको तथ्यांकले देखाएको छ ।
यसैबीच, कार्यक्रममा कृषक, बिद्यार्थी तथा सरोकारवाला बीच माटोको बिषयमा हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो । दिवसको अवसरमा बिहान सदरमुकाम तौलिहवामा प्रभातफेरि र्यालीको आयोजना समेत गरिएको थियो । र्यालीमा ज्ञान केन्द्रका कर्मचारी, प्रयोगशालाका प्रतिनिधी, अनिरुद्ध पब्लिक माध्यमिक बिद्यालयका बिद्यार्थी, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलको अध्यक्षता, माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका प्रमुख कोमल शाहीको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्य, उपप्रमुख रमेश कुर्मी, सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना इकाइ कपिलवस्तुका प्रमुख राकेश ओझा, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रुक्मागत अर्याल, महेन्द्र ओझा, अशोक लम्साल कृषकहरु, बिद्यार्थी, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।